हेटौंडा–१६ स्थित हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) नेपाल सरकारले छनौट गरेको एक नमूना विद्यालय हो । २०७१ सालदेखि नमूना विद्यालयको मापदण्डलाई पूरा गर्दै विद्यालयले शैक्षिक ज्ञान प्रदान गर्दै आइरहेको छ । सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर कमजोर रहेको भन्दै निजी विद्यालयमा महङ्गो शुल्क तिरेर विद्यार्थी भर्ना गर्ने चलन वर्षौंदेखि चलिरहेको छ । तर, समय बदलिएको छ । सामुदायिक विद्यालयहरुको पनि शैक्षिक गुणस्तर सुधारोन्मुख छ । अब विद्यार्थीहरु निजीबाट सामुदायिक विद्यालयतिर सर्दैछन् । जनप्रिय माविमा पनि गत वर्ष ३ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भए । त्यसमा पनि अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका थिए । यस वर्ष पनि नयाँ शैक्षिकसत्र सुरु हुनै लागेको छ । यसै सन्दर्भमा विद्यालयको गतिविधि, नयाँ शैक्षिक सत्रको तयारी, शैक्षिक गुणस्तर बढाउन आगामी योजनालगायतको विषयमा केन्द्रित भएर जनप्रिय माविका प्रधानाध्याक नमराज अर्यालसँग गरिएको कुराकानीको सारः

जनप्रिय माध्यमिक विद्यालयले गरिरहेका गतिविधिहरुको बारेमा जानकारी गराइदिनुस् न ।

जनप्रिय माध्यमिक विद्यालय हेटौंडा–१६ मा अवस्थित नमूना विद्यालय हो । नमूना विद्यालयको रुपमा छनौट भई भौतिक पूर्वाधार निर्माण भई हामीलाई हस्तान्तरण पनि भइसकेको अवस्था छ । हामी नयाँ भवनमा कक्षा सञ्चालन गरिरहेको अवस्थामा छौं । र जनप्रियले हाल विविध क्रियाकलापहरु गरिरहेको छ ।

सर्वप्रथम त जनप्रियले क्यालेन्डर निर्माण गरेको छ । क्यालेन्डरमा वर्षभरीको सबै क्रियाकलापहरुको विस्तृत विवरण उल्लेख गरिएको छ । जसमा हामी प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप आयोजना गर्छौं । उत्कृष्ट हुनेलाई पुरस्कृतसमेत गर्छाैं । बालबालिकाको क्षमता प्रस्फुटन गराउने उद्देश्यले त्रैमासिक पत्रिका तथा भित्तेपत्रिका पनि प्रकाशन गरिरहेका छौं । आमा भेलाको आयोजना पनि वर्षभरी नै गर्छौं । नतिजा प्रकाशन गर्ने क्रममा अभिभावकको सहभागितामा पृष्ठपोषण दिने गर्छाैं । विद्यालयले शैक्षिक सामाग्री निर्माणमा जोड दिइरहेको छ । शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउनको लागि शैक्षिक सामाग्री महत्वपूर्ण हुन्छ । साथै विद्यालयले सामाजिक संग्राहलयहरु निर्माण गर्ने क्रममा छ ।

हाल विद्यालयमा साइन्स ल्याब, कम्प्युटर ल्याबको स्थापना गरिएको छ। विद्यालयले प्रत्येक वर्ष सर्वोत्कृष्ट विद्यार्थी, उत्कृष्ट मनिटर, उत्कृष्ट अभिभावक छनौट गरी पुरस्कृत गर्ने गरेको छ । शैक्षिक क्रियाकलाप प्रभावकारी बनाउनको लागि विभागीय प्रमुखको पनि जिम्मेवारी तोकिएको छ । विषयत समितिको पनि निर्माण गरेका छौं । कक्षा मनिटरलाई सक्रिय बनाउने र कक्षा खाली हुँदा त्यसलाई व्यवस्थित गर्ने जिम्मा मनिटरलाई दिएका छौं । विद्यार्थीलाई लाइन बस्दा हामी दैनिक ७ वटा प्रतिवद्धता गराई कार्यान्वयन गराउँछौं । बाल क्लव पनि गठन गरिएको छ । क्लवलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील गराउँछौं । विद्यार्थीलाई बढी स्थलगत भ्रमण गराई व्यवहारिक शिक्षा प्रदान गर्ने काममा जनप्रिय लागिरहेको छ ।


