३ वटा वडाध्यक्षलाई छवि अनित्यको यस्तो पत्र
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण यतिबेला नेपालमा पनि लकडाउनमा छ । लकडाउनको समयमा भइरहेको शंकास्पद गतिविधि नियन्त्रण गर्न हेटौंडा–१७ निवासी छविलाल श्रेष्ठले हेटौंडाको हटिया, हर्नामाडीबासीको सुरक्षाको लागि हेटौंडाको १६, १७ र १८ नम्बर वडाध्यक्षहरुलाई यस्तो खुला पत्र लेखेका छन् ।

श्री हेटौंडा उपमहानगरपालिका १६, १७ र १८ नम्बर वडाअध्यक्षज्यूहरु,
==================
पछिल्लो समय साविक हटिया–हर्नामाडी क्षेत्रमा कोरोना संक्रमण फैलन सक्ने किसिमले संकास्पद गतिविधिहरु बढ्दै गइरहेको र स्थानीयमा त्रासको वातावरण सिर्जना हुन गएकाले तपशिलका गतिविधिलाई पूर्णरुपमा नियन्त्रण गरी पर्याप्त सावधानी अपनाउने वातावरण सिर्जना गर्नका लागि स्थानीय निकायबाट तत्काल ठोस निर्णय गर्नुहुन अनुरोध छ ।
#१. हटियास्थित शिवम् शिमेन्ट्स् तत्काल बन्द गराउनुहुन साथै उद्योगको कच्चा पदार्थ आपूर्तिका नाममा पर्सा हुँदै भारतबाट आइरहेका सवारीसाधनको प्रवेश निषेधका लागि तत्काल व्यवस्था गर्नुहुन र पछिल्लो समय लकडाउन खुकुलो भएको समयमा भित्रिएका सबै मजदूरहरुलाई तत्काल परीक्षणको आवश्यक प्रबन्ध गर्नुहुन ।
#२. धरान—चतरा मार्ग लगायत विभिन्न निर्माण क्षेत्रका मजदूरहरु लकडाउनकै अवधिमा आआफ्ना घर पुगी फेरि फर्केको र उनीहरुबाट जोखिम बढिरहेको अवस्थामा सबै किसिमका निर्माण कार्य तत्काल बन्द गराई सम्बन्धित क्षेत्रका बाहिरबाट आएका मजदूरहरुलाई समुदायसँग घुलमिल हुन नदिने वातावरण तत्काल बनाउनुहुन ।

#३. लकडाउनका बीचमा समेत यस क्षेत्रका मदिराजन्य साना होटल तथा भट्टिहरु निर्बाध रुपमा चलिरहेको अवस्थामा स्थानीयसँगको सहकार्यमा त्यस्ता होटल तथा भट्टिहरुमा हुने सम्पूर्ण गतिविधिमा तत्काल रोक लगाउनुहुन ।
#४. लकडाउनको बीचमा काठमाण्डौ लगायत देशका विभिन्न भूभागबाट आएका व्यक्तिहरुको लगत लिई उनीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था तत्काल मिलाउनुहुन ।
#५. सुरक्षा निकायबाट भइरहेको अनुगमनलाई मूलसडकमा मात्र नभई भित्रि शाखा बाटोहरुमा पनि नियमित गर्नका लागि आवश्यक निर्देशन दिनुहुन ।
#६. देशव्यापी रुपमा संक्रमणको जोखिम बढिरहेको अवस्थामा विभिन्न विद्यालयहरुले स्थानीय स्तरमा गरिरहेका घरदैलो तथा मिनिकक्षा संचालनका सन्दर्भमा यथोचित सम्बोधन गर्नुहुन ।

#७. अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बिक्रिवितरण गर्ने किराना तथा तरकारी व्यवसायीहरुबाट पर्याप्त सावधानी अपनाइएको नपाइएकाले यससम्बन्धमा ठोस कार्यक्रम सन्चालन गर्ने व्यवस्था गर्नुहुन ।
स्वास्थ्य रहे जनता रहन्छन्, जनता रहे भोट रहन्छ ।
धन्यवाद !

छविलाल श्रेष्ठ, हेटौंडा—१७, हटिया
२ जेठ २०७७

(हाम्रा वडाअध्यक्षज्यूहरु सामाजिक सञ्जालमा उति सक्रिय नरहनुभएकाले वरपरकाले यो सन्देश उहाँहरुसम्म पु¥याइदिन सहयोग गर्नुहोला ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here