हेटौंडा–बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ ।

बुधबारको नगरसभामा उपमेयर मीनाकुमारी लामाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गरेकी हुन् । चालु आवको तुलनामा उपमहानगरको बजेट २७ करोड ४८ लाख रुपैयाँ बढी हो । उपमहानगरपालिकाले आगामी वर्ष भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिँदै ९७ करोड ९८ लाख ३९ हजार रुपैया विनियोजन गरेको छ । आगामी वर्ष उपमहानगरले सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २३ करोड १४ लाख ५० हजार रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएको छ ।

उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको छ भने वस्ती तथा वडास्तरीय आयोजनाका लागि ३२ करोड ७० लाख विनियोजन गरिएको उपमेयर लामाले बताइन् । वृहत्तर चक्रपथ निर्माण कार्यका लागि दुईकरोड रुपैयाँ छुट्याइएको छ । कृषि प्रवद्र्धनका लागि २ करोड ९६ लाख, खेलकुद प्रशिक्षण केन्द्र निर्माणका लागि दुईकरोड ५० लाख, कभर्ड हल निर्माण सम्पन्न गर्न एकरोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा उपमहानगरले प्रतिव्यक्ति ३ लाख रुपैयााका दरले राहत रकम उपलब्ध गराउने पनि बजेटमार्फत उल्लेख गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि कोष व्यवस्थापन गर्न दुईकरोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । राजस्व बाँडफाँडबाट ५५ करोड तीनलाख, प्रदेश सरकारबाट विभिन्न अनुदान आठ करोड ३५ लाख ९८ हजार, संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र राजस्व बचतबाट २६ करोड १३ लाख आम्दानी हुने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here