तहगत रुपमा विद्यार्थीको संख्या कस्तो अवस्थामा रहेको छ ? सामुदायिक विद्यालयमा तल्लो तहमा निकै न्यून विद्यार्थी हुने समस्या छ नि ।

हाम्रो विद्यालयमा विद्यार्थी संख्या बढ्ने क्रममा रहेको छ । विगत ३ वर्षको डाटा हेर्दा ३ वर्ष अगाडिको र अहिलेको अनुपात निकै बढी भएको छ । गत वर्ष मात्र ३ सय विद्यार्थी यस विद्यालयमा भर्ना भएका थिए । अब नयाँ शैक्षिक सत्र सुरु हुने बेला भएको छ । यसपाला अझ दोब्बरमा मात्रामा विद्यार्थीको संख्या बढ्ने अनुमान गरेका छौं । विद्यार्थीको संख्या विगतदेखि नै बढिरहेको र तल्लो तहमा पनि धेरै नै विद्यार्थीको चचाप बढिरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अवस्था छाताजस्तो देखिने गरिएकोमा त्यसबाट भने हामी मुक्त भएका छौं ।


२०७१ सालदेखि यो विद्यालय नमूना विद्यालयको रुपमा छनौट भएको थियो । नमूना विद्यालयको मापदण्डअनुसार केकस्ता नयाँ कामहरु भए ?
नमूना विद्यालय भएपछि निष्चय नै यसले शैक्षिक नेतृत्व लिनुपर्छ भन्ने नेपाल सरकारको योजना हो । त्यसैक्रममा यस विद्यालयले हटिया भेगको शैक्षिक नेतृत्व लिइरहेको छ । र अब भविष्यमा जिल्लाकै शैक्षिक नेतृत्व लिएर राष्ट्रकै एउटा राम्रो नमूना विद्यालय हुने क्रममा छ । यस क्रममा हामीले नमूनाको निर्देशिका अनुरुप काम गरिरहेका छौं । विद्यार्थीहरुलाई सक्रिय गराई जिम्मेवारी दिने, विभिन्न क्लवहरु निर्माण गर्ने, स्थलगत अवलोकन तथा परियोजना कार्यलाई जोड दिने कुराहरु चाहिँ नमूनाको अवधारणामा छ । यसलाई हामीले निरन्तरता दिँदै आएका छौं ।

यसैगरी भौतिकरुपमा विभिन्न कक्षाहरु निर्माण गरी विद्यालय अघि बढिरहेको छ । र नमूनाको निर्देशिकामा बस सञ्चालनको कुरा जोडिएको छ । जनप्रियले बस सञ्चालनको पनि योजना बनाइरहेको छ । त्यसको अतिरिक्त शिक्षकलाई तालिम दिने योजना पनि निर्देशिकामा छ । जनप्रियले त्यसलाई पनि आत्मसात गरिरहेको छ । नमूना विद्यालयमा विभिन्न विषयहरुको अप्सन पनि हुनुपर्छ भन्ने निर्देशिकामा उल्लेख भएअनुसार विद्यालयमा ९ देखि १२ कक्षासम्म प्राविधिक विषय पढाई गरिरहेका छौं । साथै नेपाली र अंग्रेजी दुवै माध्यममा पनि शिक्षा दिइरहेका छौं ।
नयाँ शैक्षिक सत्र सुरु हुने बेला भएको छ । धेरै अभिभावक र विद्यार्थीहरुको
रोजाई निजी विद्यालय हुने गरेको छ । यस्तो अवस्थामा आफ्नो विद्यालयमा विद्यार्थी आकर्षित गर्न तपाईहरुले के कस्ता योजना बनाउनु भएको छ ?

हामीप्रति अभिभावकको विश्वास बढ्दै गइरहेको हामीले पाएका छौं । यसैअनुरुप आगामी शैक्षिक शत्रमा विद्यार्थी संख्या बढ्ने निश्चित प्राय छ । हामीले गत वर्ष प्रवेश परीक्षा लिएर मात्रै भर्ना गरेका थियौं । यस वर्ष प्रवेश परीक्षाको व्यवस्थालाई अझ व्यवस्थित रुपले अघि बढाउनेछौं । अबको वर्ष हामीले क्रियशन हाउसको योजनामा छौं ।

