हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ४९ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस कैलाश गाउँपालिका वडा नम्बर २ को आयोजनामा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच तत्कालीन माओवादीबाट वडा सदस्यका उम्मेदवार फूलमाया विक र कमला मुक्तान, एमालेका तत्कालीन डाँडाखर्च गाविस सचिव मनिषलाल नेगीलगायत नेकपा परित्याग गरी वडा तथा गाउँपालिका तहका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, क्षेत्रीय सभापति लोक मुक्तानलगायतले अबीर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । नेपाली काँग्रेस कैलाश–२ नम्बर वडा सभापति डिकबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सन्त चेपाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी क्षेत्रीय सभापति लोक मुक्तान, कैलाश वडा नम्बर २ का निर्वाचित वडाध्यक्ष राजेन्द्र घिसिङ, तरुण दल गाउँपालिका सचिव भुवन नेगीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकैबीच अनिल नेगीको अध्यक्षतामा नेपाल तरुण दलको ३३ सदस्यीय वडा समिति पनि गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here