हेटौंडा– राजधानी र नामाकरणको विषयमा पार्टीको सचिवालयले गरेको निर्णयअनुसार नेकपाका प्रदेश ३ का सांसद्हरु अगाडि बढ्ने भएका छन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभा बैठकको पहिलो दिनमा काभ्रेको पक्षमा सांसदरु उभिएका थिए भने शनिबार अधिकांश सांसद्हरुले पार्टीको निर्णय अनुसार हेटौंडालाई नै राजधानी मानेर अगाडि बढ्नुपर्ने औंल्याएका थिए । कतिपय सांसद्हरुले बैठकमा हेटौंडा राजधानी मानेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा मन्त्रिपरिषद् नै हेरफेर गर्नुपर्ने समेत आवाज बैठकमा उठाएका छन् ।

‘भौगोलिकरुपमा पायक पर्ने स्थानमासंविधान अनुसार विधि र प्रक्रिया पूरा गरेर राजधानी तोकौं भन्ने विषयमा धेरै मत रहेको देखियो ।’, बैठकमा सहभागी एक सांसद्का अनुसार सचिवालयको निर्णयलाई मान्नुको विकल्प नभएको बताउँदै कतिपय सांसद्हरुले अब मन्त्रिपरिषद् समेत विस्तार गर्न जरुरी रहेको बताएका थिए । ‘अब मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ ।

स्थायी राजधानी हुने हो भने मुख्यमन्त्रीले सम्हालिरहेको मन्त्रालय अरुलाई जिम्मेवारी दिनुपर्छ । राज्यमन्त्री समेत बनाउनुपर्छ भन्ने केही सांसद्हरुको भनाइ रहेको छ ।’, उनले भने, ‘यसअघि अनौपचारिक रुपमा हेटौंडाको विपक्षमा लबिङ गरिरहेका मन्त्रीहरु समेत बैठकमा पार्टीको निर्णयअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिइरहेका छन् ।’ बैठकमा नुवोकाटका सांसद् बद्री मैनालीले मन्त्रिपरिषद्को विस्तारको विषयलाई बैठकमा प्रवेश गराएका थिए ।

हेटौंडामा जारी नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसद्हरुले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशन विरुद्ध नजानेमा एकमत जाहेर गरेका छन् । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै विशेष गरी काभ्रे, भक्तपुर, रसुवाका सांसद्हरुले आपत्ति जनाएका थिए । शनिबारको संसदीय दलको बैठकमा बोल्ने मकवानपुर, ललितपुर, सिन्धुली, चितवन र काठमाडौंका सांसद्हरुले पार्टी सचिवालयले गरेको निर्णयलाई स्वीकारेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘नेकपा सचिवालयको बैठकले गरेको निर्णय र निर्देशनको पालना नगर्नु भनेको पार्टी अध्यक्षद्वयको राजिनामा माग्नु सरह हो ।’, बैठकमा सांसद् प्रेमबहादुर पुलामीले विभिन्न
कारणले विरोधमा उत्रिएपनि अन्तमा सचिवालयको निर्णलाई मान्नुको विकल्प नभएकोभन्दै सोही अनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । ‘बैठक तथा अन्य मञ्चहरुमा असन्तुष्टि राख्नु र प्रदेशसभामा मतदान गर्नुमा फरक विषय हो । सबै निर्णय सबैलाई मान्य नहुन सक्छ तर पार्टीको निर्णय र निर्देशन मानेर मत प्रयोग गर्नु बाहेक अरु उपाय छैन । कम्युनिष्ट कार्यकर्ताले पार्टीको निर्णय र निर्देशन नमान्ने भन्ने कुरै हुँदैन ।’, उनले भने ।

बैठकमा नेकपाका प्रभावशाली नेता राजेन्द्र पाण्डेले पार्टीले संवैधानिकरुपमै प्रदेशसभाको अधिकारमाथि प्रहार गरेकोभन्दै उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिएको वैठकमा सहभागी एक नेताले बताए । ‘पार्टीभन्दा संविधान ठूलो हो । त्यसकारणले संविधानमाथि प्रहार गर्नुहुँदैन ।’, पाण्डेको भनाइलाई उदृत गर्दै उनले भने । बैठकमा अधिकांश सांसदले राजनीतिक हिसाब र अन्य विषयले सचिवालयको निर्णयमा चित दुखाइ भएको कारण हेटौंडालाई राजधानी कायम गर्ने निर्णयको विरोध गरेपनि अन्तमा पार्टीको निर्देशन विरुद्ध जान नसक्ने बताएका थिए । हेटौंडालाई स्थायी राजधानी बनाउने सचिवालयको निर्णयको भन्दा पनि प्रक्रिया र पद्दतीको विरोधमा धेरै सांसदहरुले बोलिरहेका छन् । शनिबारको बैठकमा २३ जनाले प्रदेशसभा सांसद्हरुले प्रदेशको राजधानी र नामाकरणको विषयमा आफ्नो मत राखेका थिए । शुक्रबारबाट सुरु भएको बैठक आइतबारपनि चल्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here