हेटौंडा–सुनको मूल्य आकाशिएसँगै हेटौंडामा सुनचादीको व्यापार ठप्प भएको छ । अरु बेलाको तुलनामा सुनचाँदीको व्यापारमा झण्डै ७० प्रतिशतले गिरावट आएको छ । सुन पसलमा अहिले सुनको गहना बेच्नेहरुको संख्या बढिरहेको छ ।

सुनचाँदी व्यवसायी संघ मकवानपुरका अनुसार सुनको मूल्य अस्थिर बनेपछि सुनका गहना बनाउनेहरुको संख्या निकै घटेको छ । बिहीबार हेटौंडामा छापावाल सुन इतिहासकै सबैभन्दा महङ्गो मूल्यमा कारोबार भएको छ । छापावाल सुन प्रतितोला ७१ हजार, तेजाबी सुन ७० हजार ८ सय चाँदी ८ सय ४५ रुपैयाँमा बिक्री गरिएको थियो । अघिल्लो दिनको तुलनमा सुनको मूल्यमा प्रतितोला पाँच सय बढेको र दैनिक मूल्य बढ्ने क्रम जारी रहेको मकवानपुर सुनचाँदी व्यवसायी संघका सचिव केशव रसाइलीले बताए । ‘सुनको मूल्य अस्थिर बन्दा व्यवसायीहरु मारमा परेका छन्, मूल्य अत्याधिक भएपछि सिजनको बेलामा पसल सुनसान छ ।’ रसाइलीले भने ।

सुनको मूल्य अत्याधिक बढेसँगै सुनचाँदी पसलमा उल्टो व्यापार सुरु भएको छ । व्यवसायीले पहिले बेचेका गहना अहिले सोही व्यवसायीलाई नै बेच्नलाई ग्राहकहरु लाइन लाग्ने गरेका छन् । ‘हामीले बेचेका गहना ग्राहकले फिर्ता गर्छु भन्दा हामीले किन्दैनौं भन्ने पाइँदैन, आफूसँग किन्ने पैसा छैन भने ऋण गरेर भए पनि उनीहरुको गहना किन्दिनुपर्ने हुन्छ ।’ हेटौंडा–२ मा रहेको न्यू मनकामना सुनचाँदी पसलकी सञ्चालक निर्मला विश्वकर्माले भनिन् । पसलमा अहिले दैनिक १५ जनासम्म ग्राहकहरु आफ्नो पसलमा गहन बेच्न आउने गरेको विश्वकर्माले सुनाइन् ।

तीज नजिकिएसँगै अन्य बेला सुनका गहनाको व्यापार निकै राम्रो हुने गरेकोमा यसवर्ष सुनचाँदी पसल सुनसान छ । ‘असार १५ गतेदेखि नै हाम्रो सिजन सुरु हुने गथ्र्यो, अरु बेलाको घाटा पनि हामीले यहि बेला उठाउँथ्यौं तर, यसपाली व्यापार त छैन नै उल्टै ग्राहकका गहना किनेर थुपार्नुपरेको छ ।’ निर्मलाले भनिन् ।

हेटौंडा–२ मा रहेको बीरबहादुर एण्ड विक्रम गहतराज सुनचाँदी पसलका सञ्चालक बीरबहादुर गहतराजको पनि पीडा उस्तै छ । पसलमा आउने ग्राहकको संख्या ७५ प्रतिशतसम्म घटेकाले यसवर्षको चाडपर्वको सिजनमा पनि व्यापार ठप्प भएको बताए । सुनका गहना बेच्न आउनेको संख्या भने बढ्दै गएको उनले बताए । पसलमा आउने ग्राहक पनि सुनको मूल्य सुनेपछि फर्कने गरेका छन् । ‘आउँछन् गहना हेर्छन् भाउ सुनेपछि त्यसै फर्किन्छन् ।’ गहतराजले भने ।

नेपाल सुनचाँदी व्यवसायी संघका सचिव केशव रसाइलीका अनुसार व्यवसाय ठप्प भएपछि दैनिक ज्यालादारीमा गहना बनाउने कालीगढ पनि समस्यामा परेका छन् । मकवानपुरमा एक सय ३४ वटा सुनचाँदी पसल रहेका छन् । अन्य बेलामा दैनिक डेढ किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले व्यापारमा करिब ७० प्रतिशतले गिरावट आएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here