हेटौडा—लोपोन्मुख बोटे समुदायलाई मकवानपुर र चितवनका स्थानीय तहले आवासको व्यवस्था गर्ने कामको थालनी भएको छ । नदीको छेउमा स्याउले छाप्रोमा बस्दै आएका बोटे समुदायलाई प्रदेश– ३ सरकार र मनहरी गाउँपालिकाले १४ वटा घर र सांस्कृतिक भवन बनाउन लागेको छ भने चितवनस्थित भरतपुर महानगरपालिका २२ मा बसोबास गर्ने २२ घरधुरीका बोटे समुदायलाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत महानगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

यद्यपि उक्त रकमले घर बन्न नपुग्ने भनेर त्यस क्षेत्रका बोटेहरूले गुनासो गरिरहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीमा बसोबास गर्ने बोटेका १४ परिवारलाई निजी आवास बनाउने काम धमाधम भइरहेको छ । पाँचवटा भवन बनिसकेका छन् । रंगरोगन पनि गरिसकेको छ । ती भवन मनहरी गाउँपालिकाले २० लाख रुपैयाँ खर्चेर निर्माण गरेको हो । ९ वटा घर र बोटे समुदायको सांस्कृृतिक भवन निर्माण गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘प्रदेश सरकारको उक्त रकमबाट अब बाँकी भवन निर्माणको काम सुरु हुँदै छ,’ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भने, ‘प्रदेश सरकारले निर्माण प्रक्रिया सुरु गरिसकेको छ, उक्त भवन निर्माण भएपछि एकैचोटि १४ वटा घर बोटेहरूलाई हस्तान्तरण गर्ने छौं ।’

पर्सा वन्यजन्तु निकुञ्जबाट २०६९ सालमा बस्ती स्थानान्तरण गर्ने क्रममा १४ परिवार बोटे समुदायलाई रमौलीमा सारिएको थियो । निकुञ्ज क्षेत्रमा पनि उनीहरूको नाममा एक धुर जमिन पनि थिएन । जमिन नभएका सुकुम्बासी बोटेहरूलाई रमौलीमा १० कठ्ठा जमिन उपलब्ध गराइएको थियो । प्रत्येक परिवार घर बनाउन १० धुर जमिन उपलब्ध गराइएको थियो । बाँकी ३ कठ्ठा जमिनमा सांस्कृतिक भवन निर्माण गर्न लागेको हो । अहिले उनीहरू खोलाको छेउमा छाप्रोमा बसिरहेका छन् । पक्की घर कहिले बन्ला भन्ने आशमा उनीहरू छन् ।

आजको कान्तिपुरमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here