हेटौंडा– हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि आयोजित महायज्ञबाट डेढ करोड रुपैयाँ संकलन भएको छ ।

मंसिर ३ गतेदेखि सुरु भएको महायज्ञ मंगलबार सकिएको छ । प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले महायज्ञमा कथा बाचन गरेका थिए । महायज्ञको अन्तिम दिन मंगलबार मात्र २२ लाख रुपैयाँ संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए ।

समापनको दिन ठूलो रकम सहयोग गर्नेहरुमा हेटौंडा १८ का माधव थापा र मुकुन्द थापाबाट १२ लाख रकम बराबरको १ कठ्ठा जग्गा दान गरेका छन् । हेटौंडा ५ का व्यवसायी तथा समाजसेवी
रामबहादुर गौतमबाट २ लाख ७ हजार, पण्डित नारायण पोख्रेल प्रतिष्ठान काठमाडौंबाट १ लाख, हेटौंडा १८ का रामजी थापाबाट ६६ हजार, हेटौंडा १८ घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहेका रञ्जन कार्की र रञ्जु कार्कीबाट ५५ हजार, साह मेडिकल हल हेटौंडाका संचालक केशरीप्रसाद साहबाट ५१ हजारसहित २२ लाख रुपैयाँ संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।

३ नम्बर प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता एवम् महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बाचन पंण्डित दिनबन्धु पोख्रेल, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा विद्यालयको सहयोगार्थ लगाइएको महायज्ञमा सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here