एउटा ऐतिहासिक गाउँ चित्लाङ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले चित्लाङको चिसो सजिलै पचाउन सकिन्छ । यात्राको थकान पनि क्षणभरमै दूर हुन्छ ।

दिनभर शान्त र शीतल वातावरणमा मनोरम प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक सांस्कृतिक महत्वको गाउँ भ्रमण, होमस्टे र रिसोर्टमा क्याम्प फायरदेखि नाँचगान, चुस्कीको चियर्समा रमाउनेलाई गाउँमै उत्पादित नास्पातीको रक्सी र वाइनदेखि अन्तर्राष्ट्रिय ब्रान्डसम्मको सुविधा, कुलेखानीको माछादेखि करेसामा रोपिएका साग, चनालगायत जाँतोमा पिँधेको अन्नको स्वाद चाख्न पाउँदा जोकोहीले चित्लाङ भ्रमण अविष्मरणीय नै बनाएर फर्कन्छन् ।

आफूसँग थोरै फूर्सदको समय छ र त्यसलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने सोचिरहनुभएको छ भने तपाईको लागि चित्लाङको एक दिन एक रातको बसाई नै काफी छ । शनिबारको एकदिनको फुर्सदलाई सदुपयोग गर्दै काठमाडौं र हेटौंडाबाट चित्लाङमा रमाउन सयौं पर्यटक यहाँ आइपुग्ने गर्छन् । शुक्रबार दिउँसो हिँडेर साँझ चित्लाङमा बास बसी भोलिपल्ट ईन्द्रसरोबरमा डुङ्गा सयर गरी बेलुका काठमाडौं फर्कन सकिन्छ । भोलिपल्ट पनि बस्न चाहे ईन्द्रसरोबर तालकै छेउ मार्खुमा मनोरम वातावरणमा बस्न सकिन्छ । तालको दृश्यावलोकनको साथ खाने बस्ने व्यवस्थाका लागि मार्खुमा थुप्रै होटल तथा रिसोर्टहरु निर्माण भएका छन् ।

पर्यटकीय हिसाबले पछिल्लो समयमा निकै चर्चामा रहेको चित्लाङको आफ्नै इतिहास र विशेषता छ । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले चैतलाङ भन्दै पछि चित्लाङको रुपमा चिनिन पुगेको इतिहासविद्हरुको भनाइ छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत शृङ्खला छ । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिका–१० मा रहेको चित्लाङ गाउँ लिच्छवीकालदेखिकै परिचित गाउँ मानिन्छ । काठमाडौंबाट तराई आउजाउ गर्नेहरु चन्द्रागिरी डाँडो पार गरी चित्लाङ हुँदै आउजाउ गर्थे । त्यसयताको मल्लकालीन राजा, राणाहरु पनि तराई आउजाउ गर्न चित्लाङकै बाटो प्रयोग गर्थे । आउजाउ गर्दा रात परेपछि उनीहरु चित्लाङमा नै रात बिताउने गरेको पनि स्थानीय बुढापाका बताउँछन् ।

चित्लाङ राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ पनि भनिन्छ । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तश्री धारा पनि चित्लाङको महत्वपूर्ण सम्पदा हो । वि.सं ३ सय १६ मा सम्राट अशोकले बनाएको अशोक चैत्य चित्लाङमा पर्यटक लोभ्याउने अर्को सम्पदा हो । अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन् ।

चित्लाङको सौन्दर्य
चित्लाङको आफ्नै मौलिक परम्परा छ । ऐतिहासिकता, प्राकृतिक सुन्दरता, सभ्यता र संस्कृतिबारे बुझ्न चित्लाङ जानैपर्ने देखिन्छ । बाहै्र महिना चिसो भइरहने ठाउँ, हरिया फाँट र हरिया जंगल नियाल्दै स्थानीय स्तरमै उत्पादित खानाको स्वादका कारण पर्यटक आकर्षित हुन्छन् । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तऋषी धारामा नुहाएर पनि आनन्द लिन सकिन्छ । पर्यटकलाई स्थानीयले गर्ने व्यवहारबाट पनि धेरै जना प्रभावित हुन्छन् । गाउँमा आउने पर्यटकलाई होमस्टेमा नाङ्लामा सगुन र नास्पातीको लोकल रक्सीले स्वागत गर्ने परम्परा छ । पर्यटकहरुका लागि प्रशस्त होमस्टेदेखि सुविधा सम्पन्न रिसोर्टहरु पनि खुलेका छन् । चित्लाङमा अहिलेसम्म खाना र बासको छुट्टै मूल्य निर्धारण गरिएको छैन ।

