हेटौंडा–असार २६ गते बेलुकादेखि परेको अबिरल वर्षासँगै आएको बाढी पहरोका कारण प्रदेश ३ मा हालसम्म १७ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेका छन् । प्राकृतिक विपद्मा परी १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै महिला र बालिका रहेका छन् । हालसम्म मृत्यु हुनेमध्ये सात जना महिला, छजना बालिका र चार जना पुरुष रहेका छन् । घाइते १३ जनामध्ये पाँच महिला छ पुरुष र एक/एक बालक र बालिका रहेका छन् । पाँच जना बेपत्ता भएकामध्ये तीन जना पुरुष र एक/एक महिला र बालिका रहेका छन् ।

पाँच दिनको अवधिमा मकवानपुरमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । मकवानपुरमा सोमबारसम्ममा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका अनुसार बाढी पहरोका कारण हालसम्म सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । दुईजना घाइते भएका छन् । त्यस्तै काभ्रेमा तीन जनाको मृत्यु हुनुको साथै दुई जना घाइते छन् । धादिङमा दुईजनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता रहेका छन् । एकजना घाइते अवस्थामा रहेका छन् ।

त्यस्तै बाढी पहिरोका कारण सिन्धुलीमा पनि दुई जनाको मृत्यु भएका छन् भने तीन जनाको अवस्था अज्ञात रहेको प्रदेश ३ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । सिन्धुलीमा दुई पुरुष र एक महिला गरी तीन जना घाइते भएको पौडेलले बताए । उनका अनुसार चितवनमा एक पुरुषले ज्यान गुमाएका छन् भने एक जना घाइते रहेका छन् । दोलखामा पनि एक जना घाइते अवस्थामा छन् ।

बाढी पहिरोमा फसेका चारसय २३ जनालाई हालसम्म उद्दार तथा स्थानानन्तरण गरिएको जनाएको छ । बाढी पहिरोले हालसम्म १९ वटा घरगोठमा क्षति पु¥याएको तथ्यांकले देखाएको छ । सवारी साधन तथा पशु चौपायमा भएको क्षतिबारे पनि प्रहरीले तथ्यांक संकलन गरेको छ । पाँचदिनको अवधिमा दुई बोलेरोका साथै एक/एक वटा ट्रक, एक्साभेटर, ट्याक्टर र ट्रिपरमा क्षति भएको प्रदेश ३ का प्रहरी प्रवक्ता पौडेलले बताए ।

बाढी पहिरोका कारण मानवीय तथा भौतिक क्षति बढेसँगै प्रहरीहरु उद्दारमा खटिएका छन् । प्रदेश ३ मा करिब तीन हजार भन्दा बढी प्रहरीहरु बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा खटिएको प्रहरी प्रवक्ता पौडेलले बताए । ‘कार्यालय, कारागार र हिरासतको सुरक्षामा रहेका प्रहरी बाहेकका सबै प्रहरीहरु अहिले बाढी पहिरो प्रभावित क्षेत्रमा खटाएका छौं,’ प्रदेश ३ का प्रहरी प्रवक्ता पौडेलले भने–‘हाम्रो साधन स्रोतले भ्याएसम्म उद्दारका काममा खटिएका छौं ।’

मुख्यमुख्य राजमार्गमा बाढी पहिरोका कारण हुने अवरोध हटाउनको लागि पनि प्रहरी चौबिसै घण्टा खटिएको बताएको छ । सोमबार दिउँसोसम्ममा हेटौंडा–सिस्नेरी–काठमाडौं सडकखण्ड बाहेक सबै सडक सुचारु रहेको प्रदेश ३ प्रहरी कार्यालयले जनाएको छ । महेन्द्र राजमार्ग, पृथ्वी
राजमार्ग, त्रिभुवन लोकपथमा भएको अवरोध हटिसकेको छ भने विपी राजमार्गअन्तर्गतको काभ्रे– सिन्धुली खण्डमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।

बाढी पहिरोका कारण विपद्का घटना बढ्दै गएपछि प्रदेश ३ सरकारले मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई एक लाख र प्रदेश मातहतका अस्पतालमा गरिएको उपचार खर्चबापत बढीमा २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here