हेटौंडा-निर्वाहमुखी पशुपालन तथा मत्स्य पालनलाई व्यवसायिक बनाई पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले प्रदेश ३ सरकारले पशुपालन तथा मत्स्य विकासको लागि चालु आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा करिब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपंछी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीको लागि समूह, समिति, सहकारी वा निजी क्षेत्रलाई आह्वान गरेको छ ।
कृषि पशुपंछी तथा मत्स्य सम्बन्धी जिल्लाबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाई मन्त्रालयले साझेदारको लागि प्रस्ताव आह्वान गरेको हो । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले ११ वटा कार्यक्रममा २४ करोड २५ लाख रुपैयाँ लगानी गर्ने गरी समूह, समिति, सहकारी तथा निजी क्षेत्रको प्रस्ताव माग गरेको छ । निर्देशनालयले आह्वान गरेको प्रस्तावअनुसार काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयनका लागि भने सत प्रतिशत साझेदारी गर्नेछ । सो कार्यक्रमको लागि निर्देशनालयले अधिकतम ४० लाख रुपैयाँ छुट्याएको छ ।

चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा पाडापाडी पालन कार्यक्रमका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी बढीमा १० लाख रुपैयाँ छुट्याएको छ । त्यसैगरी दोलखामा सामुहिक गाई पालनका लागि २० लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आह्वान गरिएको छ । चितवन र काभ्रेपलाञ्चोकमा पशु आहार उद्योग स्थापनाको लागि ५० प्रतिशत साझेदारी गर्ने गरी सरकारले बढीमा एक करोड रुपैयाँ लगानी गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए ।
प्रदेशका ८ जिल्लाका १६ स्थानमा एकीकृत रेन्बो ट्राउट माछा विकास तथा विस्तार कार्यक्रमको लागि ५० प्रतिशत साझेदारीको लागि पनि प्रस्ताव माग गरिएको छ । सो कार्यक्रमको लागि मन्त्रालयले ५० लाख रुपैयाँसम्म साझेदारी गर्नेछ । चितवन मकवानपुर र सिन्धुलीमा बंगुरपालन विकास तथा विस्तार कार्यक्रमको लागि पनि प्रदेशले १० लाख रुपैयाँ साझेदारीको लागि छुट्याएको छ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा साझेदारीमा चौंरी स्रोत केन्द्र विकास कार्यक्रमको लागि पनि सरकारले ५० प्रतिशत साझेदारीमा ५० लाख रुपैयाँसम्म लगानी गर्ने बताएको छ ।
त्यस्तै चितवन, सिन्धुपाल्चोक, रामेछाप र धादिङ जिल्लाका ६ स्थानमा बृहत्तर बाख्रा अनुसन्धान, विस्तार तथा विकास कार्यक्रमका लागि पनि ५० लाख रुपैयाँ लगानी गर्ने प्रदेश सरकारले योजना बनाएको छ । यसैगरी कृषि पर्यटनको प्रवद्र्धनको लागि नमूना कालिज तथा स्थानीय जातका कुखुरा पालनको लागि बढीमा २५ लाखसम्मको साझेदारी गरिने पनि मन्त्रालयका प्रवक्ता पाण्डेले बताए ।
यस्तै चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा साझेदारीमा मत्स्य विस्तार तथा विकास कार्यक्रमको लागि पनि प्रतिहेक्टर पाँच लाख रुपैयाँसम्म लगानी गर्न प्रदेश सरकारले तत्परता देखाएको छ । प्रदेशका सबै जिल्लामा माछा दाना उद्योग प्रवद्र्धन सहयोग कार्यक्रमका लागि पनि ५० प्रतिशत साझेदारीमा ३५ लाख रुपैयाँसम्म लगानी गरिने प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here