आउने पाहुनालाई खाजा, खाना र बास बसाई गाउँ घुमाइदिएपछि होमस्टेले प्रतिव्यक्ति एक हजारदेखि एक हजार पाँचसयसम्म सेवा शुल्क लिन्छन् भने रिसोर्टहरुले एक हजार पाँच सयदेखि ३ हजार रुपैयाँसम्म शुल्क लिन्छन् । चित्लाङमा लोकल बाख्राको दूधबाट बनेको चीजको पनि स्वाद लिन सकिन्छ ।
चित्लाङ बलिया र बहादुरहरुको गाउँ पनि हो । तत्कालीन समयमा राणाहरुले प्रयोग गर्ने गाडी बाटो अभावका कारण भीमफेदीदेखि काठमाडौंसम्म बोकेरै पु¥याउनुपर्ने हुन्थ्यो । सो गाडी बोक्नेमध्येका अधिकांश चित्लाङकै थिए । चित्लाङका धनबहादुर गोले, मार्खुका जयबहादुर घिसिङ, सर्वाङका कान्छा वाइवालगायत तामाङ जातीका मानिसहरु कयौं दिन लगाएर राणाको गाडी बोक्न खटिने गरेको स्थानीय बुढापाकाको भनाइ छ ।

चन्द्रागिरीमा केबलकार चलेदेखि चित्लाङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको चित्लाङ अग्र्यानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपाल बताउँछन् । चन्द्रागिरी घुम्न आउने पर्यटकहरु चित्लाङमा बस्नको लागि आइपुग्ने गरेको नेपालले सुनाए । २०६८ सालमा पहिलो पटक चित्लाङमा चार वटा होमस्टे सञ्चालनमा ल्याई पर्यटकको सेवा सुरु गरिएको थियो । हाल चित्लाङमा दुईवटा रिसोर्ट र १९ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।

पहिलेपहिले शुक्रबार र शनिबार मात्र चित्लाङमा पर्यटकको भीड हुने गरेकोमा अहिले भने सातै दिन उत्तिकै पर्यटक आउने गर्छन् । शुक्रबार र शनिबार भने पर्यटकको चाप धेरै हुने भएकाले टेन्ट गाडेर बास बसाउने गरिएको अर्गानिक भिलेज रिसोर्टका म्यानेजर उत्तम गुभाजू बताउँछन् ।

महाकविको रचनास्थल
चित्लाङलाई महाकवि लक्ष्मीप्रसाद देवकोटासँग पनि जोडेर चिनिन्छ । ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो’ बोलको गीत लक्ष्मीप्रसाद देवकोटाले १९९८ मा चित्लाङमै बसेर लेखेका थिए । मकवानपुर भ्रमणको क्रममा चित्लाङको गुर्जुधारामा बसी सुस्ताइरहेका देवकोटाले भारतबाट पशुपति दर्शनको लागि कयौं दिन लगाएर हिँड्दै आइरहेका तिर्थयात्रुलाई देखी सो गीत रचना गरेका थिए । देवकोटाले पानी पिएको ढुङ्गेधारा र बसेर कविता लेखेको भनिएको ढुङ्गा अहिले पनि देख्न सकिन्छ ।

चित्लाङ वरपरका घुम्ने ठाउँ
चित्लाङमा पुगेपछि त्यस वरपरका केही महत्वपूर्ण र पर्यटकीय क्षेत्रको पनि भ्रमण गर्न सकिन्छ । थाहा नगरपालिका–१० मै रहेको बिसिङ्खेलमा करिब २० वर्षअगाडि स्थापना भएको ओलिभ फार्मको भ्रमण गर्न सकिन्छ । अंग्रेजीमा ओलिभ भनिने जैतुनको उक्त डाँडामा खेती हुने गर्छ । उत्पादित जैतुनबाट सोही फार्ममा तेल उत्पादन गर्ने गरिएको छ । जैतुनको तेल तारे होटलहरुले सलादमा प्रयोग गर्ने गर्छन् ।

