हेटौंडा– झरना साहित्यिक परिवार मकवानपुरले नियमित साहित्य शृङ्खलालाई अनलाइनमार्फत निरन्तरता दिएको छ । झरनाले मंगलबार २५२ औं साहित्य शृङ्खलालाई जुम एपमार्फत् अनलाइन छन्द कविता प्रशिक्षणको रुपमा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष दीपक गौतमको कार्यक्रम संयोजन एवम् साहित्यकार राम अविकासको प्रविधि संयोजनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख एवम् छन्द पुनर्जागरणका अभियन्ता डा. देवी नेपालले छन्दको प्रशिक्षण दिएका थिए । डा. नेपालले शास्त्रीय छन्दअन्तर्गत लघु (ह्रस्व) र गुरु (दीर्घ) वर्णबारे जानकारी गराउनुका साथै गणविन्यासबारे अभ्याससहित जानकारी गराउँदै बहुप्रचलित छन्दहरू भुजङ्गप्रयात र शार्दूलविक्रीडित छन्द लेखनको प्रशिक्षण र अभ्यास गराएका थिए ।

कार्यक्रममा मकवानपुर तथा विभिन्न जिल्लाका साथै सिक्किम, कलकत्ता, इजरायल तथा अमेरिकासम्मका गरी ८० जना साहित्य सर्जकहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यालय तहदेखि क्याम्पस तह तथा स्थापित सर्जकहरूको समेत अनलाइनमार्फत सहभागिता रहेको कार्यक्रम प्रभावकारी बनेको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले बताए ।

विश्वव्यापी कोरोना महामारीको समयमा पनि नियमित मासिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै प्रतिकूलताका बीच अनुकूलताको खोजी गरिएको झरनाका अध्यक्ष दीपक जिज्ञासुले बताए । झरना साहित्यिक परिवारले यसअघिको २५१ औं साहित्य शृङ्खलालाई पनि गत चैतमा फेसबुक लाइभमार्फत् गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here