श्रीजना नेपाल

हेटौंडा– दशैंको लागि दैनिक सयौं खसीबोका किनबेच हुने हेटौंडा बसपार्कस्थित खसीबोका बजार अहिले सुनसान जस्तै छ । दशैंको नौरथा सुरु हुन दुईदिनमात्र बाँकी हुँदा खसी बजारमा गत वर्षको जस्तो चहलपहल हुन सकेको छैन ।

भारतबाट खसीबोका भित्र्याउन सरकारले क्वारेन्टाइन अनिवार्य गरेपछि त्यसको असर हेटौंडामा पनि परेको छ । बर्सेनि भारतबाट आउने खसीबोकाले नै बजार धान्ने गरेकोमा क्वारेन्टाइन गराएर खसीबोका ल्याउन झन्झटिलो भएकाले व्यापारीले इच्छा नदेखाएपछि बजारमा खसीबोकाको अभाव हुने संकेत देखिएको हेटौंडा–१० स्थित खसीबोका बजारका ठेकेदार राजुकुमार महर्जनले बताए ।

‘मकवानपुरका विभिन्न गाउँबाट पनि हेटौंडामा खसीबोका बेच्न ल्याउने गरिएका छन् तर त्यतिले मात्र बजारको माग धान्न सक्दैन ।’ महर्जनले भने–‘नाकामा केही ठाउँमा मात्रै क्वारेन्टाइन कार्यालय रहेको र त्यहाँबाट कागज लिनका लागि खसी लिएर जानुपर्ने झन्झट भएपछि भारतमा खसी किन्न निकै कम मात्र व्यापारी पुगेका छन्, जसले गर्दा हेटौंडामा चाहिने जति खसी आइपुगेको छैन ।’ गत वर्षको यो समयसम्ममा ४ देखि पाँचसयसम्म खसीबोका बिक्री भइसक्नेमा यसवर्ष एक–डेढ सयको हाराहारीमा मात्र खसीबोका बिक्री भएको महर्जनले बताए ।

‘पहिलो कुरा त भनेजति खसीबोका नै आइरहेको छैन, अर्को कुरा मनलाग्दी भाउ लगाउने चलन छ, खसी बोकाको मूल्य जिल्ला प्रशासन कार्यालयले निर्धारण गर्दिनु पर्ने हो तर केही चासो देखाएको छैन । भारतबाट खसी नभित्रिँदा खसीको अभाव हुनुका साथै मूल्य पनि बढ्ने सम्भावना छ ।’ महर्जनले भने । महर्जनकाअनुसार स्थानीय उत्पादनले मागको ५० प्रतिशत पनि परिपूर्ति हुँदैन । यद्यपी नौरथा सुरु भएपछि खसीको किनबेच बढ्ने हुनाले कति आवश्यक पर्छ र कति अभाव हुन्छ भने भन्न नसक्ने उनले बताए ।

मागअनुसारको खसी नभित्रँदा बजारमा मनलाग्दी मूल्य कायम हुन थालेको उपभोक्ताहरुको गुनासो छ । अव्यवस्थित रुपमा मनलाग्दी मुल्यमा खसी बोका किनबेच भइरहेको पनि उनीहरु बताउँछन् । हेटौंडा बसपार्कमा रहेको खसीबजारमा भेटिएका हेटौडा–८ कमानेका अर्जुन चौलागाईले आफूले चाहेजस्तो गतिलो खसी पाउन नसकिएको गुनासो गरे । ‘भाउ पनि व्यक्ति पिच्छे फरकफरक छ, खसीबोका पनि दुब्ला र ख्याउटा मात्र भेटिन्छन् ।’ चौलागाईले भने । गतवर्षको तुलनामा किलोमै करिब २३ सयसम्म फरक पर्ने गरी मूल्य निर्धारण गरिएको भन्दै उनले आश्चार्य व्यक्त गरे ।

दशैंमा खसी बोकाको अभाव हुन सक्ने भन्दै व्यवसायीहरु चिन्तित भइरहेका बेला किसानहरुले भने व्यापारीले आफूहरुको खसीको राम्रो मूल्य नदिएको भन्दै असन्तोष पोखेका छन् । गाँउमा खसी किन्न जाने व्यवसायीले खसीको मूल्य निकै कम दिएको भन्दै किसान आफैँ खसी लिएर बजार आइपुगेका हुन् । बिहिबार हेटौडा–१७ हटियाबाट २ वटा खसी २ वटा बोका लिएर खसी बजार आइपुगेका मिलन घलानले आफूले भनेको जति मूल्य नपाएको भन्दै फर्काएर लैजाने तयारी गरेको सुनाए । घलान जस्तै खसी बिक्री गर्न हेटौंडा ११ थानाभ¥याङबाट आएकी ६६ वर्षीया मनकुमारी पुडासैनीले पनि आफूले भनेजतिको मूल्य नपाए खसी फिर्ता नै लैजाने बताइन् ।

साझाकुरा दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here