– कृष्ण समर्पण
शाब्दिक रुपमा आधुनिकताले विचार, व्यबहार एवम् कर्ममा ल्याइएको नविनता, विकास एवम् उत्कृष्टता हो भन्ने वुझिन्छ । विगतका कतिपय पुरातन विचार, काम एवम शैलीमा समयसापेक्ष ल्याईने सुधार, सकारात्मक परिवर्तन एवम थप उत्कृष्टता नै आधुनिकता हो भन्दा खासै फरक पर्दैन । विशेषगरी आधुनिकतामा नयाँ खोज, अनुसन्धान एवम अन्वेषण , यान्त्रिक एवम् संशाधनको विकास र प्रयोग, प्रविधिको नयाँपन र विचारको समष्टिगत सहायताले ठूलो प्रभाव पारेका हुन्छन् । मानव जातिको विकास क्रम संगै आधुनिकता पनि क्रमश विकसित हुँदै आएको विदितै छ, ढुंगे युग देखि वर्तमानको सुचना एवम् प्रविधिको युग सम्म आइपुग्दा त्यसैअनुरूप मानव जातिको सोच, व्यवहार , कार्यशैली र पद्धतिमा निरन्तर परिवर्तन आइरहेको पाईन्छ।

आधुनिकताको सन्दर्भमा धेरैको फरकफरक मत रहेको छ, कतिले प्रविधि एवम यान्त्रिक विकासले दिएको सुविधा र सहजताले प्रदत्त गरेको सरलता र उत्कृष्टतालाई आधुनिकताको नाम दिएका छन् भने कतिले मानव जातिको विचारमा आएको उन्नत विचार र सोंच एवम सोही अनुसारको पद्धति लाई आधुनिकता भनेर बुझ्दछन् । अझै कतिले त वर्तमानको प्रविधि र यसको ऐतिहासिक विकासको बाढिलाई आधुनिकताको परिभाषा भित्र समावेश गरेका छन्। तर सबैका परिभाषामा केही न केही आधुनिकताको मर्म पर्दछ पनि ।

हालसालको समाज र यसको प्रतिनिधित्व गरेको विचार, उन्नत प्राविधिक विकास र यसले प्रदान गरेको समग्र प्रभावको एकमुष्ठ रुप आधुनिकता भित्र भने पक्कै पर्दछ । यसभित्र यान्त्रिक विकास, सोंच र शैलीमा हुने उन्नत परिवर्तन र कदम पर्दछन् । इतिहासले हाम्रा यी परिभाषाहरुलाई बारम्बार पुनर्विचार गर्ने स्थितिमा पुर्याएको छ। इतिहासले दिन खोजेको मर्म हामीले कति बुझ्न सक्यौं सकेनौं यो छुट्टै प्रश्न हो ।

विशेष गरि मानव जाति सामाजिक एवम् विवेकशील प्राणी भएको हिसाबले विगत समयमा प्रविधि, सोच एवम् कार्य पद्धतिमा के कस्ता उन्नत तथा थप नयाँ परिस्कृत परिवर्तनको आवश्यक पर्यो र सोही अनुसार परिस्कार र विकास गरि मानव जीवन सरल, सहज र उन्नत बनाउन सकियो कि सकिएन भन्ने विषय आधुनिक बन्न हरपल प्रयत्नशील रहने मानव जातिले बुझेको हुनुपर्छ । आजको विश्व परिवेशले पनि आधुनिकतालाई प्रविधिको चरम विकास, बैज्ञानिक अन्वेषण र खोज तथा भौतिक सुविधा र यसका सहजतालाई नै आधुनिकता भित्र राखेको हुनाले पुर्विय ध्रुवका मुलुक भन्दा पश्चिमी मुलुकहरु आधुनिक छन् भनेर व्याख्या गरिएका छन् ।

कुन दृष्टिले हेरिन्छ ,विषय सोही तवरबाट मुल्यांकन पनि गरिएको हुन सक्छ ।
विशेष गरी भौतिक सेवा सुविधा, पुर्वाधारको विकास, प्रविधिको कम विकास एवम् वैज्ञानिक ज्ञानको सापेक्षतामा बढि विकास नहुनाले नेपाल लगायत दक्षिण एसियाली मुलुकमा आधुनिकता बढि आशा गरिएको गन्तव्य बनेको छ, हुनत अरु विकसित मुलुक पनि अझै प्राप्तिको पथमै तल्लीन छन् । प्राप्तिको मात्रै आशा राख्ने तर प्राप्त भएपछिको त्यसको उपादयेता र मुल उद्देश्य पहिल्याउन नसक्दा प्रविधि र यसको विकासले आधुनिकतामा पुर्‍याउन सक्छ जस्तो देखिन्न ।

एकअर्कामा द्वेष , ईर्ष्या, रागले आधुनिकताका नाममा विनाशको वाटो देखाएका कैयौं उदाहरण छन् । एक अर्कोलाई सिध्याएरै भएपनि अगि बढने, आफ्नो प्रभुत्व कायम गराउने, विकासको नाममा प्रविधिको अधिकतम् प्रयोग गर्ने र त्यसले अर्को समुदायमा पारेको नकारात्मक प्रभावको हेक्का नराख्नु आधुनिकता नै भनेर बुझिएको छ कि जस्तो लाग्छ। आधुनिकतालाई पृथकताबादको रूपमा पो बुझिएको हो कि, मानव जातिको समग्र हित र भलाइ भन्दा पनि क्षेत्रगत उन्नति गर्ने होडबाजी गर्ने त्यसको लागि विनाशकारी कदम समेत चाल्न पछि नपर्ने कुराले आधुनिकतालाई कति न्याय गरेको छ .

