विशाल अधिकारी

विश्व अहिले कोरोना कहरबाट प्रताडित भईरहेको अबस्थामा त्यसबाट नेपाल अछुतो रहन सकेको छैन तथापी नेपालमा दैनन्दिन कोरोना संक्रमितको संख्या बढेता पनि बिसेक हुनेको संख्या पनि बढ्दै गएको पाईन्छ र विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई अतिउच्च जोखिमपुर्ण राष्ट्रको सुचीबाट उच्च जोखिमको सुचीमा झारेको छ ।

यसबाट देशमा स्वास्थ्यको अबस्था साह्रै चिन्ताजनक नदेखिएता पनि शतर्कता, उच्च मनोबल र सामाजिक दुरी भने अपरिहार्य रहेको प्रष्ट छ । यो कहरको प्रत्यक्ष र परोक्ष असरबाट पर्यटन, शिक्षा उद्द्योग, बाणिज्य,यातायातलगायत कुनै पनि क्षेत्र अछुतो रहन सकेको छैन । यी बिबिध पक्षहरु मध्ये बिशेष तह शिक्षा क्षेत्रमा पर्ने असरले दीर्घकालीन प्रभाब राख्ने निश्चित छ ।

बैशाख १५ गतेसम्म भर्ना अभियान कार्यक्रम चलाई बिद्यार्थीहरुको नियमित पठनपाठन सुरु गर्नुपर्ने ब्यबस्थामा अभ्यस्त भइसकेका शिक्षकहरुमा बैकल्पिक विधि प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप सुचारु गर्नुपर्ने बिषयमा खैलाबैला सुरु भईसकेको छ तर अनेकौ चुनौतिहरुको सामना गर्नुपर्ने यथार्थ पनि उत्तिकै छ । ठाउँ ,परिबेश र चेतनास्तरअनुसार संस्थाको प्रकारका एकै भए पपनि, समस्या र यसको प्रवृत्ति भने फरक हुनसक्ने बास्तबिकतालाई आत्मसाथ गर्दै सामुदायिक र निजी बिद्यालयहरुका बर्तमानका चुनौतीहरुलाई केलाउने प्रयास गरिएको छ ।

निजी विद्यालयका चुनौतिहरुः
सरकारले चैत्र महिनाको मासिक शुल्क नलिन आग्रह गरिसकेको तर अधिकांश निजी बिद्यालयहरुले चैत्र महिनाको शुल्क लिईसकेको अबस्था छ । सजिलै कक्षा सुचारु हुने अबस्था छैन ।

चैत्र महिनामा शुल्क तिरिसकेका अभिभावकहरुले नयाँ शैक्षिक शत्रमा तिरिसकिएको एक महिनाको शुल्क र आफ्ना छोराछोरी बिद्यालय नगएको समयको शुल्क मिनाहाको माग गर्ने सत्य संभावना नजिकै छ । लिजमा जग्गा लिई संचालन गरिएका विद्यालयहरुको भाडा,भवन निर्माण र बिद्यार्थी बोक्ने गाडिका माशिक किस्ताहरु र आफ्ना शिक्षकहरुलाई मासिक पारिश्रमिक प्रदान गर्नु सबै भन्दा ठूला चुनौतीहरु हुन् ।

यति धेरै समस्याका घाउहरुमा मलम पट्टी लगाउने प्रयत्न स्वरुप केही आर्थिक रुपमा सबल बिद्यालयहरुले अनलाईन शिक्षालाई यो संक्रमणकालको निर्बिकल्प बिकल्पको रुपमा प्रयोग गर्न थालिसकेका छन् भने केही सोही अनुसारको सिको गर्दैछन । सामुदायिक बिद्यालयमा भन्दा बढी प्रबिधीमैत्री शिक्षक र बिद्यार्थीहरु भएता पनि सबै बिद्यार्थीमा प्रबिधीको पहुँच भएको पक्कापक्की भने निजी बिद्यालयहरुले गर्न सकेका छैनन् ।

