हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिका–२ जुबालका १८ वर्षीय सुमन चेपाङको क्यान्सरको उपचारको लागि आर्थिक अभाव भएपछि सहयोगको लागि आग्रह गरेका छन् । जन्मेको ७ महिनाकै उमेरमा अगेनामा परी आगोले पोलेको घाउ बल्झेर क्यान्सरमा प्रमाणित भएपछि चेपाङलाई उपचारमा समस्या परेको हो ।

आर्थिक अभावका कारण आगोले पोलेको घाउको उपचार गराउन नसकिएको र घाउ बल्झँदै ठूलो हुँदै गएपछि उपचार गराउन जाँदा भरतपुर क्यान्सर अस्पतालले सुमनको टाउकोमा क्यान्सर भएको प्रमाणित गरेको हो । ‘घाउ निकै सानो थियो, पछि निको भएर खत मात्र देखिन्थ्यो अहिले आएर त्यहि घाउ बल्झिएर ठूलो हुँदै गयो, टाउकोमा ठूलै प्वाल नै परेपछि ३० हजार ऋण गरेर भरतपुर जचाउन गएँ ।’ सुमनका बुबा अक्कलबहादुर चेपाङले भने–‘भरतपुर क्यान्सर अस्पतालमा जचाउँदा छोरालाई क्यान्सर भएको छ, अप्रेशन गर्नुपर्छ भनेको छ । पैसा कति लाग्ने हो थाहा छैन । अप्रेशन गर्ने पैसा पनि छैन ।’

मंगलबार अस्पतालले क्यान्सर भएको रिपोर्ट दिएपछि अक्कलबहादुर छोराको उपचार गराउन पैसाको खोजीमा हिँडेका छन् । उनले चिनेजानेका जति सबैलाई भनिसके तर, पैसा भन्दा पनि आश्वासन मात्र पाएका छन् । गाउँपालिकाबाट पनि केही उपचारमा सहयोग हुने जानकारी पाएका अक्कलबहादुर छोरालाई लिएर बुधबार राक्सिराङ गाउँपालिका कार्यालय पुगे । गाउँपालिकाले विपन्न र जटिल रोग लागेकाहरुलाई ५ हजार रुपैयाँसम्म दिन मिल्ने जानकारी गरायो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले तोकेको प्रावधानअनुसार सहयोग गर्ने र जटिल रोग विपन्न परिवारको उपचारमा संघीय सरकारले दिने छुटका लागि पनि सिफारिस गरिने बताए ।

राक्सिराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सूर्यबहादुर मोक्तानले निकै विपन्न चेपाङ युवकमा जटिल रोग देखिएकाले उनको उपचारमा सहयोग गरी ज्यान बचाइदिन आग्रह गरे । उपचारमा छुटको लागि वडा कार्यालयले सिफारिस गरेको जानकारी दिँदै उनले सहयोगी व्यक्ती तथा संस्थालाई उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

अक्कलबहादुरका २ छोरा ३ छोरीमध्ये सुमन कान्छो सन्तान हुन् । बारीमा मकै कोदो उत्पादन गर्ने तथा ज्याला मजदुरी गरी परिवार पाल्दै आएका अक्कलबहादुरको अन्य आयस्रोत र सम्पति छैन । छोराको क्यान्सरको उपचार गर्न लाखौं रुपैयाँ खर्च हुने सुनेका अक्कलबहादुर अहिले निकै पीडामा भौतारिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here