प्रविधिको प्रयोग कुनै स्पष्ट र उत्कृष्ट परिवेश निर्माण गर्नका लागि नभई समाजबाट कुनै पनि हिसाबले बन्धन र एकता गुमाउन, पृथक बन्न र समग्र मानव जातिको भलाई भन्दा फरक मर्ममा परिवर्तित हुन पगेको छ तर अझैपनि यस स्थितिलाई आधुनिकताको लेप लगाईएको देखिन्छ। हरेक समस्याले र अभावले आवश्यकता जन्माउनु र उक्त आवश्यकता नै थप खोज र अनुसन्धानमा परिणत हुन्छ तर ती सबै आधुनिक समाज निर्माणका कोसेढुंगा हुदैनन् । मानव जातिले अहिले आधुनिकताको स्वाद चाखेको छ भनिन्छ तर मुल मानव मर्मलाई कति विकास गरेको छ त माया, प्रेम, समवेदना, सम्मान, आपसी हीत र समग्र उन्नत समाजको परिकल्पना किन नगरेको होला, थप राम्रा एवम् महत्त्वपूर्ण विषयहरु बिर्सेर मानवीय गुणहरु बिर्सनु अनि पृथकतामा रमाउनुले आधुनिकताको संकेत गर्दैनन् कि ।

यसको पछिल्लो उदाहरण विश्व भ्रमणमा निस्केको कोरोना भाइरस र यसका अनपेक्षित प्रभाव मानव जातिमा बज्रिनु हो । के हामी साँच्चै आधुनिक युगमा रहेछौं त भौतिक पूर्वाधारको चरम प्रयोग नै आधुनिकता हो त । आधुनिकता अगि आउने समयमा लिएका कदम मात्रै हुन कि बिगत समयमा भएका कतिपय विषयहरु पनि आधुनिकता भित्रै पर्दछन होला ।अवको आधुनिकताको अवधारणा के पुनर्बिचार गरिनुपर्छ कि नपर्लारु यी र यस्तै प्रश्नहरु बिगतमा पनि पक्कै पनि उब्जिएका थिए जुन अहिले फेरि सतहमा आएका छन् । यसको सहि विश्लेषण र सान्दर्भिक कदम नै अवको आधुनिकताको कदम हो ।

वास्तविक रुपमा समग्र मानवीय हितमा गरिने सुझबुझ निर्णय एवम् सोही अनुरुपको चालिने कदम जुन थप लाभकारी, विकसित, प्रभावकारी , समयसापेक्ष , उन्नत र उत्कृष्ट हुन्छ त्यो नै साँचो अर्थमा आधुनिकता हो। प्रविधिको पहुँच हुदैमा, यसको प्रयोग अर्थपुर्ण तवरबाट नभएमा हामी विगत समय भन्दा पनि कमजोर, अधोगतीमा यात्रा थालनि गर्न सक्छौं । अबको यात्रा प्राविधिक विकासको मात्रै होइन यसको अर्थपूर्ण प्रयोग गरेर बिगतका समयमा हामीले आवश्यकता महसुस गरेका ठाउँमा नविनतम् एवम सकारात्मक परिवर्तन हो जसले समग्र मानव जातीकै हित सुनिश्चित गरेर हाम्रा विगतका सिमितता र असहजतालाई सरलतामा परिवर्तन गरिदिन्छ ।

आधुनिकताका नाममा समाज झन भित्री रुपमा खोक्रो हुँदै गइरहेको, मानिस आत्मकेन्द्रित हुने गरेको, विनाशको बाटो खनिएको र विगतका कतिपय उपयोगी विषय पनि ईन्कार गरि मानव ईतिहासलाई गहिरो संकटमा पारिएको अनि यसैलाई आधुनिकताको नाम दिने काम नगरौं, विचारमा सिर्जनात्मकता, कर्ममा उत्कृष्टता र प्रविधिको सहि उपयोगिता सुनिश्चितता गरि राम्रा कुरा विगतका अंगाल्दै सुधार एवम् परिस्कार आवश्यक परेका क्षेत्रमा समयसापेक्ष उन्नत परिवर्तन खोजौं यसका लागि अरुकै अनुशरण गर्नुपर्दैन ।

तर अहिले आधुनिकताको आवरणमा जुन भयङ्कर डरलाग्दो परिस्थिति निर्माण भइरहेको छ त्यस तर्फ हाम्रा नजर अवश्य पुग्नुपर्छ । प्रविधि गलत र अर्थहीन काममा प्रयोग भयो भने झनै दुर्दशापुर्ण हुन्छ । अतः प्रविधिलाई हामीले सिर्जनात्मक प्रयोजनमा प्रयोग गरौँ र यसलाई हामीले प्रयोग गरौँ न कि प्रविधिले हामीलाई प्रयोग गरोस् । धन्यवाद ।
सुनवल ११, नवलपरासी
हाल ब्रिसबेन, अष्ट्रेलिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here