यसैगरी सोही ओलिभ फार्मसँगै अफ्रिकामा पाइने दूर्लभ जनावर अल्पाका पालन पनि देख्न पाइन्छ । हेर्दा उँट जस्तो देखिने अल्पाकाको रौं निकै महङ्गो मूल्यमा बिक्री हुन्छ । यसको रौंबाट निकै महङ्गो पस्मिना बनाइन्छ ।
चित्लाङबाट करिब आधा घण्टाको यात्रापछि मानव निर्मित ईन्द्रसरोबर तालको अवलोकन गर्न पाइन्छ । तालमा डुङ्गा शयर गर्दै कुलेखानी जलविद्युत् आयोजनाको ड्यामसम्मको यात्रा गर्न सकिन्छ ।

चित्लाङमा हरियाली घाँसे चौर र नासपातीको घना बगैंचामा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका कटेज देखिन्छन् । ती कटेजमा रात बस्नेलाई दाउराको प्रबन्ध पनि मिलाइन्छ । रातभर क्याम्प फायर गरी नाँचगानका साथै आफूलाई मन पर्ने परिकार बनाउन लगाएर खान सकिन्छ ।

त्यसैगरी चित्लाङबाट करिब ४५ मिनेटका यात्रापछि मार्खुको सरकारी स्तरबाट सञ्चालित बाख्रा फार्म पुग्न सकिन्छ । बाख्रा फार्मको अवलोकन गरी विभिन्न प्रजातीको बाख्राबारे जानकारी लिन सकिन्छ ।

काठमाडौं–चित्लाङ कसरी पुग्ने
काठमाडौंबाट चित्लाङ आउन बढीमा तीन घण्टाको समय लाग्छ । थानकोट चेकपोष्ट नजिक रहेको केबलकार स्टेशनबाट केबलकार चढेर चन्द्रागिरी पुगिन्छ ।
चन्द्रागिरीबाट करिब २ घण्टाको ओरालो कच्ची बाटोको यात्रा गरेपछि चित्लाङ पु्ग्न सकिन्छ । काठमाडौंको थानकोट हुँदै सडक मार्गबाट चन्द्रागिरी पहाड पार गरी मोटरबाटोबाट पनि चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट पैदलै चित्लाङको यात्रा गर्नेहरु पनि भेटिन्छन् । काठमाडौंबाट पैदल जाँदा करिब ५ घण्टामा चित्लाङ पुगिन्छ ।

बल्खु, दक्षिणकाली, फर्पिङ हुँदै कुलेखानी निस्किएर पनि चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट हेटौंडा ओहोरदोहोर गर्ने सुमोहरु यही बाटो आवतजात गर्ने गर्छन् । तर, बाटो भने केही लामो पर्छ । प्रदेश ३ को राजधानी हेटौंडाबाट पनि करिब २ देखि साढे दुई घण्टाको यात्रापछि चित्लाङ पुग्न सकिन्छ । हेटौंडा–भीमफेदी–कुलेखानी–मार्खु हुँदै मोटरबाट या साना सवारीबाट पनि चित्लाङ पुग्न सकिन्छ ।
सस्तैमा मनोरञ्जन काठमाडौं या हेटौंडाबाट चित्लाङ भ्रमणमा निस्कनेले सोचेभन्दा धेरै सस्तोमा मनोरञ्जन लिन सक्छन् । सामान्यतया ३ देखि चार हजार खर्च गर्दा चित्लाङ घुमेर फर्कन सकिन्छ । चित्लाङमा दुई सुविधा सम्पन्न रिसोर्ट छन् ।

