हेटौंडा– काँग्रेस निकटका जनप्रतिनिधिलाई बेवास्ता गर्दै गाउँपालिका अध्यक्षले आफूखुसी बजेट निर्माणको काम गरेको भन्दै मकवानपुरको बागमती गाउँपालिकाका नेपाली काँग्रेसका जनप्रतिनिधिले गाउँ कार्यपालिका बैठक बहिष्कारको घोषणा गरेका छन् । असार ३ गते बसेको गाउँ कार्यपालिका बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयहरुप्रति काँग्रेसबाट प्रतिनिधित्व गर्ने ५ जना कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेका हुन् ।

उनीहरुले विभिन्न ६ बुँदे माग अघि सारेका छन् । आफूहरुको माग पूरा नभए धर्ना, जुलुस र तालाबन्दीसम्मको कार्यक्रम गरिने शनिबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । गाउँपालिका अध्यक्ष सर्केश घलानले आफूखुसी रुपमा वडाको सिलिङ बजेट कटौती गरी मनलाग्दाी योजना छनौट गरेको कार्यपालिका सदस्यहरुको आरोप छ ।

गाउँपालिकाका १ नम्बर वडाध्यक्ष ठगेन्द्र वाइबा, २ नम्बर अध्यक्ष जगतबहादुर भोम्जन, ७ नम्बर वडाध्यष डिल्लीप्रसाद घोरासैनी, कार्यपालिका सदस्य दिनेश माझी र समीक्षा विकले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको माग गाउँपालिकाले पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट कटौती गरी बिना सल्लाह आफूखुसी अन्यत्र रकमान्तर गरिएकोप्रति उनीहरुले आपत्ति जनाएका छन् । साथै आगामी आवमा प्रत्येक वडामा एक करोडको सिलिङ बजेट पठाउनुपर्ने पनि उनीहरुको भनाइ छ । किसानलाई मल, बिउ र औषधी वितरणमा पनि राजनीतिक विभेद गरिएकोप्रति पनि आपत्ति जनाइएको छ । विभिन्न विकास निर्माणका कार्यहरुलगायत विभिन्न सभा समारोहमा नेपाली काँग्रेसका जनप्रतिनिधिलाई बञ्चित गर्दै जनप्रतिनिधिको मानमर्दन गरेको भन्दै त्यस्तो क्रियाकलाप तुरुन्त बन्द गर्न पनि माग गरिएको छ ।

कृषि, शिक्षा, स्वासथ्य क्षेत्रमा र लक्षित वर्ग क्षेत्रमा सीपमुलक, आयआर्जनमुखी र स्वरोजगारमुलक अधिकतम बजेट बिनियोजन गर्न पनि काँग्रेस जनप्रतिनिधिले जोड दिएका छन् । गाउँपालिकाबाट कर्मचारीका लागि गरिने विज्ञापनमा पनि राजनीतिक प्रतिशोध साँधी विधि र प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here