हेटौंडा– प्रदेश ३ को विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा करिब १२ लाख जनाले रोजगारी पाइरहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

तथ्यांक विभागले गत वर्ष गरेको आर्थिक गणनाअनुसार हाल प्रदेशको विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा १२ लाख १८ हजार ८ सय ४७ जना स्वरोजगार भइरहेका छन् । प्रदेश ३ मा हाल व्यावसायिक प्रतिष्ठानको संङ्ख्या दुई लाख ८२ हजार नौ सय ८० रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांक कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलो पटक गरिएको आर्थिक गणना–२०७५ को तथ्यांक सार्वजनिक गरेको हो ।

आर्थिक गणनामा नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरू समावेश
गरिएका छन् । यस गणनाको तथ्यांकले अर्थतन्त्रको वास्तविक आकार आंकलन गर्न र आवश्यक नीति निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने दाबी गरिएको छ । अर्थतन्त्रको सहि मूल्यांकन र विशलेषण गर्नका लागि चाहिने नयाँ आर्थिक परिसूचकहरुको विकास र पुरानाको परिमार्जनमा समेत यसले आधार तयार पार्ने विश्वास लिइएको छ ।

गत वर्ष २०७५ को वैशाख १ गतेदेखि जेठ मसान्तसम्म मुलुकभर आर्थिक गणना गरिएको थियो । स्वरोजगार भएकामध्ये पुरुष सातलाख ३१ हजार सातसय ६३ र महिला चारलाख ८७ हजार ८४ जना रहेका छन् । तथ्यांकमा एक प्रतिष्ठानमा सरदर दुई पुरुष र एक महिलाका दरले रोजगारी सृजना भएको उल्लेख छ । यसले आर्थिक उपार्जनको क्षेत्रमा महिलाको संलग्नता बढेको देखाएको छ ।

कार्यालयका प्रमुख राजेश दासले प्रस्तुत गरेको प्रतिवेदनको अनुसार प्रदेश नम्बर ३ मा दर्ता भएका व्यावसायिक प्रतिष्ठान एक लाख ४१ हजार नौसय ४९ र दर्ता नभएका एक लाख चालिस हजार ८ सय ६३ वटा रहेका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौं १ लाख २३ हजार ९ सय ९४ र सबभन्दा कम रसुवामा एक हजार तीनसय ७२ प्रतिष्ठान छन् ।

काठमाडौंपछि चितवनमा २९ हजार दुईसय ३७, ललितपुरमा २७ हजार नौ, भक्तपुरमा १९ हजार ६ सय ३१, मकवानपुरमा १६ हजार ४१, काभ्रेपलाञ्चोमा १४ हजार दुईसय ८२, धादिङमा १२ हजार ५१ प्रतिष्ठान रहेका छन् । त्यस्तैगरी सिन्धुपाल्चोकमा नौहजार ७६, नुवाकोटमा ८ हजार सातसय ९४ , सिन्धुलीमा ८ हजार एक र दोलखामा ६ हजार सातसय ५८ प्रतिष्ठान रहेका छन् ।

गणनाको प्रतिवेदन अनुसार प्रदेशमा कृषि, वन तथा माछापालन व्यवसायमा ६ हजार नौसय २७ प्रतिष्ठानमा ४३ हजार तीनसय ३३ जना, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप र निर्माण व्यवसायमा दुईहजार एकसय ७३ प्रतिष्ठानमा २८ हजार नौसय ४३ जना, औद्योगिक उत्पादन क्रियाकलापसम्बन्धी तीनहजार दुईसय ५५ प्रतिष्ठानमा एकलाख ६१ हजार एकसय ९५ जना, थोक तथा खुद्रा व्यापार, मोटर गाडीको मर्मत सम्बन्धी एकलाख ४४ हजार चारसय ४८ प्रतिष्ठानमा तीनलाख २५ हजार दुईसय ९२ जना जनशक्ति संलग्न रहेका छन् ।

त्यस्तैगरी यातायात तथा गोदाम र सूचना तथा सञ्चारसम्बन्धी दुईहजार दुईसय ४३ प्रतिष्ठानमा ३४ हजार पाँचसय ८२ जना, आवास सुविधा भएका र नभएका ४७ हजार २९ होटलमा एकलाख ४५ हजार ९० जना, सातहजार ९१ वित्तीय तथा बिमा प्रतिष्ठानमा एकलाख १६ हजार ९८ जना, दशहजार तीस शिक्षा प्रतिष्ठानमा एकलाख ६३ हजार नौसय ५८ जना, मानव स्वास्थ्य तथा सामाजिक कार्यमा क्रियाकलापसम्बन्धी चारहजार नौसय ६४ प्रतिष्ठानमा ७० हजार ८ सय ३४ जना र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने २५ हजार दुईसय ६० प्रतिष्ठानमा एकलाख ४३ हजार पाँचसय ७२ जना संलग्न रहेका छन् ।

आर्थिक गणना सार्वजनिक गर्न आयोजित कार्यक्रममका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गणनाबाट प्राप्त तथ्यांकीय विवरणले देशको आर्थिक विकासको आधार खडा गर्ने बताउँदै यसले नेपालको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने दाबी गरे ।

उनले प्राप्त सूचकहरूका आधारमा दीर्घकालीन सोचसहितको तथ्यपरक योजना तयार गरी मुलुकको उत्पादकत्व बढाई बेरोजगारी घटाउने रणनीतिमा सरकार र सबैलाई लाभ दिने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबिष्णु ढकाल तथा विभिन्न सरोकारवाला सस्ंथाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here