श्रीजना नेपाल

हेटौंडा– आख मारे वो लड्का आख मारे ……….।
मंगलवार दिउँसो करिब पौने ३ बजे जिल्ला हुलाक कार्यालय मकवानपुरको ढोकामा पुग्नासाथ गुञ्जिएको गीत । कार्यालयको सबैभन्दा अगाडि रहेको चिट्ठी दर्ता गर्ने कक्षमा २ जना महिलाहरु कुर्सीमा बसेर कार्यालयको कम्प्युटरमा गीत हेर्दै थिए ।

सोहि कोठाको विपरित दिशामा भएको टिकट काउण्टर भएको कोठामा पाँचजना महिला कर्मचारी र एकजना पुरुष कर्मचारी बसिरहेका थिए । ती मध्ये एक जना महिला कर्मचारी खाजा खादै थिइन् भने अरु गफको दुनियाँमा व्यस्त थिए । उनीहरुको बसाई पनि आफैँमा अनौठो थियो । सायद सरकारी कार्यालयका कोहि पनि कर्मचारी कार्यालय समयमा बस्ने कुर्सीमाथि खुट्टा राख्दैनन् । तर उनीहरुलाई कसैले रोकेको थिएन ।

त्यहाँ पुगेर उभिएको करिब पाँच मिनेटसम्म पनि कुनैपनि कर्मचारीले के कामले आउनु भएको भनेर नसोधेपछि यहाँ आउने मान्छेलाई के कामले आएको भनेर सोध्ने चलन छैन हो ? भनेर सोध्दा सोध्दै थियौँ । तपाई पत्रकार हो ? बस्नुस् न भनेर एकजना महिला कर्मचारी भन्नासाथ नजिककी अर्की कर्मचारी आफू बसेको ठाउँबाट अलि पर सरिन् । पत्रकार बाहेक अरुलाई सोध्ने गरेको छैन भन्दा होईन हाम्रो गफ चल्दै थियो सकिएर सोध्नै लाग्या थियौँ अर्को जवाफ आयो । कार्यालयको हाकिम साब, सूचना अधिकारी कता हुनुहुन्छ भन्ने प्रश्नमा सूचना अधिकारी बाहिर गएको र कार्यालय प्रमुख कार्यालयको प्रमुख अफिसमै हुनुहुन्छ भनेपछि कार्यालय प्रमुखसँग भेट भयो ।

प्रमुख पनि आफ्नो कक्षमा नभएर अन्य कर्मचारीको कक्षमा कुरा गर्दै थिए । पुग्नासाथ हुलाक कार्यालय सधै अव्यवस्थित भयो भनेर सबै कुरा भन्दा उनले सूचना अधिकारीलाई फोन गरे तर फोन नउठेपछि पछि फेरि आउने जानकारी गराई त्यहाँबाट निस्किनै लाग्दा सबैभन्दा पछाडिपट्टी कार्यालय प्रमुखको कार्यकक्ष नजिकै भएको कोठाबाट पनि भोजपुरी गीत गुञ्जिरहेको आवाज आयो ।

नेपालको सबैभन्दा पुरानो सूचना साधन अर्थात सञ्चार माध्यम हुलाक कार्यालयमा अचेल काम नहुँदा त्यहाँका कर्मचारी गीत सुनेरै दिन कटाउँछन् । करिब दुई महिनाअघि पनि कार्यालय पुग्दा लोकदोहोरीमा सबै कर्मचारी मस्त थिए । कामको कारण समय समयमा टिकट खरिद गर्न कार्यालय पुगिरहने एक जना सेवाग्राहीले पनि आफू कार्यालयमा पुग्दा प्रायः सबै कर्मचारी एकै ठाउँमा बसेर कम्प्युटरमा गीत हेरेर रमाईलो गर्ने गरेको बताए ।

करिब दुई दर्जन कर्मचारी भएको कार्यालयमा अझै कर्मचारी अपुग भएर काम गर्न समस्या भएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । पछिल्लो समय आधुनिक प्रविधिको विकास भएसंगै हुलाक कार्यालयमा सरकारी कार्यालयका पत्रहरु औपचारिकताले गर्दा मात्रै पुग्छन् । अन्य व्यक्तिगत पत्र त करिब शून्य कै हाराहारीमा पुग्ने गरेको त्यहिँका कर्मचारीले बताए ।

साझाकुरा दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here