हेटौंडा– चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा मकवानपुरको
राक्सिराङ गाउँपालिकाले सचेतनामुलक कार्यक्रम सुरु गरेको छ । चीनमा चमेरोको मासुबाट कोरोना भाइरस फैलिएको भन्ने हल्लासँगै गाउँपालिकाले चमेरोको मासु नखान र कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा जान स्थानीयलाई सचेत गराएको हो ।

सोमबार गाउँपालिकाको स्वास्थ्य शाखाले ३ नम्बर वडास्थित सरिखेतमा कोरोना भाइरसविरुद्ध स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । स्थानीय स्वास्थ्य स्वयम्सेविका, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावकलगायतको सहभागितामा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । सरिखेतमा रहेको सूर्योदय माविका व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रदिप पौडेलले कोरोना भाइरसको लक्षण, भाइरसबाट बच्ने उपाय र भाइरसको कारण चीनमा भइरहेको महामारीको अवस्थाबारे सहभागीलाई जानकारी गराएका थिए । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत अविनाश बानियाँले सहभागीलाई मास्कको उपयोगिता र त्यसको सही प्रयोगबारे जानकारी दिएका थिए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संंयोजक विजय कापरी, राक्सिराङ स्वास्थ्यचौकीका प्रमुख यमप्रसाद गौतम, सरिखेत स्वास्थ्य चौकीका पद्मनाभ ढकाल, सूर्योदय माविकी विद्यालय नर्स सुवि मोक्तानलगायतको सहभागिता रहेको थियो ।

राक्सिराङ गाउँपालिकाको वडा नं ६, ७ र ८ मा अत्यधिक मात्रामा चमेरो पाइने गरेको छ । साथै सो क्षेत्रका चेपाङ समुदायले चमेरोको मासु खाने गरेकाले कोरोना भाइरसको डर हुने भन्दै मासु नखान गाउँपालिकाले सचेत गराएको हो । चेपाङ समुदायको बाहुल्य रहेको त्यस क्षेत्रमा चमेरोको शिकार गरि मासु खाने चलन परापूर्व कालदेखि नै रहेको छ । विभिन्न गुफाहरुमा बाक्लो रुपमा बस्ने र रातीको समयमा चिउरीको फूलमा आउने चमेरोलाई जालमा पारेर शिकार गर्ने कतिपय स्थानीयको पेशा नै बन्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here