हेटौंडा–हेटौंडा–१३ मयुरधापमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा एकवर्षदेखि औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । बन्दै गरेको औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन नै स्वीकृत गर्न आनाकानी गरेको हो ।

वन मन्त्रालयले आईईई प्रतिवेदन स्वीकृत नगर्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पूरा गरी भौतिक पूर्वाधार निर्माणमा असर परेको मयुरधाप औद्योगिक क्षेत्रको परियोजना प्रमुखसमेत रहेका हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए । ‘औद्योगिक क्षेत्रको लालपूर्जा प्राप्त गरी हामीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरी तारबार र प्लटसमेत छुट्याउने काम गरिसकेका छौं । गत वर्ष आईईई प्रतिवेदन पनि तयार गरी वन मन्त्रालयमा स्वीकृति माग्दा मन्त्रालयले स्वीकृत दिन आनाकानी गरिरहेको छ । त्यसयता कुनै काम नै अघि बढ्न सकेको छैन ।’ कँडेलले भने ।

औद्योगिक क्षेत्र स्थापनाको लागि सरकारले दुई वर्षदेखि बजेटसमेत बिनियोजन गरिरहेको छ । तर, प्रयाप्त काम हुन नसक्दा बजेटसमेत फ्रिज हुने गरेको छ । चालु आबमा पनि संघीय सरकारले करिब ३१ करोड रुपैयाँ मयुरधाप औद्योगिक क्षेत्रको लागि छुट्याएको छ । तर, आईईई प्रतिवेदन मन्त्रालयमा रोकिएका कारण कुनै पनि काम हुन सकेको छैन ।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्कै निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारी गरिएको थियो ।

औद्योगिक क्षेत्र स्थापनाको काम सुरु भएसँगै उद्योगीहरु जग्गाको लागि निवेदनसमेत लिएर आउन थालेका छन् । आफूले स्थापना गर्न चाहेको उद्योगको प्रकृति र आवश्यक कागजातका साथ निवेदन दिने उद्योगको संख्या दर्जन पुगिसकेको परियोजना कार्यालयका प्रशासन प्रमुख तिलक सुबेदीले बताए । आजको कारोबार दैनिकमा समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here