श्रीजना नेपाल
हेटौंडा– नेपाल प्रहरीमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जवानदेखि अधिकृतसम्मले सम्मान पाएका छन् । पछिल्लो समय उत्कृष्ट काम गरेको भन्दै प्रोत्साहनस्वरुप सम्मान पाउने प्रहरीको संङ्ख्या बढ्दो छ ।

आम नागरिकको सुरक्षाको लागि दिनरात खटिने प्रहरी विभिन्न कारणले विवादमा परी कारबाहीको भागेदार पनि हुने गरेका छन् । तर पछिल्लो समय कारबाहीमा पर्ने प्रहरीभन्दा उत्कृष्ट काम गरेर सम्मानित हुनेको संख्या बढेको छ । आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न नसक्दा विभिन्न कार्वाहीमा पर्ने गरेका प्रहरीलाई राम्रो काम गर्दा सम्मान समेत गर्न थालिएपछि प्रहरीमा काम गर्ने उत्साह थपिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष ०७५/०७६ मा ६७ जनालाई उत्कृष्ट काम गरेबापत सम्मान गरेको छ । जिल्लाका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार गत वर्ष सम्मानित हुनेमा सबैभन्दा धेरै ३२ जना प्रहरी जवान, १३ जना प्रहरी सहायक निरीक्षक, ९ जना प्रहरी हवल्दार, ६ जना प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी निरीक्षक, २ जना प्रहरी कार्यालय सहयोगी र १ जना प्रहरी नायब उपरीक्षक रहेका छन् । प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार उनीहरुलाई अपराध अनुसन्धान तथा आफ्नो जिम्मेवारी निर्वाहमा उत्कृष्टताका साथ काम गरेबापत सम्मान गरिएको हो ।

उसो त कारबाहीमा पर्ने प्रहरीको संङख्या पनि कम भने छैन । तुलनात्मक रुपमा कारबाहीमा पर्ने भन्दा सम्मानित हुने प्रहरीको संङ्ख्या धेरै भएपनि कारबाहीमा पर्ने प्रहरीको संङ्ख्यालाई कम मान्न सकिँदैन । गत एक वर्षमा मकवानपुरका ३० जना प्रहरी विभिन्न कारणले विभागीय कारबाहीमा परेका छन् । जसमा सबैभन्दा धेरै १० जना प्रहरी जवान, ३ जना प्रहरी सहायक
निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक र १ जना सिनियर प्रहरी अधिकृत गरी १७ जना नसिहत कारबाहीमा परेका छन् । उनीहरुलाई अनुशासनमा नबसेको र अभद्र व्यवहार गरेकोले कारबाही गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

त्यस्तैगरी एकजना प्रहरी हवल्दार र दुईजना प्रहरी जवानको पदोन्नति रोक्का, एकजना प्रहरी जवानको तलब घटुवा, २ जना प्रहरी जवानकै सुरुको स्केलमा घटुवा, एकजना प्रहरी हवल्दारको तल्लो पदमा घटुवा, एकजना प्रहरी हवल्दारकै तलब वृद्वि रोक्का र ५ जना हवल्दारलाई सेवाबाट नै हटाइएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । प्रहरी नायब उपरीक्षक भट्टराईले कसुरको प्रकृति हेरेर कारबाही गरिने भएपनि अधिकांश रुपमा अनुशासनको पालना नगर्नु, दुव्र्यवहार गर्नु, कार्यक्षेत्रमा नजानु जस्ता कारणले गर्दा कारबाहीमा परेको बताए ।

त्यस्तैगरी चालु आर्थिक वर्ष ०७६/०७७ को हालसम्म २९ जना उत्कृष्ट काम गरेबापत सम्मानित भएसकेका छन् । सम्मानित हुनेमा १२ जना प्रहरी जवान, ७ जना प्रहरी हवल्दार , ५ जना प्रहरी नायब निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक र २ जना प्रहरी निरीक्षक रहेका छन् । भट्टराईले चालु आवको हालसम्म ३ जना प्रहरी कारबाहीमा परेको समेत बताए । उनले एक÷एक जना प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी दुई जना निलम्बनमा परेको र एक जना प्रहरी जवानको सुरु स्केलमा घटुवा गरेको बताए । उनले फौजदारी अभियोग लागेकोले दुई जनालाई निलम्बन नै गर्नु परेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here