हेटौंडा– नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकारको कमजोरीको फाइदा उठाउँदै वर्तमान व्यवस्थालाई असफल बनाउने तत्वहरु सक्रिय हुन थालेको दावी गरेका छन् । गलत तत्वहरुको प्रतिकार गर्दै सरकारको गलत कामको भण्डाफोर गर्न नेता बानियाँले कार्यकर्तालाई निर्देशनसमेत दिए ।

नेपाल शिक्षक संघ बागमती गाउँपालिकाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान सरकारले आफ्ना नेताहरुको व्यक्तिगत लाभलाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाए ।

वर्तमान सरकार गरिबको समृद्धिमा काम गर्नुको सट्टा आफ्ना नेताहरुको समृद्धिमा जुटेको उनको भनाइ थियो । नेताहरु व्यक्तिगत स्वार्थमा डुबेकाले जनतामा सरकारप्रति आक्रोश बढिरहेको उनको दावी थियो । वर्तमान सरकारको कार्यशैलीले कम्युनिष्ट नेताहरु मात्रै धनी हुने उनको दावी थियो । गरिब जनतालाई करको बोझ थोपर्ने, भ्रष्टाचार बढाउने र दण्डहिनतालाई प्रोत्साहन गर्नेतर्फ सरकार अघि बढेको नेता बानियाँले जिकिर गरे ।

नेपाल शिक्षक संघ बाग्मति गाउँपालिका सभापति जय नेपाल थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहाल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइराला, महासमिति सदस्य धर्म लामिछाने, जिल्ला सदस्य शेरबहादुर लामा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, शिक्षक संघ जिल्ला अध्यक्ष रामकुमार अधिकारी, बागमती गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष डिल्लीप्रसाद घोरासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपाका २० जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here