हेटौंडा–हेटौंडा–४ कर्रा सूर्यचोककी सुस्मिता थापाको हत्या भएको १३ दिनपछि प्रहरीले विस्तृत अनुसन्धानबाट ४ जना अभियुक्त सार्वजनिक गरेको छ । हत्या अभियुक्त अरु कोही नभएर सुस्मिताकै सासु, ससुरा र नन्द/आमाजु हुन् । यौनजन्य र आर्थिक कारणले परिवारले नै बुहारी सुस्मिताको हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

घटनामा संलग्न रहेको आरोपमा मृतक थापाकी ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया आमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । २७ वर्षीया दूर्गा घटनामा प्रत्येक्ष सम्लंगन नभए पनि मानसिक यातना दिने तथा हत्याकै योजना बनाउने काममा संलग्न भएकाले उनलाई पनि पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीको अनुसन्धानबाट भने १ गते राती नै सुस्मिताको हत्या भएको देखाएको छ । हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो । परिवारका सबै सदस्य मिली यातना दिई हत्या गरेको हुँदा जिवित रहेसम्म कैद हुने गरी मुद्दा अघि बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।


घटनाबारे प्रहरीले दिएको विवरण जस्ताको तस्तैः

           सुुुुस्मिता क्षेत्रीको हत्या काण्ड

• मिति २०७६।०१।१८ गते स्व. रूपेन्द्र थापा र मृतक सुस्मिता क्षेत्री थापा बीच विवाह सम्पन्न भएको ।

• मिति २०७६।०६।२३ गते कपिलवस्तु स्थित ससुरालीबाट मोटरसाइकलबाट फर्कने क्रममा नवलपरासीको दाउन्नेमा रूपेन्द्र थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको ।

            घटना विवरणः

मिति २०७७।०३।०२ गते विहान अं. ०६:२० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं. ४ कर्रा स्थित सुर्य चोक बस्ने वर्ष २४ की सुस्मिता क्षेत्री थापा आफ्नै घरको भान्सा कोठा भित्र मृत अवस्थामा फेला परेको भनी व.प्र.का. हेटौंडामा खबर प्राप्त भएको । 

• तत्काल व.प्र.का. हेटौडाबाट घटनास्थल सुरक्षार्थ प्रहरी अधिकृत सहितको टोली खटी विहान ०६:३० बजे पुगेको ।

• जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.ना.उ. ईन्द्र बहादुर रानाको कमाण्डको प्रहरी टोली घटनास्थलमा खटी गएको तथा सो घरको भान्छा कोठाभित्र मृतक लाश रही ढोकाको चुकुल भित्रबाट बन्द रहेको भन्ने जानकारी प्राप्त ।

• माईती पक्षलाई खबर ।

• कार्यालय प्रमुख प्र.उ. सुशील सिंह राठौर हेटौंडा अस्पतालको MEDICAL LEGAL तालिम प्राप्त डाक्टरलाई साथमा लिई घटनास्थलमा पुग्नु भएको ।

• दिउँसो अन्दाजी १४:०० बजे माईती पक्ष (मृतकको बुबा समेत) घट्नास्थलमा पुगेको ।

• स्थानीय जनप्रतिनिधी र माईती पक्षको रोहबरमा प्रहरीले ढोका फोरी हेर्दा मृतक सुस्मिता क्षेत्री थापाको शव उत्तानो अवस्थामा टाउकोमा चोट लागी रगत बगेको अवस्थामा फेला परेको ।

• घटनास्थलमा तालिम प्राप्त कुकुरलाई लगी अनुसन्धान गरिएको ।

• घटनास्थल तथा लाशजाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरेको ।

• मृतकको माइती पक्ष अर्थात पीडित पक्ष यस कार्यालयमा उपस्थित भई ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिएको ।

• प्र.ना.उ. ईन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको ।

• पोष्ट मार्टम पश्चात मृतक सुस्मिता क्षेत्री थापाको शव निजको ससुरा प्रकाश थापाले बुझी लिएको ।  

• मिति २०७७।०३।०४ गते हेटौंडा अस्पतालको पत्र साथ पोष्टमार्टम रिपोर्ट प्राप्त भएको ।

• मृतकका ससुरा प्रकाश थापा, नन्द सिता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको ।

घटना हुनुका कारणहरूः

मानसिक यातनाः

• स्व. रूपेन्द्र थापाको ससुरालीबाट घर फर्कने क्रममा मिति २०७६।०६।२३ गते सवारी दुर्घटनामा परी मृत्यु भए पश्चात रूपेन्द्र थापाको श्रीमती मृतक सुस्मिता क्षेत्री थापाको कारणले रूपेन्द्र थापाको मृत्यु भएको भनी परिवारका सदस्यहरूबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको । 

यौन जन्य कारणः

• ससुरा प्रकाश थापाबाट बुहारी मृतक सुस्मिता क्षेत्री थापालाई बाथरूममा जबर्जस्ती करणी उद्योग गरेको । 