प्रत्येक विद्यार्थीभित्र अन्तरनिहित भएको प्रतिभालाई उजागर गर्ने काममा यो क्रियशन हाउस सक्रिय रुपमा लागिपर्नेछ । साथै हामीले साहित्यिक कार्यशाला सम्बन्धी योजना पनि बनाएका छौं । नाम चलेका साहित्यकारहरुको सहयोगमा साहित्य लेखनशैलीको विकास गर्ने योजनामा छौं ।
त्यसैगरी बस सञ्चालनको पनि योजना छ । नयाँ विद्यार्थी भर्नाको लागि के कसरी प्रभावकारी बनाउन सकिन्छ त्यो अभियानमा हामी जुटेका छौं । यसका साथै हामीले यसैवर्ष सेलिब्रेटी ल्याएर मोटिभेसनल ट्रेनिङ पनि दिएका थियौं । त्यो कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिनेछौं ।


विद्यालयका समस्या र चुनौतीहरुको विषय पनि राखिदिनूस् न ।

अब जनप्रिय निश्चय नै धेरै विषयहरु पढाई हुन्छ । ती विषयहरु समन्वय गरी अगाडि बढ्ने एउटा चुनौतीको विषय छ । त्यसैगरी अंग्रेजी माध्यमप्रति अभिभावकहरुको धेरै चासो छ । त्यसलाई राम्ररी सम्बोधन गरेर अगाडि बढ्नमा अर्को चुनौती रहेको हामीले महसुस गरेका छौं । त्यस्तै नेपाली विषय पनि क्रमशः कमजोर हुँदै गएको देखिन्छ । त्यसलाई सबलीकरण गरी अघि बढ्नु पनि हाम्रो लागि चुनौती हो । यसको अतिरिक्त सिकाई उपलब्धीलाई अझ राम्रो बनाई उत्कृष्ट विद्यालय बनाउनु हाम्रो मुख्य चुनौती र लक्ष्य पनि हो । यसको अलवा शिक्षकहरुलाई हामीले अझ धेरै उत्प्रेरित गर्नुपर्ने देखेका छौं । शिक्षकको सबीलकरण गरी अघि बढाउनु तथा अभिभावकको दायित्व र जिम्मेवारी गराउनु पनि अर्को चुनौतीपूर्ण विषय हो । र विभिन्न निजी शैक्षिक संस्थासँग स्वस्थ्य प्रतिस्पर्धा गर्दै अघि बढ्ने यस जनप्रिय माविको अर्को चुनौती हो ।

६. प्राविधिक धारतर्फको अवस्थाबारे पनि बताइदिनूस् न ?

प्राविधिक धारतर्फ हामीले कक्षा ९ देखि १२ कक्षासम्म बाली विज्ञानको पढाई गरिरहेका छौं । यसतर्फ अभिभावकहरुमा सचेतनाको कमी भएर हो कि निकै राम्रो आकर्षण पनि छैन त्यस्तो धेरै नराम्रो अवस्था पनि होइन । मध्यम किसिमको आकर्षण देखिन्छ । बाली विज्ञान विषय आफैंमा महत्वपूर्ण प्राविधिक विषय हो । नेपालमा मात्रै नभएर सबैतिर धेरै सम्भावना भएको विषय हो । र यो विषय आफैंमा राम्रो हुँदा हुँदै पनि विद्यार्थीलाई कसरी आकर्षित गर्ने भन्ने हाम्रो चुनौतीको विषय हो ।
७.अन्त्यमा विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?

विद्यार्थी भाईबहिनी हरुलाई म के भन्न चाहन्छु भने, जनप्रियले जे–जस्तो शैक्षिक गतिविधि गरिरहेको छ, त्यसलाई महसुस गर्दै सक्रियरुपले सहभागी हुनुप¥यो । विद्यालयमा केही कमीकमजोरी देखिएको छ भने विद्यार्थीहरुले स्वस्थ तरिकाले त्यसलाई आलोचना गर्दै रचनात्मक सुझाव दिएर अघि बढ्नको लागि म अनुरोध गर्दछु । साथै अभिभावकज्यू हरुलाई पनि पहिलाको जनप्रिय र अहिलेको जनप्रियमा के फरक छ त्यो हेर्नको लागि नजिक आएर जनप्रियलाई बुझ्नको लागि पनि म अनुरोध गर्न चाहन्छु । साथै सरोकारवाला सबैलाई जनप्रियको योजना, गतिविधि र जनप्रियको अवस्थाबारे अवलोकन गरी रचनात्मक सुझाव दिन म
अनुरोध गर्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here