हेटौंडा– वर्षाले दिनहुँ पहिरो जानथालेपछि बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं आवतजावत गर्ने छोटो दुरीको मार्ग बन्द गरिएको छ ।

छोटो मार्गअन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड र कान्तिलोकपथ मार्ग बन्द भएको हो । वर्षासँगै निरन्तर पहिरो र निर्माणको काम भइरहेको कारण दुवै छोटोमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशसिंह राठौरले जानकारी दिए । ‘छोटो मार्ग र कान्तिलोकपथमा दिनहुँजसो पहिरोका कारण जोखिम बढेकोले बर्षात्को समयमा बन्द गरिएको हो ।’, एसपी राठौरले भने ।

भीमफेदी–कुलेखानी सडक खण्डमा २० जेठ यता दर्जन पटकभन्दा बढी पहिरो गइसकेको छ । वर्षा परेसँगै उक्त सडकखण्डमा पहिरो जाने गरेको छ । भीमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा शुक्रबार सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । सडक विस्तारको काम भइरहेको र त्यस मार्गमा वर्षाका कारण बाटो माथिबाट लेदो माटोसहित पहिरो खस्दा जोखिम बढेकोले हाललाई बन्द गरिएको हो ।

‘दिनहुँ पहिलो खसिरहने भएकोले पन्छाउन निकै समस्या परेको छ ।’ एसपी राठौरले भने ‘कतिबेला कहाँ पहिरो खस्ने हो यकिन गर्न सक्ने अवस्था नभएकोले त्यस मार्ग हुँदै काठमाडौं जान रोक लगाइएको छ ।’ पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।

भीमफेदी–कुलेखानी सडक खण्ड स्तरोन्नतरीको काम भइरहेको छ । निर्माण कम्पनीले नियमित कटिङ र वालको काम गरिरहेका छन् । निर्माणको क्रममा कटिङ गर्दा यस क्षेत्रमा बढी पहिरो खसिरहेका कारण जोखिम बढेको हो । बागमती प्रदेशको पूर्वाधार विकास निर्देशनालयले एकवर्षभित्र सकाउने गरी उक्त सडकखण्डको स्तरोन्नती गरिरहेको छ । प्रदेश सरकारले छोटोमार्गलाई दुई लेनको बनाउने आगामी आवको बजेटमा उल्लेख पनि गरेको छ ।

हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्ग र कान्तिलोकपथ मार्ग पूर्ण रुपमा बन्द हुँदा त्रिभुवन राजपथ र नारायणगढ–मुग्लिन सडक खण्डबाट सवारीसाधन आवतजावत गरिरहेका छन् । यसैगरी निर्माणाधिन कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध छ । कान्तिलोकपथ अन्तर्गत बकैया–११ घट्टेपाखा, सिमात, बैकया–१२ छेपारे, भीमफेदी–८ कालोपहिरो, गंगटेमा पहिरो खस्दा सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here