हेटौंडा–बागमती प्रदेशसभामा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक छलफलमा ल्याउन सांसद् केशव स्थापितले माग गरेका छन् ।

यस विधेयकलाई सदनमा छलफलका लागि टेबल गर्न आफूले पटक–पटक आग्रह गर्दा समेत सभामुख सानुकुमार श्रेष्ठले वेवास्ता गरेको भन्दै सांसद् स्थापितले तत्काल छलफलमा नल्याएको खण्डमा आफू अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबार बागमती प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै पूर्वभौतिक पूर्वाधार मन्त्री समेत रहेको स्थापितले आफूले फागुन २० गते गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेको बताए । प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भएको थियो ।

‘संघमा कानुन नबनेसम्म प्रदेशमा छलफल हुँदैन भनेर सभामुखबाट जवाफ आयो । मैले तत्काल छलफलमा ल्याउनका लागि दबाब दिने गरी सांसद्हरुको हस्ताक्षर संकलन थालिसकेको छु ।’, स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाँजालाई आम्दानीको स्रोत बनाउने बाटो खुल्ला गनुपर्ने बताए । ‘गाँजालाई औषधिको रुपमा नै प्रयोग गर्न सकिने विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसक्यो । हाम्रो देशमा अझै प्रतिवन्धित अवस्थामा छ,’ स्थापितले भने, ‘अब यसलाई आन्दानीको स्रोतका रुपमा प्रयोग गर्नुपर्छ । त्यसका लागि हाम्रो प्रयास हो ।’ उनले विधेयक संघीय र प्रदेश सांसदको ५ महिनाको गृहकार्यपछि तयार भएको स्थापितले बताए ।

‘गाँजाबाट करिब दुईसय वटा औषधी बन्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यस्तो अवस्थामा प्रदेशले एउटा समूह बनाएर छलफल गरी संघीय सदनलाई समेत सुझाव दिन सक्छ । त्यसकारण तत्काल यस विषयलाई सदनमा छलफल गर्न जरुरी रहेको छ ।’, उनले थपे ।
नेपालको सवै भू–भागमा हुने गाँजा खेतीबाट गरिबको जीवनस्तर उकास्न मदत पुग्ने भएका कारण कडा कानुन बनाएर खेती गर्ने बाटो खुल्ला गर्न जरुरी रहेको उनले औंल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here