हेटौंडा– देशकै ठूलो क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा निर्यातजन्य उद्योगको संख्या बर्सेनि घट्दै गएको छ । दशकअघि आफ्ना उत्पादन भारत तथा तेस्रो मुलुक निकासी गर्ने आधा दर्जन उद्योग अहिले बन्द भइसकेका छन् ।

बर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि केहीवर्षअघिदेखि अस्तित्वमा छैनन् ।

नेपालबाट लाखौंको साबुन भारत निकासी गर्ने महाशक्ति सोप लामो समय बन्द भई करिब ६ महिनाअघिदेखि पुनः उत्पादन थाले पनि भारत तथा तेस्रो मुलुकमा निर्यात भने गर्न सकेको छैन । त्यस्तै युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि पाँच वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केहीवर्षअघिदेखि भारत निकासी बन्द गरेको छ ।

निर्यातजन्य उद्योगहरु बन्द हुने क्रम बढेसँगै मकवानपुरको निर्यात व्यापारमा बर्सेनि गिरावट आइरहेको छ । दश वर्षअघि आब २०६५/६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकोमा आब ०७५/७६ सम्म आइपुग्दा ४ वटामा खुम्चिन पुगेको छ । आब ०६५/६६ मा जिल्लाबाट एक अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकोमा ०७५/७६ सम्म आइपुग्दा २८ करोड ३४ लाख ७६ हजारमा झरेको छ । दशवर्षअघिको तुलनामा अहिलेको निर्यात व्यापार ७७ प्रतिशतले घटेको देखिन्छ ।

दशकअघि मकवानपुरका क्रसरजन्य सामाग्री निकासीबाट पनि निर्यात व्यापारमा टेवा पुगेको थियो । सरकारले क्रसरजन्ँय उत्पादन भारतलगायत तेस्रो मुलुकमा निकासी गर्न बन्द गरेसँगै निर्यात व्यापारमा भारी गिरावट आएको देखिन्छ ।

भारतीय ठूला उद्योगहरुसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण भारतमा नेपालको औद्योगिक उत्पादनको निकासी घटेको उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालको भनाइ छ । कच्चा पदार्थ आयात गर्दा र उत्पादित सामान निकासी गर्दा लाग्ने करमा सरकारले बिचार नपु¥याउँदा त्यसको असर निर्यात व्यापारमा परेको उनको तर्क छ ।

सरकारले नीति राम्रो बनाउन नसक्दा मकवानपुरको मात्र हैन देशकै निर्यात व्यापारमा ह्रास आएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ । उद्योगहरु वस्तु उत्पादन भन्दा पनि ट्रेडिङ व्यवसायतिर आकर्षित भएको बताउँदै उनले हेटौंडा औद्योगिक क्षेत्रको समग्र उत्पादन घट्दो क्रममा रहेको सुनाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here