हेटौंडा–मकवानपुरमा विगत ४ महिनाको अवधिमा ४३ जनाको बाल बिवाह रोकिएको छ । सिविन बाल हेल्प लाइन हेटौंडाका अनुसार २०२० को जनवरी १ देखि मे २७ सम्म ४ महिनाको अवधिमा ११ जना बालक र ३२ जना बालिकाको बाल बिवाह रोकिएको हो ।

यस अवधिमा भीमफेदी गाउँपालिका ३ जनाको बालबिवाह रोक्न भने असफल भएको सिविन बाल हेल्पलाईन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए । उनले पछिल्लो समय जिल्लामा बालबिवाहको घटना वृद्धि हुँदै गएको भन्दै २०७८ सालसम्म बालबिवाहमुक्त प्रदेश घोषणा गर्ने योजनामा चुनौती रहेको बताए ।

जिल्लामा श्रम शोषणको अवस्था भने घट्दो छ । ४ महिनाको अवधिमा एकजना बालक मात्र श्रम शोषणमा परेको सिविनको तथ्यांकमा उल्लेख छ । त्यसैगरी बचबिखनमा परेका २ जना बालिकाको उद्दार गरिएको छ । सिविनको तथ्यांकअनुसार ७ जना बालकलाई परिवारसँग मिलन गराउन सफल भएको र एक जनालाई अनाथ अपाङ्ग पुनस्र्थापन केन्द्रमा पठाइएको छ ।

सिविनले आपतकालीन आवास सेवाअन्तर्गत ९ बालक र २५ बालिका गरी ३४ जनालाई सेवा दिएको छ । जोखिमपूर्ण अवस्थामा परेका ७५ बालबालिकालाई उद्दार गरेको सिविनले आफन्त तथा छिमेकीबाट दूव्र्यवहारमा परेको ८ जना बालबालिकालाई बचाएको जनाएको छ । कोरोना संक्रमणको महामारीबाट समस्यामा परेका १ सय ६६ जना बालबालिकालाई राहत वितरण गरिएको सिविनका प्रमुख ज्ञवालीले जानकारी दिए ।

४ महिनाको अवधिमा एक सय ३ जनालाई मनोसामाजिक विमर्श सेवा दिएको सिविनले ४ जना बालबालिकालाई शैक्षिक सहायता वितरण गरेको छ । हराएका बालबालिकाको खोजीअन्तर्गत फेला परेका ८ जना बालबालिकाको परिवारको खोजी भइरहेको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here