हेटौंडा–७० औं प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले बुधबार बिहान ८ बजे हेटौंडाको बुद्धचोकबाट हुने प्रभातफेरीमा सहभागी हुन सबै कर्मचारी, सुरक्षा निकाय, मन्त्री, प्रदेशसभा सांसद, विभिन्न आयोग तथा विभागका पदाधिकारीलाई आमन्त्रण गरिएको थियो । प्रजातन्त्र दिवस मुल समारोह समितिका संयोजक मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललगायत कर्मचारी, तीन वटै निकायका सुरक्षाकर्मीलगायतका व्यक्तिहरु तोकिएकै समयमा उपस्थित भए । तर, प्रदेशका ६ जना मन्त्रीमध्ये ४ मन्त्री अनुपस्थित रहे भने कुनै पनि प्रदेशसभा सदस्य प्रभातफेरी तथा प्रजातन्त्र दिवस समारोहमा पाइला टेकेनन् ।

६ जना मन्त्रीमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेल सुरुदेखि नै उपस्थित थिए भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल समारोहको मध्यतिर पुगे । मञ्चमा मुख्यमन्त्री डोरमणि पौडेल र सभामुखको सानुकुमार श्रेष्ठको लागि मात्र कुर्सीको व्यवस्था गरिएको थियो । दर्शकदीर्घाको पहिलो बायाँ लाइनमा मन्त्री र दायाँ लाइनमा प्रदेशसभा सांसदको लागि कुर्सीको व्यवस्था गरिएको थियो । समारोहमा सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुया“ल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल अनुपस्थित रहे । प्रदेशका ६ मध्ये ५ जना मन्त्रीको नामसहितको कुर्सी अगाडि राखिएकोमा आर्थिक मामिला तथा योजना मन्त्रीको कुर्सी भने नराखिएपछि सहभागीहरु कानेखुसी गर्दै थिए । कर्मचारीको असावधानीका कारण आर्थिक मामिला मन्त्रीको स्थान नै राखिएको थिएन । यद्यपी उनी पनि समारोहमा सहभागी भएनन् ।

प्रदेशसभाका सांसदहरुको लागि छुट्याइएको अगाडि लाइनको कुर्सीमा कुनै पनि सांसद उपस्थित नभएपछि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी र हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा अगाडि लाइनमा बसी खाली कुर्सीको सदुपयोग गरेका थिए । सत्तारुढ दल नेकपाका मुख्यमन्त्री डोरमणि पौडेलले काम गर्न नसकेको तथा एकलौटी ढंगबाट अगाडि बढिरहेको आरोप सत्तापक्षकै सांसदले लगाइरहेका बेला प्रजातन्त्र दिवस समारोहमा मन्त्री तथा सांसद्हरु उपस्थित नहुनलाई अर्थपूर्णरुपमा हेरिएको छ । मकवानुरका सांसद समेत कार्यक्रममा सहभागी नभएपछि अनिवार्य उपस्थितिको लागि आदेश पाएका कर्मचारीहरु भने असन्तुष्ट देखिन्थे । आफूहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिने तर, नेतृत्वकर्ता नै अनुपस्थित भएपछि उनीहरु एक अर्कामा गुनासो गर्दै थिए ।

मन्त्री र सांसदहरु नै उनुपस्थित प्रजातन्त्र दिवस समारोह प्रभावकारी नभएको सभामा सहभागी राप्रपाका नेता सीताराम वर्तौलाले बताए । ‘मुलुकमा ठूलो त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र दिवस मनाउन कन्जुस्याईं भइरहेको छ । प्रजातन्त्रप्रति नेतृत्वकर्ताले नै अपनत्व ग्रहण नगर्नु दुःखको कुरा हो । नेपालमा प्रजातन्त्र दुब्लो हुँदै गएको छ ।’ वर्तौलाले प्रतिक्रिया दिँदै भने । समारोहमा राजनीतिक दलका प्रतिनिधिलाई उचित स्थानको व्यवस्थासमेत नगरिएको भन्दै उनले आपत्ति जनाए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले गरेका र अब गर्ने कामहरुको फेहरिस्त प्रस्तुत गरे । विभिन्न चरणमा भएका आन्दोलन र सहिदको योगदानका कारण मुलुक आजको अवस्थामा आइपुगेको भन्दै पौडेलले अबको एक मात्र लक्ष्य आर्थिक समृद्धिको भएको बताए । तत्काल देखिएका केही चुनौती सामाना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले सुरुङमार्ग, प्रदेश चक्रपथलगायतका योजनाहरु अघि बढाएको बताउ“दै यसले प्रदेशको समृद्धिमा टेवा पु¥याउने दावी गरे ।

‘प्रदेशले गरेका कामका परिणामहरु खोज्न टाढा जानु पर्दैन, आँगन आँगनमा यसको परिणामहरु देखिन र सुनिन थालेको छ । हामीसँग सीमित स्रात र साधनको अधिकतम उपयोग गरी आर्थिक बृद्धिदर बढाउनु पर्नेछ । यो स्रोत साधनले मात्र नपुग्ने भएकोले देश र बिदेश तथा निजी क्षेत्रको सहयोगमा यसको उपयोग गरेर मात्र लक्षित स्थानमा पुग्न सकिने छ ।’ मुख्यमन्त्री पौडेलले भने ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशले तीव्र गतिमा कानुन निर्माण गरिरहेको जानकारी गराए । छोटो समयमा धेरै कानुन बनाउन सक्नु महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो । हालसम्म प्रदेश सरकारले आठवटा संशोधनसहित ४७ वटा कानुन निर्माण गरिसकेको छ । अझै केही कानुन निर्माणको चरणमा रहेका छन् ।’ उनले भने । हेटौैडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी जार परिक्रमा गरी मुख्यमन्त्री कार्यालयमा पुगी सभामा परिणत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here