आर्थिक कारण:

(क) मृतक सुस्मिता क्षेत्री थापाको श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु पश्चातको क्षतिपूर्ति वापत पाउने रू. ५,००,०००।- (पाँच लाख) हकवाला मृतक सुस्मिता क्षेत्री थापाले प्राप्त गरेको सो सम्बन्धमा घर पक्षले हामीले पाउनुपर्छ भनी विवाद सृजना गरेको ।

(ख) स्व. रूपेन्द्र थापाले काम गर्ने (CSI) क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा.लि. हेटौंडाबाट निजको मृत्यु पश्चात पाउने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत एकमुष्ठ रू. ३८,२८,४७२।- (अठतीस लाख अठ्ठाइस हजार चार सय बहत्तर)  भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापा बीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको । 

(ग) सामाजिक सुरक्षा कोषबाट मिति २०७६ साल कार्तिक महिना देखि मिति २०७७ सालको बैशाख महिना सम्म मासिक रु. १७,१००।– को दरले रु. १,७७,९४८।– रकम मृतक सुस्मिता क्षेत्रीको ग्लोबल आई.एम.ई. बैंक हेटौडाको खाता नं. ४६०७०१०००४४३३ मा अन लाईन पेमेन्ट भएको ।

(घ) नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट स्व. रुपेन्द्र थापाको रु. १०,००,०००।- को बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानी बापतको रू. १०,६३,९१४।- (दश लाख त्रीसठ्ठी हजार नौ सय चौध) ईच्छाईएको व्यक्ति निजको बुबा प्रकाश थापाले लिई सकेको ।

• मृतक सुस्मिता क्षेत्री थापालाई प्राप्त हुने सबै रकमहरू निकालेर घरमा ससुरालाई दिनुपर्छ भनी मृतक सुस्मिता क्षेत्री थापालाई घर परिवारबाट बारम्बार दवाव दिने गरेको ।

हत्या कसरी भयो ?

मिति २०७७।०३।०१ गते अन्दाजी बेलुकी २१:३० बजेको समयमा मृतकको पारिवारका सदस्यहरू ससुरा प्रकाश थापा र सासु तुलसा थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठा तर्फ गएको थिए । खाना खानु भन्दा अगाडि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । तत्पश्चात नन्द सिता थापा र मृतक सुस्मिता क्षेत्री थापा भई भान्छा कोठामा खाना खाइरहेका थिए । सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईंमा बसेर खाना खाँदै थिइन् । सोही समयमा सुसुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरे । र सुस्मिता भुईंमा लडिन् ।

नन्द सीता थापाले समेत भाउजूमाथि प्रहार गरिन् । तत्पश्चात सुस्मिता थापा क्षेत्रीले बचाउ बचाउ भन्ने शब्द निकालेपछि सासु तुलसा थापाले सुनी भान्छा कोठामा आए पश्चात ससुरा र नन्द सीता थापाले सासुलाई भान्छाबाट बाहिर निकाले । त्यसपछि ससुरा र नन्द सीता थापा मिली पटकपटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्मतापूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरे र निजको मृत्यपश्चात सासु तुलसा थापा भित्र आई फुटेको सिसाको कचौराका टुक्राहरु जम्मा गरी प्लाष्टिकको झोलामा हाली बाहिर भान्छा कोठाको अगाडिको बरन्डामा राखेपछि सीता थापाले आफ्नी आमालाई सुत्ने कोठामा लगी हल्ला नगर्न भनिन् ।

बाबुछोरी मिली घटनास्थललाई आत्महत्याजस्तो देखाउनको लागि सल्लाह गरी भान्छाकोठाभित्र बिग्रिएको सबै चिजबस्तु यथास्थानमा मिलाएर राखौं भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरु पुछेपश्चात छोरी सीता थापालाई भान्छाकोठाको ढोकाबाट निकाली ससुरा प्रकाश थापाले भित्रबाट भान्छा कोठाको ढोकाको चुकुल लगाई भान्छाकोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्की बाहिरबाट उक्त झ्याल पूर्ण रुपमा बन्द गरी ढलानको टप हुँदै सुरक्षित रुपमा अगाडिको बरन्डामा आई भान्छा कोठाको अगाडिको बरन्डामा राखेको फुटेको सिसाको टुक्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडिको मकैबारीमा फाले । त्यसपछि बाबु छोरी दुवै जनाले रगत लागेका कपडाहरु धोई पखाली आआफ्नो शरीरमा लागेका रगतसमेत पखाली आआफ्नो कोठामा गए मिति २०७७|०३|०२ गते बिहान अन्दाजी ०५ः०० बजेको समयमा मुल ढोकोका च्यानल गेट खोली छर छिमेकमा गई बुहारीले भान्छाकोठामा आत्महत्या गरेको भनी जानकारी गराए पश्चात छर छिमेकमार्फत प्रहरीलाई खबर भयो ।
कानुनी प्रावधानः
मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१ –क) बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने गरी जन्मकैद हुने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here