हेटौंडा – संघीय सरकारबाट योजना हस्तान्तरण भए पनि रकम निकासा नहुँदा प्रदेश–३ का दर्जनौं सडक तथा पुल निर्माणको काम प्रभावित भएको छ । ठेक्का लागिसकेका सडक तथा पुल निर्माणको कामलाई अघि बढाउन आवश्यक करिब ६ अर्ब बजेट संघीय सरकारबाट निकासा नहुँदा पुल तथा मोटरबाटो निर्माणको कामले गति लिन सकेको छैन ।

अर्थ मन्त्रालयले प्रदेश–३ को यातायात पूर्वाधार निर्देशनालयलाई गत आबमा हस्तान्तरण गरेको ६९ वटा सडक र ५० वटा सडक पुल निर्माणको लागि समयमै रकम निकासा नगर्दा काम रोकिएको छ । ‘संघीय सरकारले ठेक्का लगाइसकेको आयोजनाहरु प्रदेशमा हस्तान्तरण गरिए पनि रकम निकासा नहुँदा समस्या भएको छ, हामीले केहीदिनअघि मात्र रकम निकासाको लागि आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र काटेका छौं । अब केही समयमा रकम आउला कि भन्ने आशामा छौं ।’ निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले भने ।

उनका अनुसार हस्तान्तरण भएका ६९ वटा सडकको लागि दुई अर्ब ५७ करोड र ५० वटा सडक पुलको लागि ३ अर्ब १२ करोड गरी ५ अर्ब ६९ करोड रुपैयाँ संघीय सरकारबाट निकासा हुनुपर्नेछ । अर्थ मन्त्रालयले बेलैमा रकम निकासा नगरेकाले काममा ढिलाई हुनसक्ने भन्दै रकम माग गर्दै पत्र लेखिएको भण्डारीले बताए ।

संघबाट हस्तान्तरण भएर आएका ६९ वटासहित प्रदेश सरकारले चालु आबमा एक सय वटा सडक निर्माण गर्ने योजना अघि सारेको छ । त्यस्तै संघीय सरकारबाट हस्तान्तरण भइआएका पुलहरुसहित सय वटा पुल निर्माण सुरु गर्ने निर्देशनालयको तयारी छ । स्थानीय तहको सदरमुकाम जोड्ने २० वटा सडक र ठूला पुलहरुको बहुवर्षीय ठेक्का लगाउने तयारी छ । अन्य सडक तथा पुलहरु भने चालु आर्थिकवर्ष भित्रै सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिने निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक भण्डारीकाअनुसार चालु आबमा दु्रत गतिमा आयोजना कार्यान्वयनको लागि बेलैमा ठेक्का आह्वान सुरु गरिएको छ । सडक र पुल निर्माणको लागि ५ अर्ब बजेट छुट्याइएकोमा एक अर्बभन्दा बढीको ठेक्का आह्वान भइसकेको भण्डारीले सुनाए । निर्देशनालयअन्तर्गतको ६ वटा पूर्वाधार विकास कार्यालय र दुईवटा सडक डिभिजन कार्यालयमार्फत आगामी मंसिरसम्ममा सबै आयोजनाको ठेक्का सम्झौता सम्पन्न गरी काम सुरु गर्ने गरी निर्देशनालयले काम गरिरहेको छ । निर्देशनालयले चालु आबमा प्रदेशभर नौ वटा झोलुङ्गे पुल निर्माणको योजनासमेत अघि सारेको छ । झोलुङ्गे पुलको लागि मात्र चालु वर्षमा १० करोड रुपैयाँ छुट्याइएको छ ।

झोलुङ्गे पुलको लागि पनि सर्भे सुरु भइसकेको बताउँदै निर्देशक भण्डारीले चाँडै नै ठेक्का आह्वान गरिने बताए । ‘हामीले यो वर्ष प्रदेशभित्र १० वटा झोलुङ्गेपुल सम्पन्न गर्ने र अरु ५० वटा पुलको सर्भेसमेत गर्ने गरी काम अघि बढाएका छौं । नयाँ सडक पुलको पनि केहीको सर्भे भइरहेको छ भने केहीको ठेक्कासमेत लागिसकेको छ ।’ निर्देशक भण्डारीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here