SofK;gM k|b]z;efsf] a}7sdf ;xefuL ;f+;bx? . tl:j/M ;'jf; lj8f/L÷sflGtk'/


हेटौंडा–बागमती प्रदेशका विपक्षी दलका सांसदहरुले सेक्युरियटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिशनको चलखेल भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेस खरिदको क्रममा कमिशनको कुरा गरेको अडियो प्रधानमन्त्रीले दुई महिनाअघि नै प्राप्त गर्दासमेत गुपचुप राख्नुले यस काण्डमा प्रधानमन्त्रीकोसमेत संलग्नता हुनसक्ने भन्दै छानविन गरिनुपर्ने धारणा राखेका हुन् ।

प्रदेशसभाको आइतबारको विशेष समयमा बोल्दै नेपाली काँग्रेसलगायत विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले पनि नैतिकताको आधारमा राजीनामा दिएर छानविनमा सघाउनुपर्ने धारणा राखे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले करोडौंको कमिशनको चलखेल गर्ने सञ्चारमन्त्रीले राजीनामा दिएर मात्रै चोखिन नसक्ने भन्दै निष्पक्ष छानविन गरी कारबाही गरिनुपर्ने बताइन् । ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिई भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्ने प्रधानमन्त्रीले आफ्नै मन्त्रीको भ्रष्टाचार प्रकरण सार्वजनिक भइसक्दा पनि छानविन हुन सकेको छैन ।’ उनले भनिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सरकारले प्रभावमा पार्न सक्ने भन्दै उनले यस घटनामा निष्पक्ष छानविन हुनेबारे आशंका व्यक्त गरिन् । कांग्रेस सांसद दिपेन्द्र श्रेष्ठले सरकारले संस्थागत भ्रष्टाचार गर्न उद्दत रहेको आरोप लगाए । ‘कमिशन प्रकरणमा प्रधानमन्त्री पनि जोडिएका छन् । नैतिकता हुने हो भने उहाँले राजीनामा दिनु पर्छ र छानविनमा सहयोग गर्नु पर्छ ।’ श्रेष्ठले भने । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले सरकारको इशारामा काम गरेको आरोपसमेत लगाए । ‘कसैले जग्गा फिर्ता गर्छु भनेर नै उन्मुक्ति पाउने अनि त्यही मन्त्रिपरिषद्बाट निर्णय परित गर्ने प्रधानमन्त्री भने चोखिने ? यो कसरी हुन्छ ?’ उनले भने ।


विवेकशील नेपाली दलका सांसद रमेश पौड्यालले सेक्युरियटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । कमिशन बार्गेनिङको अडियो टेपकोबारे निष्पक्ष छानविन गरिनुपर्नेमा उनले जोड दिए । ‘कमिशनको डिलिङ भएको अडियो प्रधानमन्त्री समक्ष २ महिना अघि नै पुगेको थियो, त्यति नै बेला प्रधानमन्त्रीले एक्सन लिनु पथ्र्यो, तर, उहाँले गुपचुप नै राख्नुभयो, नैतिकताको सियो अब प्रधानमन्त्रीतर्फ सोझिएको छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ ।’ उनले भने । काँग्रेस सांसद नरोत्तम बैद्यले पनि यस प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको दावी गर्दै छानविन गरी दोषी जोकोही भए पनि छाड्न नहुने बताए ।

विशेष समयमा बोल्दे नेकपाका सांसदहरुले भने सेक्युरियटी प्रेस खरिद प्रक्रियामा भएको कमिशन प्रकरणको बचाउ गरे । नेकपा सांसद दीपक निरौलाले सरकारले यसमा निष्पक्ष छानविन गरिरहेको भन्दै कसैले पनि अनावश्यक तर्क गर्न नहुने बताए । ‘प्रविधिको विकाससँगै धेरै नसोचेका कुराहरु भएका हुनसक्छन् । नेपालमा अरुको आवाज दुरुस्तै निकाल्ने कलाकारहरु पनि छन् । हामीले यतातर्फ पनि सोच्नु पर्छ । आवाजको आधाकारिकता पनि परीक्षण हुनु जरुरी छ ।’ उनले भने । सञ्चारमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु प्रशंसनीय भएको उनले बताए । सांसद केशवराज पाण्डेले भने यस प्रकरणमा बास्कोटाको संलग्नता नरहेको दावी गरे । यस विषयमा भइरहेको छानविनले निष्पक्ष परिणाम आउने उनले विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here