हेटौंडा–कोरोना भाइरसको संक्रमणको त्रासका कारण सुरक्षा सतर्कता अपनाउनुपने बाध्यताका कारण बिरामीले स्वास्थ्य सेवा नै सहज रुपमा पाउन छाडेका छन् ।

अन्य स्वास्थ्य संस्थामा जस्तै हेटौंडा सामुदायिक आँखा अस्पतालमा पनि यो समस्या देखिएको छ । दैनिक सयौं जनाको आँखाको परीक्षण र औषधि वितरण गर्ने अस्पतालमा लकडाउनपछि ५ दिनअघिबाट सेवा सुरु गरे पनि बिरामीले भने सहज रुपमा सेवा पाउन सकेका छैनन् । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीकी ६५ वर्षीय छायाँदेवी खड्का आफ्नो नियमित आँखा जाँच गर्न बिहीबार बिहान साढे ७ बजे छोराका साथमा हेटौंडा सामुदायिक आँखा अस्पताल आइपुग्दा उनी गेटबाटै फर्किन बाध्य भइन् । अस्पतालले बिहान ६ बजे नै टोकन बाँडिसकेको भन्दै अन्यलाई उपचार गराउन नसकिने भन्दै सुरक्षा गार्डले गेटबाटै फर्काइदिए । ‘आँखा निकै कम देख्छु, लगाउने गरेको छु, दुई महिनाअघि नै जँचाउने समय भइसकेको थियो । अहिले अस्पताल खुलेको छ रे भन्ने सुनेर आएको खै अहिले हुँदैन भन्यो ।’ खड्काले भनिन् ।

हेटौंडा–६ चौघडाकी संगीता राई पनि बुधबार बिहान ३ महिने आफ्ना बच्चा च्यापेर अस्पताल आइन् । बच्चाको आँखाबाट आँसु बगिरहने समस्या भएका कारण उनी जँचाउन आँखा अस्पताल पुगेकी थिइन् । बच्चाको आँखामा केही गम्भीर समस्या भएको आशंकामा उनले आकस्मिक उपचारको लागि अनुरोध गरिन् तर, अस्पतालको सुरक्षा गार्डले भोलि बिहान ५ बजे नै आउनु टोकन पाउनुहुन्छ भन्दै फर्काइदियो । उनी शुक्रबार बिहान ५ बजे पुनः अस्पतालको गेटमा पुगिन् । लामो लाइनमा बसेर उनले टोकन पाइन् र बच्चाको आँखा उपचार गर्न अस्पताल छिर्न पाइन् । स्वास्थ्य सतर्कता अपनाउनुपर्ने र भीडभाडलाई कम गर्नुपर्ने भएका कारण हाल दैनिक रुपमा ६० जनालाई मात्र टोकन वितरण गरी पालैपालो आँखा जाँच गर्ने गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

६ बजेबाट टोकन बाँड्न गरिए पनि तोकिएको कोटाभित्र आफू नपर्ने डरले आँखाका बिरामीहरु बिहान ४ बजेदेखि नै अस्पतालको गेटमा लाइन बस्ने गरेका छन् । तोकिएको संख्यामा मात्र टोकन बाँडिएपछि घण्टौं लाइनमा बसेकाहरु पनि फर्किन बाध्य हुने गरेका छन् । बिहान ६ बजे नै टोकन वितरण थालिने र पहिलो ६० जनालाई टोकन बाँडेपछि बाँकीलाई फर्काउने गरिएकोमा अस्पतालले शुक्रबारबाट भने ८० जना बिरामीलाई टोकन बाँड्न थालेको छ । कोरोना भाइरसबाट बच्नको लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने र भीडभाडलाई कम गर्नुपर्ने कारणले गर्दा आफूहरुले निकै कम मात्रामा मात्र बिरामीको उपचार गर्न सकिएको अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले जानकारी दिए ।

‘पहिलो कुरा हामीले स्वास्थ्य सर्तकताको लागि धेरै उपाय अपनाउनुपर्ने भएका कारण अन्य बेला जति बिरामी हेर्न भ्याउँदैनौं अर्को कुरा अस्पतालका जन– शक्तिलाई पनि दुई भागमा बाँडेर पालैपालो काम गर्ने गरेका छौं ।’ प्रशासन प्रमुख श्रेष्ठले भने,‘अस्पतालमा उपचार गराउन आउने कोही बिरामीमा कोरोना देखिए सबै कर्मचारी पनि आइसोलेशनमा बस्नुपर्ने हुनसक्छ त्यस्तो अवस्था आइपरे अर्को सिफ्टका कर्मचारीले अस्पताल सञ्चालन निरन्तरता दिनको लागि जनशक्तिलाई दुई भागमा बाँडिएको हो ।’

बिहीबार सामान्य अवस्थाका ८० जना र आकस्मिक सेवाका गरी एक सय जनाले आँखा उपचार सेवा लिएको अस्पतालले जनाएको छ । अन्य बेलामा अस्पतालमा दैनिक करिब ३ सय देखि ४ सय जना बिरामीले आँखा परीक्षण गराउने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here