हेटौंडा–आफ्नो पार्टीका उपसभापतिलाई प्रतिशोध र बदनियतपूर्ण तरिकाले भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै त्यसको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाली विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट नाराजुलुसहित प्रदर्शन गर्दै हेटौंडाको राप्तीपुल नजिक पूर्वपश्चिम राजमार्ग अवरुद्धसमेत गरेको छ ।
काँग्रेसको भातृ संगठन महिला संघलगायतका प्रतिनिधिको सहभागितामा भएको प्रर्दशनको क्रममा करिब ४० मिनेट राजमार्ग अवरुद्ध गरिएको थियो । सत्तारुढ नेकपाका नेतालाई जोगाएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई भने मुद्दा चलाइएको भन्दै काँग्रेसको भातृ संगठनले त्यसको विरोध गरेको हो ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको छ भने सोही प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललगायतलाई कारबाहीको दायरामा नल्याएको प्रति काँग्रेस भातृ संगठनले आपत्ति जनाएको छ । घटनाको विरोधमा केही दिनयता कांग्रेस आन्दोलित छ । कांग्रेसले बिहीबारयता तीन पटक संसद् बैठकसमेत अवरोध गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here