हेटौंडा– नयाँ आर्थिक वर्षसँगै साउन १ गतेदेखि हरेक व्यक्तिलाई प्यान नम्बर अनिवार्य बनेको छ । स्थायी लेखा नम्बर जसलाई अंग्रेजीमा ‘प्यान’ नम्बरले पनि चिनिन्छ, यो नहुँदा अबदेखि कुनै पनि फर्म तथा निकायले प्यानबिना तलब दिन पाउने छैनन् भने काम गर्नेले पनि तलब समेत खान नपाउने हुनसक्छ ।

प्यान लिनु पूर्व कुनै पनि सरकारी कार्यालय, कम्पनी वा फर्ममा काम गर्ने व्यक्तिको बैंक खाता पनि अनिवार्य खोल्नु पर्ने हुन्छ । व्यक्तिसँग गरिने श्रमबापत्का हरेक तलबी काम बैंक खाता मार्फत भुक्तानी हुनु पर्ने छ । स्थायी लेखा नम्बर प्यान नभएको १ हजार रुपियाँभन्दा माथिको मूल्यको बिजक बापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था बजेटले गरेपछि यो अनिवार्य बन्न पुगेको हो ।

नयाँ व्यवस्थाअनुसार १ हजारभन्दा कम पारिश्रमिक भएको खण्डमा मात्रै नगदमा भुक्तानी हुनेछ । हाल नेपालमा ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार हालसम्म करिब ९ लाखले प्यान नम्बर लिएका छन् ।


प्यान नम्बर लिन अनलाइन फाराम भर्ने कसरी ?
आफ्नो प्यान लिन चाहनु हुन्छ भने तपाईले आन्तरिक राजस्व विभागको वेबसाइट
www.ird.gov.np मा जानुहोस् ।
टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानुहोस् ।
त्यसपछि एप्लिकेसन फर रजिस्ट्रेसन तपाईले देख्नु हुने छ । त्यसमा क्लिक गरी नामथर भएको बक्समा आफ्नो नामथर लेख्नुहोस् ।
अब त्यहाँ तपाई प्रयोगकर्ताको ‘युजर नेम’ र ‘पासवर्ड’ राख्ने बक्स पनि देखिन्छ ।
त्यसपछि युजर नेममा आफूले सम्झने नाम राख्नुहोस् र पासवर्ड हाल्नुहोस् ।
फेरि अर्को बक्सले भन्छ, ‘रिपासवर्ड’ गर्नुहोस् । अर्थात् सोही पासवर्ड फेरि दोहोराएर हाल्नुहोस् ।

त्योसँगै बक्सहरुले मागे अनुसार आफ्नो सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो, सो ठेगाना ‘आइआरओ नम्बर’मा खुलाउनुहोस् ।
त्यसपछि ‘ओके’ बटनमा थिच्नुहोस् ।
त्यसपछि तपाईंको व्यक्तिगत विवरण माग्नेछ । उसले मागे अनुसार आफ्नो विवरण भर्दै जानुहोस । र, अन्त्यमा ‘सबमिट’ गर्नुहोस् ।
तपाईले सबमिट गरेसँगै त्यहाँ ‘सबमिट’ र ‘सेभ’ अप्सन ‘इनेबल’ हुन्छ ।
त्यति काम सकेपछि ‘प्रिन्ट’मा थिचेर आफूले भरेको उक्त विवरण पत्रलाई प्रिन्ट गर्नुहोस् ।
सोही प्रिन्ट पत्र लिएर तपाई सम्बन्धित कार्यालयमा जानुहोस् । अब कार्यालयले तपाईंलाई विवरण जाँच गरेर स्थायी लेखा अर्थात् प्यान नम्बर उपलब्ध गराउनेछ ।
यो सेवा बापत् तपाईलाई कुनै शुल्क लाग्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here