हरितालिका तीजको अवसरमा हेटौंडा–४ भुवनेश्वर मन्दिरमा पूजा आराधनाको लागि लाइन बस्दै भक्तजन

हेटौंडा– आज भाद्र शुक्ल तृतीया अर्थात, हरितालिका तीज पर्व मनाइँदैछ । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्ने गर्दछन् ।

तीजको अघिल्लो राती दरका रुपमा विभिन्न मिष्ठान्न भोजन गरेका महिलाहरुले आज सोमबार दिनभर व्रत बस्ने गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको मुख्य दिन भने आज हो । काठमाडौंको पशुपतिलगायत देशभरका विभिन्न शिवालयहरुमा आज शिवको पूजा गर्ने तथा श्रद्धालु महिलाहरुको भीड लाग्ने गर्दछ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दीर्घायू हुने तथा अविवाहित युवतीहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास रहिआएको छ ।

हरितालिका तीजको अवसरमा हेटौंडा–४ भुवनेश्वर मन्दिरमा पूजा आराधनाको लागि लाइन बस्दै भक्तजन

निराहार व्रत बसी पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने परम्परा रहिआएको छ । परम्परादेखि नै तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । बिहे भएकी चेलीहरु माइतमा गई वर्षभरका दुःख पीडा र खुसी आमाबाबु एवम् दाजूभाईसँग साट्ने पर्वको रुपमा तीजलाई लिइन्छ ।

हरितालिका तीजको पर्सिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ । यसवर्ष भने हरितालिका तीजको भोलिपल्टै ऋषि पञ्चमी परेको छ । पञ्चमीका दिन महिनावारीबाट हुने छोइछिटोबाट हुने दोषबाट मुक्त हुन व्रत बसी सप्तऋषिको पूजा गर्ने प्रचलन छ । यसदिन ब्रतालु महिलाहरु नजिकको जलाशयमा नुहाइधुवाइ गरी ३ सय ६० ओटा दतिवनले दाँत माझ्ने गर्दछन् ।

माइतीघर वा आफन्त कहाँ तथा आफ्नै घरमा खीर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि प्रदेश ३ को राजधानी हेटौंडालगायत अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here