हेटौंडा– देशभर कार्यरत राहत शिक्षकहरुले आफूहरुको स्थायित्व र पेशागत अधिकार सुनिश्चितताको लागि दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले आफ्नो हक अधिकारको लागि
राज्यसँग अन्तिम लडाईं लड्ने उद्घोष गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको मेची महाकाली संगठन सुदृढीकरण एवम् प्रशिक्षण कार्यक्रमअन्तर्गत बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा भएको कार्यक्रममा बोल्ने राहत शिक्षक समितिका पदाधिकारीहरुले वर्षाैंदेखि योगदान गरिरहेका राहत शिक्षकलाई अयोग्य ठह¥याई लखेट्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीले राज्यले राहत शिक्षकहरुमाथि विभेद गरेकाले आफूहरुको हक अधिकारको लागि देशभरका राहत शिक्षकहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । देशभरका राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गराउनुपर्ने मागबाट आफूहरु कहिलैपछि नहट्ने पनि उनले प्रतिवद्धता जनाए ।

संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चिता नगरेसम्म आन्दोलनबाट पछि नहट्न उनले प्रदेशभरका राहत शिक्षकहरुलाई आग्रह गरे । शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा वषौैैं योगदान गरेका राहत शिक्षकलाई बेवास्ता गरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो । देशभरका चालिस हजार राहत शिक्षक र ३६ हजार बाल बिकास कक्षाका शिक्षकहरु सडकमा उत्रिएर सरकारविरुद्ध अझ सशक्त आन्दोलन गर्ने पनि उनको भनाइ थियो ।

राहत शिक्षक समितिका केनद्रीय सहअध्यक्ष कृष्ण विष्टले राहत शिक्षकको मागप्रति शिक्षकले नै असहयोग भएको भन्दै गुनासो गरे । सरकारले पनि मागको सुनवाई गर्न अटेरी गरेको भन्दै अब देशभरका राहत शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा लाग्ने चेतावनी दिए । संघीय शिक्षा ऐनमा राहत शिक्षकका मुद्दाहरु उल्लेख गराउन जुनसुकै लडाईं लड्न तयार रहेको उनको भनाइ थियो ।

केन्द्रीय सचिव लक्ष्मी मुक्तानले राज्यले गरेको विभेद अन्त्य गर्न सबै एकजुट भई आन्दोलनमा होमिनुको बिकल्प नभएको बताइन् । राज्यले राहत शिक्षकको भविष्यमाथि खेलवाड गरिरहेको उनको भनाइ थियो । राहत शिक्षकको स्थायित्व र पेशागत हकहितको लागि अन्तिम लडाई लड्ने बेला आएको उनको भनाइ थियो ।

केन्द्रीय उपमहासचिव डम्मर राईले आन्तरिक प्रतिष्पर्धाको माध्यमबाट स्थायित्वको माग गर्दै आफूहरुको आन्दोलन जारी रहेको बताए । ४० हजार शिक्षकलाई नै दरबन्दी कायम गराई सबै राहत शिक्षकलाई स्थायित्वको लागि प्रतिष्पर्धा गराउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमकैबीच शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई स्थायी शिक्षकमा नाम निकाल्न सफल राहत शिक्षकलाई सम्मान गरिएको थियो । राहत शिक्षक समिति प्रदेश–३ का अध्यक्ष बासु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राहत शिक्षक समितिका वरिष्ठ सहअध्यक्ष नविन सिंह धामी, केन्द्रीय सल्लाहकार संयोजक गणेश ओझा, सहअध्यक्ष कृष्ण विष्ट, केन्द्रीय सल्लाहकार समिति सदस्य कुमार बजगाईं, नेपाल राष्टिूय शिक्षक संगठन मकवानपुरका उपाध्यक्ष श्रीराम दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदेश महासचिव हरि पौड्यालले सहजीकरण गरेको कार्यक्रममा प्रदेश सचिव शंकरराज श्रेष्ठले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

शिक्षकको हरेक गतिविधिको प्रचार प्रसारका साथै आन्दोलनमा सञ्चारमाध्यमको तर्फबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रमकैबीच प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई सम्मान गरिएको थियो । समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीसहित पदाधिकारीले समर्पणलाई सम्मानपत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here