हेटौंडा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचारका लागि वाग्मती प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषको हिसाव सार्वजनिक गर्न माग गरेको छ ।

मंगलबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसले प्रदेश सरकारले स्थापना गरेको ५० करोड रुपैयाँको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको रकम कहाँ÷कहाँ÷ कति खर्च भयो भन्ने विषय यथाशिघ्र सार्वजनिक गर्न माग गरेको हो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै कोरोना संक्रमणको रोकथाम तथा उपचारका विषयमा गम्भीर हुन समेत आग्रह गरेका छन् । उनले संघीय एवम् प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा गम्भिरता नदेखाउँदा संक्रमणको जोखिम उच्चस्तरमा बढेको आरोप लगाए । संघीय सरकारको समन्वयमा प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापन गरिरहेको कोरोना संक्रमणको जोखिम नियन्त्रणका अभियान प्रभावकारी हुन नसकेको भन्दै उनले तत्काल यस विषयलाई सच्याउन समेत आग्रह गरेका छन् ।

मुख्यमन्त्रीलाई बुझाइएको १४ बुँदे ज्ञापनपत्रमा कोभिड १९ को नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गर्न तथा पीसीआर परीक्षणको दायरा विस्तारसँगै आवश्यक किट, उपकरण, जनशक्तिको व्यवस्था गर्न माग गरिएको नेपाली कांग्रेस संसदीय समितिका सचिव निमा लामाले बताए । मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी शुद्ध पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गर्न पनि प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरिएको छ ।

सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरिरहेको भन्दै त्यस्तो कार्य बन्द गर्न पनि ध्यानकर्षण गराइएको छ । कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको अविलम्ब व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ । कोरोना नियन्त्रणको नाममा भ्रष्टाचार मौलाएको भन्दै प्रदेशको प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले चिन्ता व्यक्त गरेको सचिव लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here