हेटौंडा–मकवानपुरको विकट तथा पिछडिएको गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ५१ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष निर्मला हिमडुङले चालु आव २०७६÷७७ को तुलनामा करिब झण्डै ६ करोड बढीको आयव्ययको अनुमानित विवरण पेश गरेकी हुन् ।

कुल बजेटमध्ये २९ करोड ९२ लाख ३० हजार रुपैयाँ अर्थात ५८ दशमलव ३२ प्रतिशत पुँजीगत र २१ करोड ३८ लाख अर्थात ४१ दशमलव ६७ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको उपाध्यक्ष हिमडुङले जानकारी दिइन् । राक्सिराङको आगामी वर्षको बजेटमा भौतिक पूर्वाधारको निर्माण तथा नागरिकको क्षमता अभिवृद्धिमार्फत रोजगारीका अवसरहरु वृद्धि गर्दै आर्थिक समता कायम गर्ने उद्देश्य राखिएको छ । गाउँ कार्यपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सेवामा आम नागरिकको सहज पहुँच पु¥याउने पनि उद्देश्य लिइएको छ । शिक्षा स्वास्थ्य, खानेपानी तथा सरसफाईमा लगानी वृद्धि गरी सामाजिक क्षेत्रको विकासमार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने प्राथमिकता निर्धारण गरिएको छ । साथै भौतिक तथा आर्थिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, रोजगारमुलक समावेशी आर्थिक विकासलाई पनि बजेटले प्राथमिकताको साथ समेटेको छ ।

गाउँपालिकाले आगामी वर्ष केही गौरवका आयोजनाहरु घोषणा गरेको छ । एकवर्षीय वा बहुवर्षीय योजनामार्फत गौरवको आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ । मनहरीबाट राक्सिराङको विभिन्न वडाहरु र कैलाश गाउँपालिकालाईसमेत छोएर धादिङको मलेखु निस्कने सडकको बोटबारी–परेवाभीर खण्ड निर्माण गर्न गाउँपालिकाले गौरवको आयोजना घोषणा गरी २ करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ । त्यस्तै चेपाङ संग्राहलय तथा कोसेली घर निर्माणको लागि पनि आगामी वर्ष १ करोड छुट्याई गौरवको आयोजनाको रुपमा बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन गरिने जनाइएको छ । त्यस्तै गाउँ कार्यपालिकाको केन्द्रीय प्रशासनिक भवन निर्माण, खाद्य सुरक्षा बैंक स्थापना, बाली विज्ञान अध्ययन अनुदान, विपन्न परिवारको खरको छाना विस्थापन कार्यक्रम, चेपाङलाई बिजुली जस्ता स्थानीय गौरवको आयोजना घोषणा गरी आगामी आवमा कुल ६ करोड ७५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै गाउँपालिकाले कृषि ऋणमा ब्याज अनुदान, रासायनिक मलमा ढुवानी भाडा अनुदान, पुश तथा बाली बिमा कार्यक्रम घोषणा गरी कृषि क्षेत्रमा बजेट बिनियोजन गरेको उपाध्यक्ष हिमडुङले बताइन् । शिक्षातर्फ चेपाङ छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै बुहारी छात्रवृत्ति कार्यक्रमको लागि पनि बजेट छुट्याइएको छ । दलित उच्च शिक्षा प्रोत्साहन कार्यक्रम, असहाय विद्यार्थी निशुल्क शिक्षा कार्यक्रमलगायत शिक्षासँग सम्बन्धित कार्यक्रममा पनि बजेट खर्चिइँदैछ

स्वास्थ्यको क्षेत्रमा पनि गाउँपालिकाले बजेटमा उल्लेख्य वृद्धि गरिएको जनाएको छ । गाउँबासीलाई स्वास्थ्य सेवामा पहुँचको लागि प्रत्येक वडामा स्वास्थ्य सेवा ईकाई स्थापना गर्ने, एकीकृत स्वास्थ्य शिविरको आयोजना गर्ने, सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत संघीय सरकार र गाउँपालिकामार्फत एकमुष्ट ५ हजार रुपैयाँ प्रदान गर्ने, आमा बाउ बचाउ कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई प्रोत्साहन तथा सम्मानको कार्यक्रम पनि तय गरिएको छ ।

विपद व्यवस्थापनतर्फ वडाहरुलाई नै विपद व्यवस्थापनको सामाग्री खरिद गरी हस्तान्तरण गर्ने, चट्याङ नियन्त्रणको लागि सम्भाव्यता अध्ययन गरी आवश्यक उपकरण जडान गर्ने, कोरोना भाइरसको नियन्त्रणको लागि गाउँपालिकाले क्वारेन्टाइनको व्यवस्थापन गर्नेलगायतका कार्यक्रम तय गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक राजस्वमा वृद्धि हुने अनुमान गरेको छ । आगामी वर्ष आन्तरिक आम्दानी वृद्धि भई ३ करोड ३२ लाख पुग्ने अनुमान गरिएको छ । साथै संघीय सरकारले दिने विशेष अनुदानमा पनि वृद्धि भएकाले गाउँपालिकाको बजेटको आकार बढेको बताइएको छ । केन्द्रीय अनुादनतर्फ ३६ करोड ७० लाख ९७ हजार, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

चालु आवमा ४५ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले वर्षको यसै असार मसान्तसम्ममा ४१ करोड ९२ लाख अर्थात ९२ दशमलव ९६ प्रतिशत बजेट खर्च हुने संशोधित अनुमान गरेको छ । जसमा चालु खर्चतर्फ ८७ दशमलव १५ प्रतिशत र पुँजीगततर्फ ९४ दशमलव २० प्रतिशत खर्च हुने अनुमान गाउँसभामा पेश गरिएको छ । चालु वर्षमा ३ करोड ४२ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा असार मसान्तसम्ममा ३ करोड ९ लाख राजस्व संकलन हुने संशोधित अनुमान उपाध्यक्ष हिमडुङले प्रस्तुत गरिन् ।

गाउँसभामा उपाध्यक्ष हिमडुङको अनुमतिमा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजाले बजेट वक्तव्य पढेर सुनाएका थिए । त्यसअघि गाउँपालिका अध्यक्ष मल्लले गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए । गाउँसभाबाट विनियोजन विधेयक, नीति तथा कार्यक्रम, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आगामी आबको बजेटमाथि गाउँसभामा छलफलको लागि स्वीकृत गरेको छ । आगामी असार १६ गते बस्ने अर्को गाउँसभाको बैठकले आगामी आवको बजेट पारित गर्ने अध्यक्ष मल्लले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here