हेटौंडा–बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने हेटौंडा–काठमाडौं छोटो मार्गमा सुरुङमार्ग निर्माण गर्न संघीय सरकारले तत्परता देखाएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारसँग सहकार्य गरी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन पूरा गरी काम सुरु गर्ने उल्लेख छ । भीमफेदी–कुलेखानी सुरुङमार्गसहित अन्य दुई स्थानमा सुरुङमार्ग र सडक स्तरोन्नतीसमेतका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ ।

बागमती प्रदेश सरकारले २ वर्षदेखि सुरुङमार्ग निर्माणलाई २ वर्षदेखि प्रदेश गौरवको आयोजना घोषणा गरेको छ । सुरुङमार्ग निर्माणको लागि प्रदेशले संघीय सरकारसँग सहकार्यको लागि यसअघि नै आग्रह गरेको थियो । आगामी वर्षको लागि संघीय सरकारले पनि बजेट छुट्याएको र प्रदेशले पनि उच्च प्राथमिकताका साथ बजेट छुट्याएर आगामी वर्षदेखि नै ठेक्का लगाएर काम सुरु गरिने बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले बताए ।

चार वर्षभित्र सुरुङमार्ग निर्माण गरिसक्ने लक्ष्य लिएको प्रदेश सरकारले कुल १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सुरुङमार्गको लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा २ अर्बभन्दा बढी विनियोजन गर्ने तयारी गरेको जनाएको छ । केही समय अघि बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले २०७७ वैशाखबाट निर्माण सुरु हुने बताएका थिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २१५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

सुरुङमार्गबाहेक आगामी आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशमा अन्य केही ठूला आयोजनाहरुले पनि निरन्तरता पाउनेछन् । हेटौंडाको मयुरधापमा करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको लागि पनि बजेटमा निरन्तरता दिइएको छ । एक प्रदेशमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यका साथ मयुरधाप औद्योगिक क्षेत्र स्थापना सुरु भएता पनि वनसँगको विवादका कारण काम भने रोकिरहेको छ ।

बागमती प्रदेशभित्रै पर्ने संघीय राजधानी काठमाडौंमा ३ सय शैयाको छुट्टै सरुवा रोग अस्पताल बन्नेछ भने प्रदेश राजधानी हेटौंडामा पनि ५० शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने बजेटमा उल्लेख छ । चितवनको भरतपुर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास स्तरोन्नती गरिने बताइएको छ । सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्ने योजनाअनुरुप प्रदेश राजधानी हेटौंडामा पनि अत्याधुनिक स्वास्थ्य प्रयोगशाला बन्ने निश्चित भएको छ ।

चोभार र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माणमा पनि सरकारले बजेट विनियोजन गरेको छ भने प्रत्येक प्रदेशमा प्राविधिक सीप परीक्षण केन्द्र स्थापना तथा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने बजेटको व्यवस्था गरेको जनाएको छ । सबै प्रदेशका राजधानीमा खानेपानीको वितरणलाई व्यवस्थित गर्न खानेपानी आयोजना निर्माण तथा धाराको लागि पनि बजेट छुट्याइएको छ ।

२ वर्षभित्र सबै परिवारमा नवीकरणीय उर्जाको पहुँच पु¥याउने लक्ष्य अनुरुप आगामी वर्षभित्र बागमती प्रदेशसहित प्रदेश २, गण्डकी र प्रदेश नम्बर ५ मा आधुनिक उर्जाको पुहँच पु¥याइसकिने लक्ष्य राखिएको छ । बिजुलीको तार भूमिगत गर्ने कार्य ललितपुर, भक्तपुर, चितवनलगायतका जिल्लाका ठूला सहरमा विस्तार हुने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेशमार्फत सञ्चालित जनता आवास कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउनेछ । प्रदेश राजधानीमा व्यवस्थित पूर्वाधार निर्माणको गुरुयोजना तयार गरी पूर्वाधार निर्माण कार्य अघि बढाउन पनि बजेट संघीय सरकारले बजेटको व्यवस्था गरेको छ ।

भक्तपुरमा ५ हजार जना क्षमताको आधुनिक सिटि हल निर्माणको प्रारम्भिक कार्य सुरु गरिनुका साथै चितवनको सिटी हल निर्माणलाई निरन्तरता दिने जनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिराजपथ निर्माण पूरा गर्न एक अर्ब २० करोड छुट्याइएको छ । त्यस्तै सबै प्रदेशमा विपदको समयमा खोज तथा उद्दार र राहतको लागि आवश्यक सामाग्रीको भण्डारण केन्द्र, स्थापना गर्ने पनि जनाइएको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने गरी यथार्थपरक बजेट ल्याएको बागमती प्रदेशका नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here