सामुदायिक विद्यालयका चुनौतीहरुः
देशभर बन्दाबन्दिको अबस्था छ । परीक्षाफल प्रकाशित हुन सकेको छैन । बार्षिक परीक्षा पछि घर फर्केका अधिकांश शिक्षकहरु कार्यक्षेत्र फर्कन सक्ने अबस्था छैन । धेरैजसो सामुदायिक बिद्यालयहरु क्वारेन्टाइन र आईसोलेसन वार्डमा परिणत भएका छन् । बन्दाबन्दी तुरुन्तै खुल्ने अबस्थामा छैन ।

यो कहर तुरुन्त कम भए पनि कम्तिमा असार अघि बिद्यालय संचालन हुने संभावना न्यून छ र बिद्यालय खुल्ने बित्तिकै आफ्ना नानीबाबुहरुलाई बिद्यालय पठाईहल्ने मनस्थितिमा अभिभावक ज्युहरु हुनुहुन्न । निजी बिद्यालयमा जस्तो मासिक शुल्क उठाउने बढाउने घटाउने ,बैंक मासिक किस्ता, आफ्ना शिक्षकहरुको रोजगारी सुरक्षा लगाएतका समस्या तथा चुनौतिहरु सामुदायिक बिद्यालयमा पक्कै केही कम छन् तर जति छन् फरक प्रकृतिका छन् ।

सामाजिक दुरि कायम गर्नुपर्ने अबस्थामा शिक्षाको सबैभन्दा उत्तम बिकल्प प्रबिधीमैत्री सिकाई नै हो तर बिनापुर्ब तयारी अहिलेको अबस्थामा सामुदायिक बिद्यालयमा यसो सोच्नु कल्पना मात्र हुनजान्छ ।सरकारबाट बितरण गरिएका राहत प्राप्त गर्नेको पारिवारिक बिबरण पनि लिने हो भने ९० प्रतिशत भन्दा बढिका नानीबाबुहरु सामुदायिक बिद्यालयमा अध्ययन गर्ने ग्यारेन्टी गर्न सकिन्छ । त्यसैले अहिलेको आबश्यकता चामल हो कि एण्ड्रोईड फोन र ल्याप्टप हो । दाल हो कि संजाल हो ।

गम्भीरता पुर्बक सोच्ने हो भने मथिङ्गल हल्लछ र आँखामा सागर भरिन्छ । बिद्यार्थीमात्रै हैनन, समस्या सामुदायिक बिद्यालयका शिक्षकहरुमा पनि छ । चुनौती उनीहरुको क्षमतामा छ । के सबै शिक्षकहरुलाई फेसबुक बाहेक सर्च ईन्जिन, अफिस प्याकेज , शिक्षा सम्बन्धी वेबसाईट, प्रेजेन्टेसन र प्रोजेक्सन सम्बन्धी ज्ञान छ । यी प्रतिनिधि मुलक प्रश्नहरुले नै पसिना छुटाउने यो कटु यथार्थको अवस्थामा सामुदायिक बिद्यालयमा प्रबिधी मैत्री शिक्षाको सान्दर्भिकता अध्ययन गर्ने अधिकार सम्बन्धित सबैमा सुरक्षित छ ।

पछिल्ला समयमा बिकशित घटनाक्रमहरु अध्ययन गर्ने हो भने सजिलोमा नेपालको संबिधानको अनुसुची ९ बमोजिमको अधिकारको प्रयोग गर्दै शिक्षा सम्बन्धी निर्णय संघीय सरकारले गर्ने र अप्ठेरोमा अनुसुची ८ बमोजिम शिक्षाको अधिकार स्थानीय सरकारको रहेको भन्न पछि नपर्ने यो द्वेध चरित्रधारी सरकार शैक्षिक समन्वयको पाटोमा कमजोर देखिएको छ । तसर्थ अब तिनै प्रकारका सरकारबिचको शिघ्र समन्वयबाट उपयुक्त बिकल्प अबलम्बन गरी शिक्षा क्षेत्र अघि बढाउनु आजको आबश्यकता हो ।
(लेखक हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति मा.बि.का शिक्षक हुन् । याे उनकाे निजी विचार हाे । यसमा कुनै संस्थागत संलग्नता छैन । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here