ती रिसोर्टले काठमाडौंदेखि चित्लाङ मार्खुसम्मको प्याकेज र चित्लाङमा आउनेलाई एक रातको प्याकेज नै राखेका छन् । चित्लाङमा सुविधासम्पन्न दुई रिसोर्ट छन् । चित्लाङ रिसोर्ट र चित्लाङ भिलेज रिसोर्टले काठमाडौंदेखि चित्लाङसम्मको प्याकेज राखेर लैजाने–ल्याउने, खुवाउने, घुमाउने तथा बसाउने सुविधा उपलब्ध गराइरहेको छ । मनोरम दृश्यावलोकन गर्दै शान्त वातावरणमा क्याम्प फायरका साथै नाचगान र टेन्टभित्र सुत्नको लागि चित्लाङ भिलेज रिसोर्ट उपयुत्तः छ भने आधुनिक शैलीमा निर्माण गरिएको चित्लाङ रिसोर्ट काठमाडौं तथा अन्य स्थानको सुविधा सम्पन्न रिसोर्टसरह नै छ । चित्लाङमा सर्वाधिक पर्यटक जाने चित्लाङको दुईवटा रिसोर्ट र अन्य होमस्टेहरुको खाने बस्नेको प्याकेज यस्तो छ ।

फुल प्याकेजः
फूल प्याकेजमा रिसोर्टले काठमाडौंबाटै चित्लाङ लैजानेछ । काठमाडौंबाट पुग्नेबित्तिकै रिसोर्टले स्थानीय उत्पादनबाट बनेको मकैको ब्रेड, नास्पाती तथा आरुखोखडाको जाम, भुटेको लोकल केराउ लगायतका खानेकुरा वेलकम स्न्याक्सका रुपमा खुवाउनेछ । साथै तीन जना बस्न मिल्ने अट्याच बाथरुमवाला रुम दिइन्छ । टेन्टमै बस्न चाहनेलाई टेन्टभित्रै भुईंमा सुविधायुक्त ओछ्यान लगाइदिइन्छ ।
रातमा क्याम्प फायर गर्न पाइन्छ ।

दाउराको व्यवस्था रिसोर्टले मिलाइदिन्छ । मदिरा पिउन चाहनेले स्थानीय नास्पताीबाट बनेको लोकल रक्सीदेखि अन्य ब्रान्डको रक्सी पनि पिउन सक्छन् । तर, रक्सी र स्न्क्याक्स भने प्याकेजभित्र पर्दैन । क्याम्प फायरसँगै गीत संगीतमा झुम्दै नाँच्न पाइन्छ । रातीको खानापछि घुम्ने वा सुत्न सकिन्छ । बिहानको खाजापछि रिसोर्टकै कर्मचारीले गाउँ भ्रमणमा लैजानेछन् ।

घुमघामलगत्तै बिहानको खाना खाएर पर्यटकलाई रिसोर्टले मार्खुस्थित इन्द्रसरोबरमा डुङ्गा शयर गराएर पुनः काठमाडौं फर्काइन्छ । यो फूल प्याकेजको चित्लाङ भिलेज रिसोर्टले दुई हजार आठ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ भने चित्लाङ रिसोर्टमा तीन हजार पाँच सय तिर्नुपर्छ ।

नर्मल प्याकेज
आफ्नै सवारी या भाडाका सवारीमा चित्लाङ पुग्नेले यो प्याकेज लिन सक्छन् । यो प्याकेजअनुसार वेलकम स्न्याक्स, बेलुकाको खाना, तीन जना अट्ने एटेज बाथरुमसहितको कटेज या टेन्टमा सुत्ने व्यवस्था हुन्छ । रातीमा क्याम्प फायर र नाजगानसहित खाना र भोलिपल्ट बिहानको खाजा खान पाइन्छ ।
नर्मल प्याकेजको चित्लाङ भिलेज रिसोर्टमा प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ लिइन्छ भने चित्लाङ रिसोर्टमा दुई हजार रुपैयाँ तिर्नुपर्छ । होमस्टेमा बस्दा नर्मल प्याकेजको प्रतिव्यक्ति एक हजार देखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

फोटोहरुः
१. चित्लाङ नजिकै रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा रहेको इन्द्रसरोबर तालमा डुङ्गा शयर गर्दै पर्यटक ।
२. चित्लाङको एक रिसोर्टबाट देखिएको चित्लाङको रमणीय दृश्य
३. बासका लागि रिसोर्टमा पुगेका आगन्तुक
४. चित्लाङ नजिकै रहेको बिसिङ्खेलमा पालिएको अल्पाका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here