हेटौंडा– ठेकेदार कम्पनीले काम नै नसक्याई सम्पर्कबिहीन हुँदा हेटौंडा–१० स्थित टीसीएनरोडको फुटपाथ तथा ढल निर्माणको काम अलपत्र बनेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म काम सक्याउने गरी ठेक्का लिएको रोजन निर्माण सेवा गत साउनदेखि सम्पर्कबिहीन भएपछि चार महिनादेखि फुटपाथ निर्माणको काम अलपत्र परेको छ । सडकको एकापट्टीको नाली खनेर खाल्डो त्यतिकै छाड्दा पैदलयात्रीलाई दूर्घटनाको जोखिमसमेत बढेको छ ।

हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ६०/४० को लगानीमा ८१ लाख २५ हजार छसय ७ रुपैयाँमा ठेक्का रोजन निर्माण सेवासँग गत जेठ १६ गते सम्झौता भएको थियो । एक करोड २४ लाख रुपैयाँको ठेक्का घटाघटमा रोजनले ८१ लाख रुपैयाँमै ठेक्का हालेको थियो । निकै कम मूल्यमा ठेक्का हालेर काम थालेको रोजनले गुणस्तरीय निर्माण नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि निर्माण कम्पनी सम्पर्कबिहीन भएको हो । ‘अख्तियारमा उजुरी परेपछि अख्तियारले मागेको कागजपत्र पनि नबुझाएको भन्ने सुन्नमा आएको छ । उसको काम गर्ने समय पनि असार मसान्तमै सकिएको हो । अख्तियारले कुनै फैसला नगरेकाले काम रोकिएको हो ।’ हेटौंडा उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख कृष्णबहादुर अधिकारीले भने ।

अधिकारीका अनुसार निर्माण कम्पनीले काम गरेबापत १७ लाख ६२ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । उसले सबै प्रक्रिया पूरा गरी सम्पर्कमा आएमा केही समय म्याद थप गरी उपमहानगर एक्लैको बजेटबाट पनि उक्त फुटपाथ निर्माण गरिने अधिकारीले
बताए । अख्तियारबाट मुद्दाको छिनोफानो नभइसकेकाले उपमहानगरले अन्य प्रक्रिया पनि सुरु गर्न नसकेको उनको भनाइ छ । फुटपाथ निर्माण अलपत्र छाड्दा असुविधा भएको भन्दै स्थानीबासीले आक्रोश व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here