हेटौंडा– हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक भत्कने या नभत्कनेबारे चर्चा चलिरहेका बेला प्रदेश ३ सरकारले भने हेटौंडा–१ चौकीटोलदेखि हेटौंडा–१० कर्राखोलासम्मको सडक निर्माणको लागि प्रक्रिया सुरु गरेको छ ।

प्रदेश–३ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले असोज ३० गते गजुरमुखी शिवशक्ति निशान जेभीसँग १३ करोड रुपैयाँको ठेक्का सम्झौतासमेत गरेको छ । चौकीटोलदेखि हेटौंडा–१० कर्रापुलसम्मको २ दशमलव ३ किमि सडक निर्माणको लागि दुई वर्षभित्र काम सक्याउने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्करप्रसाद पोखरेलले जानकारी दिए ।

‘यो ठेक्काबाट हामी चौकीटोलदेखि कर्रा पुलसम्मको क्षेत्रमा राप्ती खोलाले कटान
गरेको भागलाई उकास गरी १० मिटर फराकिलो बनाउनेछौं । पछि सोही उकासको जमिनलाई सडकको रुपमा स्तरोन्नती गर्ने प्रदेश सरकारको योजना छ ।’ कार्यालय प्रमुख पोखरेलले भने । ‘यहि ठेक्काबाट पिच सडक नै निर्माण हुँदैन १० मिटर कच्ची सडकसम्म निर्माण हुन्छ ।’ कर्रा पुलदेखि रातोमाटेसम्मको सडकको लागि पनि छुट्टै ठेक्का आह्वानको तयारी
भइरहेको उनले बताए । प्रदेश सरकारले उक्त खण्डको लागि चालु आबमा ३ करोड रुपैयाँ छुट्याएकोमा बहुवर्षीय ठेक्का लगाएर काम सुरु गरिने पोखरेलको भनाइ छ ।

संघीय सरकारले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा सडकखण्डको दायाँबायाँ २५ मिटर सडक विस्तार गर्ने नीति अवलम्बन गरेसँगै प्रदेश सरकारले त्यसको विकल्पको रुपमा बाइपास सडकको स्तरोन्नति गर्न लागेको हो । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्दा अर्बौको क्षति हुने, व्यापार व्यवसाय र हेटौंडाको सौन्दर्य हराउने भन्दै व्यवसायी जनप्रतिनिधिलगायत स्थानीयको चर्को दबाबपछि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय बाइपास सडक निर्माणमा जुटेको हो ।

बाइपास सडक विस्तार गरी त्रिभुवनराजपथ तथा महेन्द्र राजमार्गबाट आएका हेभी ट्रक तथा ठूला सवारीलाई बाइपासबाटै गुडाउने लक्ष्यसहित पूर्वाधार निर्माणको काम सुरु गरिएको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेवबहादुर भण्डारीले जानकारी दिए । ‘प्रदेश राजधानी हेटौंडामा सवारीको चाप धेरै बढेको छ, कि त सडक फराकिलो पार्ने तथा कि बाइपास सडक निर्माण गर्नुको विकल्प छैन, त्यसैले हामीले बाइपास सडक निर्माण सुरु गरेका हौं ।’ डा. भण्डारीले भने । राप्ती खोलाको किनारै किनार निर्माण हुने बाइपासले नदी नियन्त्रण गर्ने र हेटौंडा बजारक्षेत्रको समेत सुरक्षा गर्ने बताए ।

बिना क्षतिपूर्ति संघीय सरकारले पूर्वपश्चिम र त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा क्षेत्रको सडक विस्तार अभियान अगाडि बढाएसँगै यहाँका घरधनी तथा व्यवसायीहरु अहिले क्षतिपूर्तिको माग गर्दै अदालत धाइरहेका छन् । लामो समयदेखि यहाँका घरधनी तथा व्यवसायी आन्दोलनरत् रहेका छन् । २०७५ साल फागुन ६ गतेको बसेको प्रदेश मन्त्रिपरिषद्का बैठकले हेटौंडाको मुख्य बजारक्षेत्रमा १६ मिटरमात्र सडक विस्तार गर्ने गरी संघीय सरकारलाई सिफारिस
गरेको थियो ।

हेटौडाको मुख्य बजारबाट राजमार्ग बाइपास गर्ने कामको सम्झौता भएपछि नेपाल उद्योग बाणिज्य महासंघका केन्दीय सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले स्वागत योग्य काम सुरु भएको भन्दै प्रशंसा गरेका छन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुई ठूला राजमार्गलाई बाइपास गरिने भएपछि मकवानपुर उद्योग बाणिज्य संघले पनि त्सको स्वागत गरेको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।

अरुणराज सुमार्गी मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष रहेका बेला माधबराज सुमार्गी ट्रष्टबाट एक करोड लगानी गरी बाईपास ट्रयाक खोलिएको थियो । बस्ती बचाउन आफूले सुरु गरेको अभियानलाई प्रदेश सरकारले अघि बढाएको भन्दै सुमार्गीले खुसी व्यक्त गरे ।

बाइपास सडक निर्माण क्षेत्रका जनप्रतिनिधि हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेले पनि बाइपास सडक निर्मोणको कदम सकारात्मक भएको भन्दै प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे । ‘बाइपास सडक निर्माणलाई अघि बढाउन कयौं पटक मन्त्रालयदेखि सम्बन्धित निकायमा धाइयो, अन्नतः हाम्रो आवाज प्रदेश मन्त्रालयले सुनेको छ । अब बाइपास बन्ने भएपछि हेटौंडा बजारको बस्ती बच्नेमा हामी ढुक्क छौं ।’ न्यौपानेले भने । बाइपास निर्माण पूरा भएसँगै हेटौंडा बजारको सवारी चाप पनि कम हुने र बजार विस्तार गरी कयौंको घरबास उठ्ने समस्या पनि हटेको
उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here