हेटौंडा–मकवानपुरे नवसर्जकहरूलाई साहित्य लेखन तथा पठन संस्कृतिको विकास गराउने उद्देश्यका झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सक्रियतामा मकवानपुरमा नवसर्जकहरुका लागि अनलाइन प्रशिक्षण कार्यक्रमले निरन्तरता पाएको छ । गत जेठ १ गतेदेखि दैनिक रुपमा अनलाइनमार्फत साहित्यिक प्रशिक्षणको कार्यक्रम गरिरहिएको अध्यक्ष गौतमले बताए ।

लकडाउनका समयमा साहित्यकारहरू साहित्यिक कृति पठन, लेखन तथा विविध खालका प्रविधिमैत्री कार्यक्रम गर्दै लकडाउनको सदुपयोग गरिहेका बेला गौतमले भने एउटा नौलो अभियान चलाएका हुन् । यस अभियानमा धेरै नवसर्जकहरुले साहित्य लेखन विधिबारे ज्ञान लिएको उनले बताए । गत जेठ १ गतेदेखि निरन्तर रूपमा शनिबार बाहेक हरेक दिन बेलुका ४ः३० देखि दैनिक ८० मिनेट साहित्यका क्षेत्रमा लाग्न इच्छुक नवसर्वकहरूका लागि साहित्यका सिर्जना र समालोचनाअन्तर्गतका सबै विधामा प्रशिक्षित गराउने काम निशुल्क रुपमा गरिरहिएको छ ।

एक महिनाको अवधिमा प्रशिक्षक गौतमले कविता विधाबाट प्रवेश गरी कविताका बद्ध छन्दअन्तर्गतका ‘लोक, वार्णिक र मात्रिक छन्द’ को सैद्धान्तिक एवम् प्रयोगात्मक अभ्यास सम्पन्न गरिसकेका छन् । एक महिने अवधिको सिकाई उपलब्धिको परीक्षण गर्ने उद्देश्यले असार १ गते छन्द कविता वाचन कार्यक्रमसमेत सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली छन्द कविताको पुनर्जागरण अभियानका नेतृत्वकर्ता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल रहेका थिए ।

कार्यक्रमका अतिथिहरूमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामकी उपाध्यक्ष गीता ढुङ्गाना, धादिङका सदस्य मणिराम छत्कुली, मकवानपुरे अग्रज साहित्यकार रमेशमोहन अधिकारी, हेटौंडेली कविहरू सुनिल गौतम, डिबी बर्ताैला, रामशरण रिजाल, विशाल अधिकारी आशुतोष, हरि पौडेललगायत रहेका थिए । प्रशिक्षणमा नियमित रूपमा सहभागी शिक्षकहरू ऋषि काफ्ले, अर्चना दहाल, सिर्जना पुडासैनी, रूबिना शर्मा तथा प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्म र नेपालदेखि जापानसम्मका २२ जना नियमित प्रशिक्षित विद्यार्थीहरू सहभागी भई लोक, वार्णिक र मात्रिक छन्दका उत्कृष्ट कविताहरू वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा. देवी नेपालले नयाँ पुस्ताका सुन्दर सिर्जनाहरू सुन्न पाउँदा आफू निकै खुसी भएको र नवसर्जकलाई यसरी सिर्जनात्मक गतिविधिमा संलग्न गराउने अभियानको नेतृत्व गरेकोमा गौतमको उच्च प्रशंसा गरे । उनले प्रत्येक सहभागीले वाचन गरेका कविताको छन्द तथा भावलाई समेटेर सम्बन्धित छन्द तथा लयमा प्रत्युत्तर दिएका थिए । अग्रजहरूको सल्लाह सुझावका आधारमा आगामी दिनमा समेत निरन्तर रूपमा अभियानलाई अघि बढाउने बताउँदै गौतमले साहित्यका विभिन्न विधाका अग्रज साहित्यकारहरूलाई समेत कार्यक्रममा आमन्त्रण गर्दै नयाँ पुस्तालाई साहित्यमा अग्रसर गराउने गौतमले प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here