हेटौंडा–गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बजेट बाँडफाँडमा विवाद भएपछि मकवानपुरको कैलाश गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन । जिल्लाको १० स्थानीय तहमध्ये नौ स्थानीय तहले आर्थिक बर्ष २०७६/०७७ को बजेट ल्याइसक्दा आन्तरिक विवादका कारण कैलाशले बजेट ल्याउन नसकेको हो ।

गाउँपालिका अध्यक्ष टंक मोक्तानले वडाहरुलाई बजेटको सिलिङ नदिएपछि विवाद उत्कर्षमा पुगेको हो । ‘बेलैमा बजेट ल्याउनुपर्ने भन्ने सबै गाउँपालिकालाई पत्र नै आएको थियो । विविध कारण हामीले तोकिएको समयमा बजेट ल्याउन सकेनौं । केहीदिन भित्रै बजेट ल्याउनेछौं ।’ गाउँपालिका अध्यक्ष मोक्तानले भने । उनका अनुसार सशर्त अनुदानको रकम फिर्ता गर्न र उपभोक्ता समिति मार्फत् भएको कामको भुक्तानीको कारणले तोकिएको समयमा बजेट ल्याउन गाह्रो भएको हो ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०६४ मा स्थानीय तहले असार १० गतेभित्र गाउँ वा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था रहेपनि कैलाशले त्यसलाई पूर्णरुपले वेवास्ता गरेर अगाडि बढिरहेको छ । बजेट पास नगरी स्थानीय तहहरुले बजेट खर्च गर्न पाउँदैनन् । साउन १ गतेबाट नयाँ आर्थिक बर्षको सुरुवातसँगै बजेट कार्यान्वयन सुरु हुने गर्दछ ।

समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहले समयमै विवरण पनि पठाउन नसक्ने हुनाले केन्द्रबाट स्थानीय तहले प्राप्त गर्ने अनुदान समेत प्रभावित हुने देखिन्छ । गाउँपालिकाले तोकिएको समयमा बजेट नल्याएपछि नेपाली कांग्रेसको गाउँ कमिटी र कैलाश गाउँपालिकाबीच जुहारी चलिरहेको छ ।

कांग्रेसले शुक्रबार गाउँपालिकाका कार्यालयमा गरेको तालाबन्द गाउँपालिकाले स्थानीय प्रशासनको सहयोगमा ताला फुटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here