हेटौंडा– प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् ।
प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा बुधबार दिउूसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, वसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । यसअघि प्रदेश ३ की प्रदेश प्रमुख रहेका अनुराधा कोइरालालाई बर्खास्त गरेर संघीय सरकारले प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले सवैपक्षलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘सबै पक्षको सहयोग र सद्भावबाट राष्ट्रको उन्नति र प्रगति हुन सक्छ । सबैस“ग सदभाव कायम गर्दै प्रदेशको समग्र विकासमा अगाडि बढ्ने छु ।’, उनले आफू संविधानको दायरामा रहेर आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । ‘सबै क्षेत्रको सहयोगबाट अगाडि बढ्न सहज हुन्छ । त्यसका लागि काम गर्नेछु ।’, उनले भने ।

झापा जिल्ला मेचीनगर नगरपालिका–११, धुलाबारीका प्रशाईंलाई कात्तिक १८ गते सोमबार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । नेकपा प्रदेश १ को सदस्य रहेको प्रशाईंले १९ गते मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका थिए । उनलाई प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले स्वागत
गरेका थिए । प्रदेश ३ का मुख्यमन्त्री हेटौंडामा नभएका कारण जम्मकट्टेलले उनलाई स्वागत गरेका हुन् ।

आफ्नी पत्नी र अंरक्षक सहित हेटौंडा आइपुगेको प्रदेश प्रमुखलाई आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, विभिन्न मन्त्रालयका सचिव, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

२०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्ष भएका प्रसाईं २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा झापा मेचिनगर नगरपालिकाका मेयर पदमा पराजित भएका थिए । उनी कांग्रेसका विमल आचार्यसँग पराजित भएका थिए । २०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा उनी एमालेको तर्फबाट झापा क्षेत्र नम्बर १ बाट सांसद् उठेका थिए ।

त्यस बेला पनि उनी पराजित भए । त्यसअघि उनी जिल्ला विकास समिति झापाका उपाध्यक्ष पनि थिए । तत्कालीन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ३ को पहिलो प्रदेश प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेका थियो । उनले २०७४ माघ ५ गते कार्यभार सम्हालेकी थिइन् । २०७६ कात्तिक १७ गते वर्खास्त भएकी कोइरालाले प्रदेशसभाबाट पारित भएको ४५ वटा कानुन प्रमाणीकरण गरेकी थिइन् । उनले तीनवटा नीति तथा कार्यक्रम प्रदेश ३ को सदनमा प्रस्तुत गरेकी थिइन् भने एकपटक प्रदेशसभालाई सम्बोधन गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here