, 

हेटौंडा – ‘नमस्ते… नमस्ते… नमस्ते…, खै तीन चोटी नमस्कार भनिसकेँ, सुनिएन, आवाज नै राम्रो आएन ।’ प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल एकछिन मुस्कुराउँदै मोबाइलको स्क्रिनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियाले ।
उताबाट प्रधानमन्त्रीको आवाज आयो–‘सुनियो…?’ ‘हजुर आवाज आइरहेको छ तर

राम्ररी सुनिएन ।’ मुख्यमन्त्री पौडेल बोले । एकैछिन एकअर्कालाई मोबाइल स्क्रिनमा नियालिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं तिहार, छठ पर्वलगायतको शुभकामना व्यक्त गरे । यताबाट पनि मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीसहित सबै प्रदेशका मुख्यमन्त्रीलाई शुभकामना फर्काए ।

यसरी भिडियो कन्फरेन्स मार्फत सरकारी स्वामित्वको नेपाल टेलिकमको फोजी सेवाको शुभारम्भ गरिएको हो । सातै प्रदेशको राजधानीबाट मुख्यमन्त्री र काठमाडौंबाट प्रधानमन्त्रीले एकसाथ भिडियो कन्फरेन्स गरेसँगै टेलिकमको फोजी सेवाको सुरुवात भएको हो । नेपाल टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा बुधबारबाट फोजी सेवा सुरु गरिएको हो । २०७३ पुस १३ गते टेलिकमले काठमाडौं उपत्यका र पोखराबाट फोजी एलटीई सेवाको सुरुवात गरिएकोमा तीन वर्षपछि अन्य शहरमा पनि सेवा बिस्तार गरिएको टेलिकमका काठमाडौं क्षेत्रीय निर्देशक अमरनाथ झाले बताए । फोजीको स्पिड २ सय एमबीपीएसभन्दा बढी देखिएको बताइएको छ ।

नेपाल टेलिकमको हेटौंडा शाखा कार्यालयबाट मुख्यमन्त्री पौडेलले टेलिकमको फोजी सेवाको सुरुवात गर्दै विज्ञान र प्रविधिको विकाससँगै आम नागरिकको जीवनशैली फेरिएको बताए । प्रविधिको विकाससँगै देशको पनि विकास हुने उनले विश्वास व्यक्त गरे । ‘मेरो पालामा टेलिफोन नै थिएन, टेलिफोन पाउँदा संसारै जितेजस्तो हुन्थ्यो ।’ पौडेलले भने–‘हामीले केटाकेटी हुँदा गुच्चा खेल्थ्यौं, अहिलेका केटाकेटी जन्मेदेखि नै मोबाइल र ल्यापटपमा रमाउन थालेका छन् । प्रविधिको ठूलो विकास भएको छ ।’ सूचना प्रविधिको विकाससँगै यसको उचित उपयोग गर्न पनि उनले सबैमा आग्रह गरे । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश ३ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको आतिथ्यता रहेको थियो । टेलिकमका काठमाडौं क्षेत्रीय निर्देशक अमरनाथ झाले बताए ।

पहिलो चरणमा दमक, बिर्तामोड, धरान, धनकुटा, विराटनगर, जनकपुर, इटहरी, वीरगन्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगन्ज, सुर्खेत, रौतहट, महोत्तरी, सर्लाही र धनगढीमा सेवा सुरु हुने टेलिकमले जनाएको छ । यस्तै रुकुम, धनकुटा, पर्वत, पाल्पा, बाग्लुङ, दाङ, बर्दियाका मुख्य
सहरमा पनि सेवा सुरु हुने टेलिकमले जनाएको छ । साझाकुरा दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here