हेटौंडा– गाँजा खेतीको लागि कहलिएको क्षेत्र मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीकै मिलेमतोमा गाँजा खेती मौलाइरहेको स्थानीय युवा एवम् जनप्रतिनिधिले आरोप लगाएका छन् । गाँजा फँडानीको लागि गाउँमा पुगेको प्रहरी टोलीले गाँजा फँडानीमा विभेद गरेको भन्दै स्थानीय युवाहरुले प्रहरीले नै गाँजा किसानबाट घुस लिएको दाबी गरेका छन् ।

‘बाटोमै पर्ने बिघौं बिगाहामा लगाएको गाँजा खेतीलाई बेवास्ता गरी विकटको गाउँतिर गाँजा फाँड्न जान्छ, त्यहाँ पनि कसैको फाँड्छ कसैको त्यतिकै छाडिदिन्छ ।’ साझाकुरा दैनिकको कार्यालयमा गुनासोको लागि आएका एक युवाले नाम नबताउने सर्तमा भने–‘प्रहरीले देखादेख गाँजा फँडानी नगर्नुको कारणबारे किसानलाई सोध्दा प्रहरीलाई पैसा खुवाएको भनी छाती फुलाउँछ ।’ ती युवाले भने । राक्सिराङको चैनपुर प्रहरी चौकीमा भर्खरै आएका असईले गाँजा संरक्षण गरी कमाउ धन्दामा लागेको राक्सिराङ गाउँपालिका कार्यालय स्रोतको दावी छ । राजनीतिक दलका नेता र केही वडाध्यक्षहरु नै गाँजा खेतीमा सक्रिय भएर प्रहरी प्रशासन मिलाउन लागेको गाउँपालिकाका एक पदाधिकारीले दावी गरे ।

पैसाको प्रलोभनमा परेर प्रहरीले कसैको गाँजा फाँड्ने र कसैको संरक्षण गर्दा गाउँलेबीच नै काटामार पर्ने अवस्था आएको स्थानीय युवाहरुको भनाइ छ । गाउँलेहरुबीच बैमनस्यता बढिरहेको भन्दै जुनसुकै बेला पनि गाँजा फाँडिएको र नफाँडिएको विषयलाई लिएर अप्रिय घटना हुन सक्ने ती युवाहरुको भनाइ छ । राक्सिराङ गाउँपालिका–७ जुरेथुमका एक युवाले नाम नबताउने सर्तमा आफ्नो वडाको गर्लिङ, खर्लिङ, छकुङलगायतका ठाउँमा गाँजा फाँड्न प्रहरी पुग्दै नपुगेको गुनासो गरे । ‘छकुङ, आँपटारमा केही ठाउँमा गाँजा फाँडिएको छ, त्यहिँ नजिकै अर्को बारीमा मौलाइरहेको गाँजा प्रहरीले देखे नदेखे झैं गर्छ ।’ ती तामाङ युवाले भने ।

करिब एक हप्ताको समय लिएर जाने गरेको प्रहरी गाँजा नफाँडी ३–४ दिन गाँजा नै नफाँडी बस्ने गरेको युवाहरुको भनाइ छ । ‘खसी काटेर रातभर बियर र मासु खाएर स्कुलमा बस्छ, जसजसले खुवाउने र पैसा पेल्न सक्छन् उनीहरुको बारीमा प्रहरी पुग्दै पुग्दैन । सामान्य थोरै थोरै खेती गर्ने सामान्य किसानको मात्रै गाँजा फाँड्न पुगिरहेको हुन्छ ।’ स्थानीय युवाले साझाकुरासँग
गुनासो गरे ।

यस विषयमा प्रतिक्रिया माग्दा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुलाई पनि प्रहरीले गाँजा फँडानीमा विभेद गरिरहेको गुनासो आएको बताए । ‘गाउँलेहरुले पनि प्रहरीमाथि आरोप लगाइरहेका छन्, हामीसँग पनि राम्रो समन्वय नगरिँदा प्रहरीको भूमिकामाथि पनि शंका उब्जिएको छ । यसबारे मैले मकवानपुरका एसपी सापसँग पनि पटकपटक कुरा गरिरहेको छु ।’ मल्लले भने ।

गाउँपालिकालाई नै गाँजामुक्त गराई त्यसको विकल्पमा कार्यक्रमहरु ल्याइएको भए पनि प्राविधिक कर्मचारीको अभावको कारण त्यो कार्यक्रम पूर्ण रुपमा लागू हुन नसकेको अध्यक्ष मल्लले बताए । ‘गाउँमा गाँजा निरुत्साहित गर्न सबैको साथ र सहयोग आवश्यक पर्छ, प्रहरी प्रशासनले पनि बिना कुनै स्वार्थ गाँजा फँडानी गर्न सहयोग गर्नुपर्छ । मैले पटकपटक प्रहरी प्रमुखलाई योबारे जानकारी गराए पनि त्यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन ।’ गाउँपालिका अध्यक्ष मल्लले भने– ‘प्रहरीले गाँजा फाँड्ने विषयमा भूमिका खेल्नु जरुरी छ ।’
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने स्थानीयले लगाएको आरोपको खण्डन गरेका छन् । गाउँपालिकाको सबै स्थानमा एकसाथ गाँजा फँडानी गर्न जनशक्तिको अभावका कारण सम्भव नभएको भन्दै सिंहले आफूहरुले पटक पटक गरी गाँजा फँडानीलाई निरन्तरता दिइरहेको बताए ।

‘१५ दिनअघि एउटा टोली गाँजा फँडानी गरी फर्कियो, हिजोबाट हामीले फेरि अर्को ४ वटा टोली गाँजा फँडानीको लागि खटाएका छौं ।’ सिंहले भने –‘हामीले कुनै नियतबस गाँजा फँडानी नगरेको भन्ने आरोप गलत हो, हामी विस्तारै सबैतिर गाँजा फँडानी गरिसक्छौं ।’ सशस्त्र प्रहरीको समेत सहयोग लिई गाँजा फँडानी गरिरहेको उनले बताए । यसवर्ष मकवानपुरका विभिन्न ठाउँमा करिब ३ सय बिगाहा गाँजा फँडानी गरिसकेको उनले बताए ।

आजको साझाकुरा दैनिकमा यो समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here