हेटौंडा– लकडाउनको अवस्थामा देशका विभिन्न संयन्त्रहरु निष्क्रिय भईरहेको समयमा पनि बागमती प्रदेश सभाका विभिन्न संसदीय समितिहरुको बैठक संचालन भईरहेका छन् ।

कोरोना भाईरसका कारण सरकारले देशभर लकडाउन गरिरहेको सन्दर्भमा बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिको बैठक मंगलबार भिडियो कन्फ्रेन्स मार्फत भएको छ । लकडाउनको समयमा आफ्नो गृह जिल्ला तथा निर्वाचन क्षेत्रमा रहनुभएका सदस्यहरुबिच ईन्टरनेटको माध्यमबाट भएको बैठकमा हाल कोरोनाको कारण उत्पन्न समस्या तथा यसबाट पर्न गएको चौतर्फी असरलाई सम्बोधन गर्न प्रदेश सरकारको भुमिकाका विषयमा साँसदहरुले धारणा राखेका थिए ।

हाल लकडाउनले गर्दा जनताको दैनिकिमा समस्या परेको समयमा प्रदेश सरकारमार्फत वितरण हुने राहत , प्रदेश सरकारको उपस्थिति , आउदोँ आर्थिक वर्षको बजेट तथा हाल देशमा भईरहेको समस्याले निम्त्याउने अर्थ संकटलाई सम्बोधन गर्न तर्जुमा हुने कार्यक्रम लगायतको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । समितिका सभापति सरेश नेपालको अध्यक्षतामा भएको कन्फ्रेन्स बैठकमा समितिका सदस्यहरु , आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल ,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुकुन्दप्रसाद पौडेल, बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ लगायतको भिडियो कन्फ्रेन्समा सहभागिता रहेको थियो ।

यसैबिच बैठकमा उठेका विषयहरुमा जवाफ दिनुहुदैँ मन्त्री ढुङ्गेलले सरकारले कोरोनाको रोकथाम र नियन्त्रण तथा लकडाउनले प्रभावित जनसमुदायलाई राहत वितरणमा प्रदेश सरकार सक्रिय रहेको बताए ।

सरकारसँग पुजिँको अभाव नरहेकाले आउने जुनसुकै परिस्थितिको सामनाको लागि पनि बागमती प्रदेश सरकार तयार रहेको बताए । अबको बजेटमा कृषिलाई विशेष जोड दिईने र जनतालाई उत्पादन सँग जोड्ने किसिमको बजेट आउने भएकाले अबको बजेट गत वर्षहरुको भन्दा फरक बजेट प्रस्तुत हुने बताए ।

यसैबिच बागमती प्रदेश सभामा आईतबार कृषि तथा वातावरण समिति , सोमबार उद्योग पर्यटन वन तथा वातावरण समिति र प्रदेश मामिला समितिको बैठक भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको प्रदेश सभा बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here