हेटौंडा–हेटौंडा औद्योगिक क्षेत्रमा रहेको चुरोट उत्पादन गर्दै आएको गोर्खा लहारी प्रालिले श्रम कार्यालयको आदेशलाई लत्याउँदै केही मजदुरलाई बर्खास्त गरेपछि विवाद उत्पन्न भएको छ । लकडाउनको समयमा मजदुरलाई काम गर्न दबाब दिएपछि मजदुरले त्यसको अवज्ञा गरेका थिए ।

मजदुरले बिनाकारण काम रोकेको भन्दै उद्योगले ४ जना मजदुरलाई शुक्रबार बर्खास्त गरेको छ । लकडाउनको समयमा उद्योग सञ्चालन गरेको गोर्खा लहारीमा मजदुरहरुले सुरक्षाको कारण देखाउँदै उद्योगको काम छाडेका थिए । आफूखुसी काम रोकेर अन्य मजदुरलाई पनि काममा नल्याउन भूमिका खेलेको भन्दै ४ जना मजदुर नेतालाई उद्योगले जेठ १३ गते ४ मजदुरलाई १५ दिन निलम्बन गरेको थियो ।

अखिल नेपाल औद्योगिक मजदुर संघको ईकाई अध्यक्ष धर्मदत्त कुइकेल, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष उत्तममणि पौडेल, उपाध्यक्ष सुदीप अर्याल, समग्र उद्योग ट्रेड युनियन नेपालको गोर्खा लहारी ईकाई उपाध्यक्ष सन्तोष पुडासैनीलाई निलम्बनपछि शुक्रबार साँझ उद्योगले बर्खास्त गरेको थियो । उद्योगमा मजदुर र उद्योग प्रशासनबीच असमझदारी उत्पन्न भएपछि श्रम तथा रोजगार कार्यालय हेटौंडाले सरोकारवालाबीच पटकपटक छलफलसमेत गरेको थियो । छलफलकैबीच श्रम कार्यालयले शुक्रबार उद्योगको नाममा एक पत्र काटेर मजदुरहरुको निलम्बन कानुनसम्वत नभएको भन्दै निलम्बन फुकुवा गर्न र आगामी असार ११ गते पुनः छलफलमा आउन आग्रह गरेको थियो ।

श्रम ऐन २०७४ को दफा १२९ को उपदफा २ अनुसार निलम्बन गरिएको भनी उद्योगबाट प्राप्त पत्रप्रति श्रम कार्यालय हेटौंडाले ध्यानाकर्षण भएको भन्दै निजहरुलाई कारबाही गर्नुपर्ने कुनै ठोस कारण नदेखिएकाले तत्काल निलम्बन फिर्ता लिन वा रोक्का गर्न उद्योगलाई शुक्रबार पत्र काटेको थियो । श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख प्रशान्त शाहले हस्ताक्षर गरेको पत्रमा रोजगारदाताको तर्फबाट बढीमा ३ जना प्रतिनिधिसहित असार ११ गते श्रम कार्यालयमा छलफलको लागि आउन आग्रहसमेत गरिएको थियो ।

गोर्खा लहारी प्रालिका उपमहाप्रबन्धक चन्द्रबहादुर थापाले भने श्रम कार्यालय हेटौंडाले पठाएको पत्रबारे आफूहरु जानकारी नभएको दावी गरे । ‘हामीहरुलाई श्रम कार्यालयबाट कुनै पत्र प्राप्त भएको छैन, बिनाकारण काम रोक्ने कामदारहरुलाई हामीले गरेको निलम्बनको अवधि सकिएको १५ दिन बितेपछि स्पष्टीकरणसमेत चित्त नबुझेकाले कानुनअनुसार नै बर्खास्त गरेका छौं ।’ उपमहाप्रबन्धक थापाले भने । उद्योगको निर्णयअनुसार बर्खास्तीमा परेका समग्र उद्योग ट्रेड युनियन नेपालको गोर्खा लहारी ईकाई उपाध्यक्ष सन्तोष पुडासैनीले आफूहरुलाई बिनाकारण उद्योग प्रशासनले नियोजित ढंगले बहिष्कार गरेको भन्दै त्यसको कानुनी उपचार खोजिने बताए । लकडाउका अवधिमा पनि आफूहरु काम गर्न तयार भएको भन्दै पुडासैनीले उद्योगले प्रतिवद्धता जनाएअनुसारको स्वास्थ्य सुरक्षाको उपाय नअपनाइएकाले आफूहरुले जानकारी गराएरै काममा नआएको बताए ।

