हेटौंडा– नेपाल तरुण दल हेटौंडा–१९ नम्बर वडा समितिले स्थानीय तहमा भइरहेको भ्रष्टाचारविरुद्ध वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । वडामा भइरहेको विकास निर्माणका गतिविधिको आर्थिक विवरण तथा विभिन्न योजनाको प्रगतिको अवस्थाबारे जानकारी माग्दै तरुणले आइतबार वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

तरुण दलका वडा ईका अध्यक्ष सुसन रिमाल नेतृत्वमा गएको टोलीले वडा सदस्य इन्दिरा लामालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । पछिल्लो ३ बर्षमा विनियोजित बजेट विवरण, खर्च र फछ्र्यौट हुन बाँकी योजनाबारे जानकारी माग गरिएको छ । त्यस्तै, घरबाटो सिफारिस दिँदा झुटो व्यहोरा दिएको तरुणको आरोप छ । त्यसबाट राज्यलाई आउने राजस्व छलीमा सहयोग पुगेको तरुणको आरोप छ । आलेचौर भालेखोला खानेपानी योजना सम्पन्न नभएपनि खर्च फछ्र्यौट गरिएको र घटनामा संकलनलाई कारवाही किन नगरेको भन्दै तरुणले ज्ञापनपत्रमार्फत जानकारी माग गरेको छ । विकास निर्माण कार्यमा मेसिन औजार चलाउन आफू अनुकुल योजना परिवर्तन गरिएको विषय पनि उठान गरिएको छ ।

उद्योगधन्दाको वातावरणीय प्रभाव, समस्या र स्थानीयबासीलाई हुने अवसरबारे ध्यानाकर्षण गराइएको छ । विकास निर्माणको नाममा नियम विपरीत मेसिन औजार प्रयोग गरेर वन विनास गरेको पनि बताइएको छ । आफूहरुको माग ७ दिनभित्र पूरा गर्न ज्ञापनपत्रमा वडा कार्यालयलाई भनिएको छ । माग पूरा नभए तरुण दलले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । शनिबार हेटौंडा–१९, मा भएको तरुण दलको वडा भेला तथा अधिवेशनले त्यसक्षेत्रको विकास निर्माणसहित विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितताको गन्ध आएको भन्दै चरणबद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेबमोजिम ज्ञापनपत्र बुझाइएको नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here