श्रीजना नेपाल

हेटौंडा–बाढी पहिरोबाट जनधनको क्षति भएको एक महिना बितिसक्दा पनि आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण पठाउन मकवानुरका स्थानीय तहले ढिलाई गरेका छन् ।
असार २६ गतेदेखिको अबिरल वर्षाका कारण मकवानपुरमा मानवीय तथा अन्य क्षति भए पनि त्यसको आधिकारिक विवरण पठाउन स्थानीय तहलाई आग्रह गरिए पनि उनीहरुले अझैसम्म विवरण जिल्ला प्रशासन कार्यालयमा पठाएका छैनन् । जसको कारण सरकारले दिने राहतको काममा ढिलाई भइरहेको छ । स्थानीय तहहरुले जिल्ला विपद् व्यवस्थापन समितिमा विपद्बाट भएको क्षतिको विवरण नपठाउँदा राहत वितरणमा समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

निरन्तर परेको वर्षाको कारण बाढीसँगै आएको पहिरोले जिल्लाको विभिन्न स्थानमा क्षति पुगेको मंगलबार एक महिना पुगेको छ । तर एक महिनाको अवधिसम्म राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाले हालसम्म आफ्नो स्थानीय तहमा भएको क्षतिको विवरण पठाएका नै छैनन् भने पठाएकाहरुले पनि स्पष्ट रुपमा नपठाउँदा राहत वितरणमा समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

पठाएका ८ वटा स्थानीय तहले पनि कहाँ के कति क्षति भएको भनी स्पष्ट खुलाएका छैनन् । हेटौंडा उपमहानगर–पालिकाले आफ्नो तहमा भएको क्षतिको पठाउनुपर्ने भएपनि नपठाएकोले उपमहानगरको १२, १७ र ५ नम्बर वडाहरुले वडागत रुपमा क्षतिको विवरण पठाएका
छन् । जसमा ५ नम्बर वडामा चारसय कुखुरा नष्ट र एउटा बोका बाढीले बगाएको उल्लेख गरिएको छ भने अन्य दुईवडामा सामान्य क्षति भएको छ ।

यस्तैगरी मकवानपुरगढी गाउँपालिकामा दुईवटा घर पहिरोले बगाएको छ भने अन्य तीनवटा घरमा पनि क्षति पुगेको छ । बकैया गाउपालिकामा दुईवटा घर पुर्ण रुपमा नष्ट हुनुको साथै खेतीयोग्य जमिनमा पनि क्षति भएको छ । मनहरी गाउँपालिकामा ९१ वटा घर जोखिममा, एकसय बीस बिगाहा जग्गा कटान , ट्रान्समिटरमा तथा खानेपानीको मुहानमा क्षति पुगेको जनाईएको छ ।

बागमति गाउँपालिकाले तीनसय ६० घर पुर्ण रुपमा र ५ घरधुरी पुरिएको, गाउँपालिका वडा नम्बर ५ को ७५ प्रतिशत धानबाली नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिमा पठाएको विरणमा उल्लेख गरेको छ । यस्तैगरी कैलाश गाउँपालिकाले सानुकान्छा सुनारको मृत्यु, तारामाया पाख्रिन गम्भीर घाईते हुनुको साथै ५२ घरधुरीमा क्षति पुगेको जनाएको छ । समितिले दिएको विवरणअनुसार भीमफेदी गाउँपालिकामा २४ वटा घरधुरीमा क्षति भएको छ । यस्तै ईन्द्रसरोबर गाउँपालिकामा घरमा क्षति हुनुको साथै करिब ५१ लाख बराबरको बेमौसमी टमाटर खेती नष्ट भएको जनाइएको छ ।

यस्तैगरी अबिरल वर्षाको कारण जिल्लाको सरकारी कार्यालयहरुमा पनि क्षति पुगेको छ । क्षति भएकोमा प्राकृतिक जलाशय मत्स्य प्रवद्र्वन एवम् संरक्षण केन्द्र हेटौंडा, शितोष्ण बागवानी नर्सरी केन्द्र दामन, हेटौंडा दुग्ध वितरण, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मकवानपुर र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय रहेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्बाट क्षति भएका ३९ वटा घरहरुलाई प्रतिघर दशहजारको दरले राहत वितरण गर्ने निर्णय गरेको छ । जसमा हालसम्म २७ घरधुरीले राहत रकम लिएका गइसकेका छन् भने १२ घरधुरीले लएका छैनन् । त्यस्तैगरि बाढी तथा पहिरोको कारण जिल्लामा ६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका परिवारलाई समितीले प्रतिपरिवार एकलाख दिने निर्णए गरेकोमा हालसम्म ४ जनाको परिवारले राहत रकम लैसकेका छन् ।

समितिका संयोजक तामाङको अनुसार समितिले हालसम्म भीमफेदी गाउँपालिकामा ११ वटा , ईन्द्रसरोवर र मकवानपुरगढीगाउपालिकामा ३५/३५ वटा टेण्ट वितरण गरेको छ । त्यस्तै ईन्द्रसरिोवर गउापालिकामा एकसय १३ वटा र मकवानपुरगढीमा ५२ वटा त्रिपाल पनि वितरण गरेको छ । उनले स्थानीय तहले समयमा नै क्षतिको विवरण नपठाउदा राहत वितरणमा समस्या भएपनि अत्यावश्यक राहत भने वितरण गसिकेको बताए । उनले स्थानीय तहहरुले स्पष्ट रुपमा क्षतिको विवरण तयार पारेर पठाउने क्रम जारि रहेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here