कोरोना भाइरसको महामारीकैबीच उद्योगमा काम गर्न उद्योग प्रशासनले कर गरेपछि उद्योगले स्वास्थ्य सुरक्षाको उपाय अपनाउने सर्तमा उद्योगमा रहेका एक सय ४० जना कर्मचारीमध्ये एक सय १० जना कर्मचारीले वैशख १७ गतेबाट उद्योग सञ्चालनमा ल्याएका थिए । १७ गतेबाट मकवानपुर भित्र रहेका मजदुरलाई बोलाइर उद्योगले काम सुरु गर्न निर्देशन दिएको थियो । बिहान र दिउँसो गरी दुई सिफ्टमा काम गर्ने कर्मचारीको लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था नभएपछि तीन वटा मजदुर संगठनले वैशख १८ गते उद्योग प्रशासनलाई ध्यानकर्षणपत्र बुझाएका थिए ।

‘सरकारले त्यस समय अत्यावश्यक उद्योग मात्र खोल्नु भनेको थियो, चुरोट उत्पादक अत्यावश्यक उद्योगभित्र पर्दैन थिए तर, प्रशासनले स्वास्थ्य सुरक्षा को ग्यारेन्टी गर्ने भनिएपछि हामीहरु काम गर्न गएका थियौं तर, त्यहाँ कुनै स्वास्थ्य सुरक्षाको व्यवस्था नभएपछि हामीले ध्यानाकर्षण गराएका थियौं ।’ समग्र उद्योग ट्रेड युनियन नेपालको गोर्खा लहारी ईकाई उपाध्यक्ष सन्तोष पुडासैनीले भने–‘त्यसको कुनै सुनुवाई नभएपछि हामी जेठ ११ गतेबाट काममा आउन छाडेका थियौं । त्यो बेला करिब एक हप्ता उद्योग बन्द पनि भयो ।’ उद्योगले मकवानपुरमा संक्रमण्ढा देखिए बन्द गर्ने भनी प्रतिवद्धता जनाएका तर, त्यसको पालना नभएको उनको भनाइ छ ।

उद्योगमा नुहाउने व्यवस्था, पोषाक परिवर्तन गर्ने ठाउँ पनि नभएको भन्दै पुडासैनीले वैशख ११ गतेदेखि बन्द भएको उद्योग सम्पूर्ण पक्षबीच सहमति भएपछि जेठ १८ गतेबाट पुन सञ्चालनमा ल्याइए पनि सो एक हप्ताको अवधिमा उद्योगमा काम गर्न नआएको बहानामा आफूहरुलाई बर्खास्त गरिएको भन्दै आपत्ति जनाए । आफूहरुलाई उद्योगले स्पष्टीकरण सोधेको र त्यसको चित्तबुझ्दो जवाफ पनि दिएको मजदुरहरुको भनाइ छ । कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षाको व्यवस्था नभएका कारण आफूहरुले काम गर्न नसकेको अवस्थामा उद्योगले कर्मचारी नै बर्खास्त गरेको भन्दै मजदुरनिकट संघ संगठनहरुले ध्यानाकर्षण जनाएका छन् ।

सर्वपक्षीय बैठकपछि बर्खास्ती फिर्ता
श्रम कार्यालय हेटौंडासमेतको आदेशलाई अटेर गरी गोर्खा लहारीले कर्मचारी बर्खास्त गरेपछिको विवाद समाधान गर्न शनिबार साँझ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसहितको सहभागितामा बसेको सर्वपक्षीय बैठकपछि उद्योगले कर्मचारीको बर्खास्ती फिर्ता लिन राजी भएको छ ।

उद्योग संघका प्रतिनिधि, मजदुर संगठनका प्रतिनिधि, उद्योगका प्रतिनिधिलगायतको सहभागितामा भएको छलफलपछि ३ बुँदे सहमति भएको छ । उद्योगले ४ जना मजदुरलाई गरेको बर्खास्ती फिर्ता लिने, जेठ १२ गतेदेखि १६ गतेसम्म उद्योग बन्द भएकोमा मजदुरले त्यसको सट्टा काम गरिदिने र आगामी दिनमा कुनै प्रक्रिया पूरा नगरी उद्योगमा काम नरोक्ने सहमति भएको समग्र उद्योग ट्रेड युनियन नेपालको गोर्खा लहारी ईकाई उपाध्यक्ष सन्तोष पुडासैनीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here